काठमाडौं । अभिनेता प्रदीप खड्काले आफू सुपर स्टार नभएको बताएका छन् । उनले आफूलाई सुपर स्टारको ट्याग नलगाउन पनि अनुरोध गरेका छन् । यी अभिनेताको नयाँ चलचित्र एक्टर ः टेक वान यही १६ माघबाट नेपालका चलचित्र घरमा रिलिज हुँदै छ । यो चलचित्रको ब्यानरमै उनलाई सुपर स्टार भनेर लेख्ने काम भए पनि प्रदीपले यो ट्यागको विरोध गरेका हुन् ।
ललितपुरको क्युएफएक्स लविममा आयोजित यो चलचित्रको ट्रेलर रिलिज समारोहमा यो चलचित्र निर्देशक राजन भुसालले अभिनेता प्रदीपलाई सुपर स्टारको रूपमा सम्बोधन गरेका थिए । राजनले आफ्नो सामाजिक सञ्जालमा पनि प्रदीपलाई सुपर स्टारको रूपमा सम्बोधन गरेका छन् । उनले अभिनेता प्रदीप खड्का सुपर स्टार भएको दाबी पनि गर्दै आएका छन् ।
यसरी निर्देशकले आफूलाई सुपर स्टारको ट्याग दिएपछि अभिनेता प्रदीप खड्काले सुपर स्टारको ट्यागको विरोध जनाएका हुन् । यो विषयमा अभिनेता प्रदीपले पत्रकार सम्मेलनमै सो ट्यागको विरोध समेत गरे । यो विषयमा उनले यसो भने, ‘ चलचित्रमा निर्देशकले मलाई सुपर स्टार भनेर लेख्नु भयो । मैले नलेख्नै सुझाव दिएको थिएँ । तर, उहाँले मान्नु भएको छैन’, यसरी आफूलाई कनै ट्याग भन्दा पनि कलाकारकै रूपमा सम्बोधन गर्न र चिन्न पनि प्रदीपको आग्रह छ ।
यस अघि राजेश हमाललाई महानायक र अनमोल केसीलाई मेघा स्टार भनेर केहीले सम्बोधन गरेका छन् । अभिनेता प्रदीपलाई यस्तो ट्याग पटक्कै मन परेका छैन । उनले आफूलाई कलाकारको रूपमा नै सम्बोधन गरिदिन अनुरोध गरेका छन् । आफूलाई सुपर स्टार भन्ने ट्यागको चाहना नभएको र निर्देशकलाई यस्तो ट्याग राख्न आफूले दबाब दिएको भन्ने कुरा गलत भएको पनि उनले प्रस्ट्याएका छन् ।
चलचित्र एक्टर ः टेक वानमा आफूले शिर्ष भूमिका निर्वाह गरेकाले बरु एक्टर प्रदीप भन्दा आफूलाई खुसी लाग्ने गरेको पनि प्रदीपले बताएका छन् । यो चलचित्रमा प्रदीप खड्कासँगै राज बल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझीलगायतको मुख्य भूमिका रहेको छ ।