काठमाडौं । मिस नेवाः ११४५ को उपाधि ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले हासिल गरेकी छिन् । नेप्लीज फेसन होमले नै १२ वर्ष अघि आयोजना गरेको मिस लिटिल नेवाः ११३३ को उपाधि जितेकी पलिशाले यति बेला मिस नेवाःकै उपाधि हासिल गरेकी हुन् ।
नेप्लीज फेसन होमले कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरेको यो प्रतियोगितामा अन्तिम प्रतिस्पर्धामा १९ जना प्रतिस्पर्धिहरुलाई पछि पार्दै प्रलिशाले शिर्ष उपाधि हासिल गरेकी हुन् । उनले उपाधिसहित नगद एक लाख रुपैयाँ र विभिन्न उपहारहरू प्राप्त गरिन् । प्रलिशाले उत्कृष्ट नेपाल भाषाको अवार्डसमेत सो समारोहमा प्राप्त गरिन् ।
प्रतियोगितामा नैकापकी लूनिभा मानन्धरले फस्ट रनर अप, चमती, काठमाडौँकी लुमना महर्जनले सेकेन्ड रनर अपको उपाधि प्राप्त गरे । यी दुईले उपाधिसँगै क्रमशः २५ हजार रुपैयाँ तथा १५ हजार रुपैयाँसहित विभिन्न उपहारहरू पाए ।
प्रतियोगितामा अन्य उपाधि तर्फ श्रद्धा महर्जनले मिस ट्यालेन्ट, रोनिशा महर्जनले सोसल वेलफेयर एम्बेस्डर चिफ, प्रसिद्धि शाक्यले मिस डिसिप्लेन, अल्पा महर्जनले मिस पब्लिक च्वाइस, प्राश्ना श्रेष्ठले वेस्ट ड्रेस, रितिशा बज्राचार्यले मिस कल्चर, संस्कृति श्रेष्ठले मिस कन्फिडेन्स, सुभेक्षा श्रेष्ठले मिस पर्सनालिटी, रिम्षा श्रेष्ठले वेस्ट हेयर, रमुना बज्राचार्यले वेस्ट स्किन, कुन्ता श्रेष्ठले मिस फोटोजेनिक, अनुषा बज्राचार्यले वेस्ट स्माइल, शुवास्ना श्रेष्ठले मिस चार्मिङ र रुजी शाक्यले मिस फ्रेण्डशीपको उपाधि हासिल गरे ।
प्रतियोगितामा शिक्षा व्यवसायी दिव्या लक्ष्मी बज्राचार्य, अधिवक्ता लक्ष्मण महर्जन, लायन्स इन्टरनेशनल, क्लब ३२५ एलका पूर्व डिस्ट्रिक्ट गभर्नर मणिश्री रत्न बज्राचार्य, एलसीसीएल, ललितपुरका पूर्व अध्यक्ष अजर मान जोशी, नमुना कलेजका प्राध्यापक जीवेश्वर लाल श्रेष्ठ, नेपाल लिपी गुठीका अध्यक्ष अनिल स्थापित, एसओ नेपालका अध्यक्ष डा. शिक्षिता श्रेष्ठ र मिस नेवाः नेपा ११३४ की विजेता एलिशा बज्राचार्य निर्णायक थिए ।
आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले मिस नेवाः ब्युटी कन्टेस्ट मात्र नभएर नेवारी समुदायको कला र संस्कृति जोगाउने अभियानसमेत रहेको बताइन् । यसलाई रोजिन शाक्यले कोरियोग्राफी गरेका थिए । समारोहमा अग्रज कलाकार मदनदास श्रेष्ठलाई ५० हजार रुपैयाँसहित लाइफ टाइम एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित गरियो ।






