कपिलवस्तुमा फुटबलको महाकुम्भ : विजेतालाई ११ लाख धनराशि

कपिलवस्तु । जिल्लामा दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्ड कप २०८१ आयोजना हुने भएको छ। यो गोल्ड कप आगामी फागुन १० गतेदेखि १८ गतेसम्म कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका ४ नम्बर जितपुर स्थित बुद्धरगंशालामा हुने आयोजकले जानकारी दिएका छन्।

गोल्ड कप प्रतियोगितामा सहभागिता जनाउने टोलीलाई आकर्षक पुरस्कारको घोषणा गरिएको छ। पहिलो स्थान हासिल गर्ने समूहलाई ११ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार दिइनेछ भने दोस्रो स्थानमा रहने समूहलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बताइएको छ। यस गोल्ड कपका आयोजक जिल्ला फुटबल सङ्घ कपिलवस्तुका कोषाध्यक्ष गणेश बहादुर सिंह ठकुरी (सुशील)ले यो प्रतियोगिता कपिलवस्तु फुटबलको समृद्धि र प्रोत्साहनको लागि महत्त्वपूर्ण कदम भएको उल्लेख गरे।

गोल्ड कपमा राष्ट्रिय फुटबल खेलाडीहरूको साथमा विदेशी खेलाडीहरूको पनि सहभागिता रहने आयोजकहरूले बताएका छन्। जिल्ला फुटबल सङ्घका अध्यक्ष तिलक थापाले मच्छिन्द्र क्लब काठमाडौँ, नेपाल आर्मी, झापा ११, थ्री स्टार क्लब, चर्च ब्वाइज क्लब जस्ता प्रमुख ए डिभिजनका क्लबहरूको सहभागिता हुने जानकारी दिएका छन्। यस गोल्ड कपले खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ भने दर्शकहरूको मनोरञ्जनको लागि पनि यो एक महत्त्वपूर्ण अवसर हुनेछ।

गोल्ड कपको संरक्षकमा कपिलवस्तु जिल्लाका १० स्थानीय तहहरू रहेका छन्। यस गोल्ड कपको आयोजनाले कपिलवस्तु जिल्लामा फुटबलको स्तरलाई अझ उच्च बनाउने र युवा खेलाडीहरूलाई प्रेरणा दिने उद्देश्य राखेको छ। प्रतियोगिता कपिलवस्तुका फुटबल प्रेमीहरूका लागि निकै उत्साहजनक हुने विश्वास गरिएको छ।

खेलले जिल्लामा खेलकुदको क्षेत्रमा नयाँ आयाम थप्ने र युवा पिढ़ीलाई फुटबलमा थप रुचि बढाउने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ