बाँके । बाँकेमा विवाहको कार्यक्रममा विवादपछि कुटपिट हुँदा १ जनाको मृत्यु भएको छ, भने ५ जना घाइते भएका छन् । बैजनाथ गाउँपालिका– ८ का २५ वर्षीय दिनेश रोकायको कुटपिटबाट मृत्यु भएको हो । दिनेशमाथि कुटपिट गरी हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही गाउँपालिका–२ का ३५ वर्षीय रामबहादुर राना र सोही गाउँपालिका–६ का १७ वर्षीय एक किशोर रहेका छन् । ती किशोरको नाम प्रहरीले सार्वजनिक गरेको छैन् । बिचलाईनस्थित एक विवाह कार्यक्रममा शुक्रबार विवादपछि कुटपिट भएको थियो । कुटपिटको क्रममा दिनेश गम्भीर घाइते भएका थिए । दिनेशलाई तत्काल उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो ।
पछि भारतको लखनउमा उपचारका लागि पठाइएको थियो । उपचारका क्रममा आइतबार बिहान उनको मृत्यु भएको हो । कुटपिटबाट घाइते भएका अन्य ५ जनाको मेडिकल कलेज कोहलपुरमै उपचार भइरहेको छ ।






