कार्यसम्पादन मूल्याकंनमा धुर्कोट प्रदेशकै पहिलो

गुल्मी । कार्यसम्पादन मूल्याकंनमा लुम्बिनी प्रदशेमा धुर्कोट गाउँपालिका पहिलो भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०–८१ को तथ्याकंअनुसार लुम्बिनी प्रदेशका गाउँपालिकामध्येमा धुर्कोट गाउँपालिका प्रथम भएको हो ।

आयोगका अनुसार धुर्कोटले ७६.७ अकं प्राप्त गरेको छ । प्रदेशमै गाउँपालिकातर्फ गुल्मीकै रुरुक्षेत्र गाउँपालिका दोस्रो र छत्रकोट गाउँपालिका तेस्रो भएका छन् । रुरुक्षेत्रले ७६.२ र छत्रकोटले ७४.८ अकं प्राप्त गरेका छन् । देशभरका ७५३ पालिकामध्ये धुर्कोट १० औँ स्थानमा रहेको छ भने लुम्बिनी प्रदेशका १०९ पालिकामध्ये तेस्रो स्थानमा छ ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा पालिकाको कार्यसम्पादन मूल्याकंन कार्यविधि –२०७८ अनुसार अकं प्रदान गर्दछ । असार १० भित्र बजेट पेश गरे–नगरेको, असार मसान्तभित्र बजेट पास गरे–नगरेको, बार्षिक बजेट समिक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे–नगरेको, बिनियोजित रकम अनुसार खर्चको अवस्था, बेरुजु, आवधिक योजनाको तर्जुमा, कक्षा १ देखि ८ सम्म विद्यार्थी भर्ना दरलाई वित्त आयोगले सूचकको रुपमा मापन गरेको छ ।

त्यसैगरी कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ वा सोभन्दा बढी जिपिए प्राप्त गरेका विद्यार्थी प्रतिशत, चार पटक गर्भजाँच गरेको महिलाको अनुपात लगायतका १७ सूचकको आधारमा वित्त आयोगले अंक प्रदान गर्ने गर्दछ । आयोगको तथ्याकंअनुसार गुल्मीको रेसुङ्गा नगरपालिका ७४.४, गुल्मीदरबार गाउँपालिकाले ६४.२, मदाने गाउँपालिकाले ६८.९ अंक प्राप्त गरेका छन् । त्यसैगरी मालिकाले ७३.६, इस्माले ५६.६, मुसिकोटले ६१.४, चन्द्रकोटले ६२.२, सत्यवतीले ६३.६ तथा कालिगण्डकीले ६०.२ अकं प्राप्त गरेका छन् ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले कर्मचारी, जनप्रतिनिधि र सिङ्गो समुदायको सहयोगको कारण यो सफलता हाँसिल गरेको बताए । यसभन्दा अगाडी पनि धुर्कोट गाउँपालिका उत्कृष्ट भएको भन्दै अध्यक्ष पोखरेलले अहिलेको सफलता जोगाइराख्नु चुनौती भएको बताए । स्थानीय तहमा हुने सिमित स्रोत र साधनका बाबजुत पनि राम्रो काम गर्न सकेकोमा उनले खुशी व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ