काठमाडौं । राष्ट्रिय योजना आयोगअन्तर्गतको केन्द्रीय तथ्यांक विभागले चालू वर्ष आधारभूत मूल्यमा आर्थिक वृद्धि २.२७ प्रतिशत हुने नयाँ संशोधन सार्वजनिक गरेको छ ।
चालू वर्ष साढे ८ प्रतिशत हुने लक्ष्य राखिएकामा विभागले कोभिड–१९ को प्रकोपका कारण यति मात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो ।
विभागले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को राष्ट्रिय लेखा तथ्यांकमा कोभिड–१९ को असर कति अवधिसम्म रहने भन्ने अनुमान गर्न नसकिएको अवस्थामा होटल तथा रेस्टुरेन्ट र अन्तर्राष्ट्रिय यातायात क्षेत्र अत्यधिक प्रभावित रहने तथा अन्य क्षेत्र जेठबाट क्रमशः नियमित हुने विश्वास गरी अनुमान तयार गरिएको उल्लेख छ ।
विभागको प्रतिवेदनमा गत आर्थिक वर्षमा देशको अर्थतन्त्र ६.७५ प्रतिशतमा वृद्धि भएको उल्लेख छ । आर्थिक वर्ष २०७४/७५ मा आर्थिक वृद्धि ६.३५ प्रतिशत रहेको थियो । त्यसअघि २०७३/७४ मा ७ दशमलव ७४ प्रतिशत वृद्धिदर कायम गरेको थियो ।
विभागका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनको आकार ३७ खर्ब ६७ अर्बको हुनेछ । यसअघि नेपालको अर्थतन्त्रको आकार ३४ खर्ब ५८ करोड थियो ।
चालू आर्थिक वर्ष २०७६/७७ को ७ देखि ९ महिनाको आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकडा तथा सूचनाका आधारमा तयार गरिएको तथ्यांकअनुसार कृषि तथा वन, मत्स्य र खानी तथा उत्खनन क्षेत्र रहेको प्राथमिक क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा २८.२० प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान रहेको छ ।
अघिल्लो वर्ष यो क्षेत्रमा २८.१२ प्रतिशत थियो । धानको उत्पादनमा कमी तथा कोभिड–१९ को महामारीको असरलाई न्यून गर्न अवलम्बन गरिएको प्रयासबाट आपूर्ति प्रणालीमा आएको रोकावटले यस क्षेत्रको उत्पादनमा गत वर्षभन्दा न्यून वृद्धि हुने देखिएको हो ।
निर्माण, उद्योग, विद्युत्, ग्यास र पानी क्षेत्र रहेको द्वितीय क्षेत्रले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा १३.७२ प्रतिशत योगदान रहने अपेक्षा गरिएको छ । गत वर्ष यो क्षेत्रको वृद्धि १४.४ प्रतिशत रहेकोे विभागको अनुमान छ ।
हवाई यातायात, होटल तथा रेस्टुरेन्टमा कोभिडले परेको प्रभावका कारण सेवा क्षेत्र सबैभन्दा नराम्ररी प्रभावित भएको विभागको बुझाइ छ । यो क्षेत्रभित्र थोक तथा खुद्रा व्यापार, होटल तथा रेस्टुरेन्ट, यातायात सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियलस्टेट, व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा पर्छ । चालू वर्ष कुल गार्हस्थ्य उत्पादनमा यो क्षेत्रको योगदान ५८.०८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यो क्षेत्रमा ५७.४१ मात्र थियो ।
चालू वर्ष कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको २७.६५ तथा गैर कृषि क्षेत्रको ७२.३५ प्रतिशत योगदान रहेको छ । चालू वर्ष जीडीपीमा उद्योग क्षेत्रको योगदान ५.०९ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ । अघिल्लो वर्षको तुलनामा यो २.२७ प्रतिशतले कम हो । निर्माण क्षेत्रको योगदाना ७.२३ प्रतिशत हुने अनुमान ।
विद्युत, ग्याँस र पानी क्षेत्रबाट १.४१ प्रतिशत जीडीपीमा योगदान दिने प्रक्षेपण केन्द्रीय तथ्यांक विभागको छ । थोक तथा खुद्रा व्यापार क्षेत्रले १३.८९ प्रतिशत जीडीपीमा योगदान पुग्नेछ ।
होटल तथा रेस्टुरेन्टको योगदान १.४१ प्रतिशत छ । यातायात तथा सञ्चार पनि ६.४२ प्रतिशत योगदान हुनेछ ।
वित्तीय क्षेत्रबाट भने ६.६२ प्रतिशत जीडीपीमा योगदान रहेको प्रक्षेपण रहेको छ ।
रियल स्टेट रेन्टिङ तथा व्यावसायिक सेवाबाट चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा ११.८५ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान विभागले गरेको छ ।
शिक्षा क्षेत्रले ७.६७ र स्वास्थ्य तथा सामाजिक कार्यले १.८६ प्रतिशत जीडीपीमा योगदान रहेको छ ।
विभागका अनुसार चालू आर्थिक वर्षमा कृषिको योगदान २६.९८ प्रतिशतबाट २७.०८ प्रतिशतमा पुगेको छ । यो भनेको अन्य वास्तविक क्षेत्रको योगदान कमजोर रहनु हो । अर्थतन्त्रमा कृषिको योगदान बढ्दै गई औद्योगिक क्षेत्रमा घट्दै जानुलाई नराम्रो मानिन्छ ।
स्थिर मूल्यअनुसार कुल गार्हस्थ्य उत्पादन वृद्धि दर आधारभूत मूल्यमा २.२७ प्रतिशत रहेको छ ।
चालू मूल्यअनुसार कुल उत्पादन आधारभूत मूल्यमा ५० खर्ब ९२ अर्ब रहेको छ । चालू मूल्यअनुसार कुल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्य १७ खर्ब ४३ अर्ब रहेको छ । चालू मूल्यअनुसार कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ३७ खर्ब ६७ अर्ब र आधारभूत मूल्यमा ३२ खर्ब ९ अर्ब रुपैयाँ हुनेछ ।
चालू मूल्यमा कुल स्थिर पुँजी निर्माण १० खर्ब ६० अर्ब रहेको छ । चालू मूल्यमा अन्तिम उपभोग खर्च ३० खर्च ८५ अर्ब रहेको छ । यो कुल गार्हस्थ्य उत्पादनको ८१.९० प्रतिशत हो ।
चालू आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानी १ हजार ८५ अमेरिकी डलर पुगेको छ । गत वर्ष प्रतिव्यक्ति आय १ हजार ३४ डलर मात्र थियो ।






