गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले गरेको परीक्षा केन्द्र सार्ने निर्णयको स्थानीयले विरोध गरेका छन् । छत्रकोटले एसइई केन्द्रको लागि लागि वडा नम्बर ४ मा रहेको श्रृङ्गा जनता माविलाई हटाएकोमा स्थानीयले विरोध गरेका हुन् ।
स्थानीयको भावनाविपरित केन्द्र हटाएकोमा स्थानीयले भेषराज कडेंलको संयोजकत्वमा सङ्घर्ष समिति नै गठन गरेका छन् । सङ्घर्ष समितिले स्थानीयको हस्ताक्षरसहित गाउँपालिका, जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाईमा ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।
२०४५ सालदेखि एसईईको केन्द्र रहेको श्रृङ्गा जनता माविलाई गत माघ १८ गते बसेको गाउँ शिक्षा समितिको बैठकले अब केन्द्र नरहने गरी हटाएको थियो । श्रृङ्गा जनता मावि जनबोध मावि, जनजागृती मावि, मैनडाँडा मावि, सरस्वती मावि, आदर्श मावि र एभरग्रिन बोर्डिङको केन्द्र थियो । पालिकाको निर्णयअनुसार अब वडा नम्बर ३ हर्दिनेटामा मैनडाँडा मावि र सरस्वती मावि गरी दुईवटा केन्द्र रहनेछन् । ‘राजनीतिक प्रतिशोधको आधारमा केन्द्र हटाइएकोमा आपत्ती हो ।’ व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र कडेँलले भने, ‘पालिकाले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको छ ।’
श्रृङ्गामा केन्द्र हुँदा त्यहाँका विद्यार्थीहरु एसईई दिनको लागि पहिले जनबोध माविमा जाने गरेकोमा अब भने सरस्वती माविमा जानुपर्ने कडेंलले बताए । यसो हुँदा विद्यार्थीहरुलाई असर पर्ने र राम्रो नजिता राम्रो नआउनेमा आफुहरु चिन्तित रहेको उनको भनाई छ । पालिकाले आफुले गरेको निर्णय पुर्नविचार गरी श्रृङ्गा जनता माविलाई नै एसईईको केन्द्र कायम गरिनुपर्ने रामचन्द्रले बताए ।
उक्त विद्यालयमा केही महिना अगाडी व्यवस्थापन समतिमा पनि निर्वाचन भएको थियो । व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित रामचन्द्र माओवादी निकट छन् भने पालिका अध्यक्ष रामप्रसाद पाण्डे एमालेका हुन् । जसका कारण पनि विद्यालय ठुला दलको चपेटामा परेको छ ।
गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले विद्यार्थी संख्या कम हुदैँ गएपछि केन्द्र सार्ने निर्णय गरिएको बताए । ‘जिल्लाले निरन्तर केन्द्रको बिषयमा दबाव दिन थाल्यो, विद्यार्थी संख्या पनि निकै कम छ ।’ अध्यक्ष पाण्डेले भने, ‘केही व्यक्तिले अनावश्यक रुपमा स्थानीयलाई भड्काएका छन् ।’ अध्यक्ष पाण्डेले अहिलेको सङ्घर्ष समितिको कुनै औचित्य नरहेको दाबी गरे । जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्रीले छलफलको माध्यमबाट समस्याको समाधान हुनुपर्ने बताए । केन्द्र जहाँ रहेपनि विद्यार्थीहरुलाई अब आउन थालेको परीक्षा’bout भ्रमित पार्न नहुने अध्यक्ष खत्रीको भनाई छ ।






