खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दिक्तेल ईङ्ग्लिस बोर्डिङ स्कूलले उपाधि जितेको छ ।
नगरपालिकाका कर्मचारी सुवासचन्द्र राईका अनुसार नगरपालिकाभित्रका २४ माध्यमिक विद्यालय सहभागी प्रतियोगितामा विजेता विद्यालयले १८ स्वर्ण, १८ रजत र १९ कास्य पदक हात पार्न सफल भएको हो ।
दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा सञ्चालित प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय दिक्तेल दश स्वर्ण, दश रजत र ११ कास्य पदकसहित दोस्रो स्थानमा रह्यो । जनजागृति आवासीय विद्यालय सोल्मा नौँ स्वर्ण, छ रजत र पाँच कास्य पदकसहित तेस्रो तथा श्री माध्यमिक विद्यालय बाँसबोटे लफ्याङ पाँच स्वर्ण, चार रजत र दुई कास्य पदकसहित चौथो स्थानमा रहे ।
सहआयोजक जनजागृति आवासीय माध्यमिक विद्यालय सोल्माका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सूर्यबहादुर राईका अनुसार भलिबल, एथलेटिक्स, कबड्डी, सितोरियो कराँते र तेक्वान्दो गरी पाँच विधाका ४९ इभेन्टमा ६३२ विद्यार्थीले सहभागिता जनाएका थिए । विजेता विद्यालयलाई नगद रु २१ हजार १११ सहित रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए । नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार नगरपालिकाले प्रतियोगिता सञ्चालनका लागि रु दश लाख उपलब्ध गराएको छ ।
साथै सहभागी सबै विद्यालयलाई खेल सामग्री र यातायात भाडा बापतको रकम पनि उपलब्ध गराइएको छ । यस प्रतियोगितामा विजयी विद्यार्थीहरूले नवौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने छन् । जिल्लास्तरमा विजयी हुने विद्यार्थीहरूले प्रदेश तथा राष्ट्रियस्तरको १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।
हाल जिल्लाका दशवटै स्थानीय तहले जिल्लास्तरीय प्रतियोगिताका लागि पालिकास्तरीय प्रतियोगिता सञ्चालन गरिरहेका छन्, तर दिक्तेल बजारमा हुने जिल्लास्तरीय प्रतियोगिताको मिति भने अहिलेसम्म टुङ्गो लागेको छैन ।






