जुम्लाको दुर्गम बस्तिमा गनिने भेरिखोलाको थलाले गाउँ सडक सञ्जालमा जोडिएको छ । तातोपानी गाउँपालिका वडा नम्वर ८ मा रहेको थलाले औपचारिक रुपमा सडक सञ्जालमा जोडिएको हो । तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौंलागाई, प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही लगाएतको सरकारी टोलि थलाले पुगेर (माघ २९ मा) सडकको उद्घाटन गरिएको छ । तातोपानी ७ को पातरसाँघु हुँदै सडक थलाले गाउँ सम्म जोडिएको छ ।
सडक सञ्जालमा जोडियो गाउँ
तातोपानी गाउँपालिकामा सडक पुग्न बाँकि एक मात्र बस्ती थलाले रहेको थियो । सडक सञ्जालमा जोडिएपछि थलालेबासीलाई यातायात र ढुवानीका दृष्टिले सहजता हुने छ । तातोपानी ७ र ८ नम्बरलाई गाउँपालिकाले विशेष क्षेत्र घोषणा गरेर हरेक विषयलाई प्राथमिकता दिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौंलागाईले बताए ।

विगतमा पनि टोप्ला हुँदै थलाले जोड्ने सडक निर्माण पूरा नहुँदा करोडौं बजेट खेर गएको थियो । यस पटक अथक प्रयासपछि सडक पुगेकोले यसलाई थप दिगो बनाउनुपर्ने तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थ कठायतले बताए । कठोर चट्टान छिचोल्दै थलाले सम्म गाडि पुगेपछि अब थलालेको दुखान्त युग सकिएको तातोपानी ८ का वडा अध्यक्ष नर बहादुर रावतले बताए ।
पातरसाँघु बाट थलाले सम्मको ४ दशमलव १७ किलोमिटर दुरिमा विभिन्न चरणमा गरि १ करोड २० लाख लागतमा थलाले सम्म सडक पुगेको जोखे आटी देखि थलाले सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष खेम बहादुर शाहीले बताए । यो आर्थिक वर्षमा ५० लाख लागतमा १ दशमलव ८ किलोमिटर सडक खनेर गाउँ पुर्याइएको उनले बताए ।
पहिले टोपि खस्ने उकालोमा निर्माण सामाग्री र खाद्यान्न बोक्नुपर्न बाध्यता थियो, अब भने थलाले बासिको दुखान्त युग सकिएको पूर्णबहादुर शाहीले बताए ।
