इटहरी । इटहरीमा सट्टेबाजी ‘वान–एक्स बेट’ खेल खेलाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी २० का ३० वषीैय रञ्जित भनिने राजेन्द्र थापा मगर, इटहरी ४ का ३२ वर्षीय सरोज कार्की र इटहरी ९ का ४१ वर्षीय अमित भनिने किरण श्रेष्ठ रहेका छन् ।
इटहरी ६ सङ्गीत चौकमा रहेको इडिङ्गो होटलमा बसेर विद्युतीय सट्टेबाजी खेलाउने तीन जनालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो । यद्यपि, उनीहरूलाई बुधबार मात्रै सार्वजनिक गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक महेन्द्र पराजुलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई सट्टाबाजी खेलाइरहेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उपकरणहरुसमेत चेकजाँच गर्दा सट्टेबाजी खेल खेल्न र खेलाउन रकम जम्मा गर्न र झिक्न प्रयोग हुने एप रहेको उक्त एपमार्फत ‘वान–एक्स बेट’ सट्टेबाजी खेल खेल्न र खेलाउन रकम जम्मा गर्न र झिक्न प्रयोग हुने उपकरण बरामद गरिएको छ ।
पक्राउ परेका तीनैजनामाथि सुनसरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको इटहरी प्रहरीले जनाएको छ ।
लागूऔषधसहित नौ जना पक्राउ
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार, सुनसरी, मोरङ, झापा र उदयपुरको विभिन्न स्थानहरूबाट प्रतिबन्धित लागूऔषधसहित प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा विराटनगर महानगरपालिका–१५ स्थितबाट भारतबाट नेपालतर्फ आउँदै गरेका मोरङ उर्लाबारी नगरपालिका–६ का ३२ बर्षीय सन्नी लामाको साथबाट ८ ग्राम ४१० मिलिग्राम ब्राउनसुगरसहित फक्राउ गरेको छ । यसैगरी मोरङ सनवर्षी नगरपालिका–१ का २२ वर्षीय सनम तामाङको साथबाट १ ग्राम ४४० मिलिग्राम र पथरीशनिश्चरे नगरपालिका–६ का २२ बर्षीय अनिल राईको साथबाट २ ग्राम १४० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
उता, झापाको दमक नगरपालिका ६ स्थितबाट इलाका प्रहरी कार्यालय दमकबाट खटीएको प्रहरी टोलीले पाचँथर मिक्लाजुङ गाँउपालिका–५ का २६ वर्षीय विशाल भुजेललाई ट्रमाडोल–१४० क्याप्सुल, स्पासेन–१४० चक्कीसहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
यस्तै, झापाकै मेचीनगर नगरपालिका–५ स्थितबाट इलाका प्रहरी कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय नकलबन्दा झापाबाट खटिएको प्रहरी टोलीले स्थानिय ५२ वर्षीय देवीप्रसाद बुढाथोकीलाई ५६० ग्राम गाजाँसहित पक्राउ गरेको छ ।
यता, सुनसरीको धरान उपमहानगरपालिका २ स्थितबाट वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उप–महानगरपालिका–१५ का २६ वर्षीय गणेश राई, २५ वर्षीया भीमकुमारी विश्वकर्मा र ३० वर्षीय आशिष खातीलाई ट्रमानिल–११ सय ९४ क्याप्सुल, स्पासपेन–१४ सय ९० ट्याब्लेट, स्पासरेष्ट–७, डेकोलिक –११ सय ७५ र मेडोमोल–८ चक्की प्रतिबन्धित औषधीसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका १० स्थितबाट उदयपुर नगरपालिका १२ का १९ जर्षीय दिलीप घिमिरेको साथबाट डाईजेपाम– ६, फेनार्गन –६, आईपिपिएल–६ गरी १८ एम्पुलसहित पक्राउ गरिएको छ । पछिल्लो समय लागूऔषध कारोबारीको संख्या बढ्दै गएकाले कोशी प्रदेश प्रहरी कार्यालयले सीमा नाकाहरूमा चेकजाँच कडा पारेको जनाएको छ ।
खासगरी औषधी पसलमासमेत लागूऔषध कारोबार हुने भएको पाइएसँगै त्यसतर्फ पनि प्रहरी चनाखो बनेको जनाइएको छ । हरेक दिनजसो लागूऔषध कारोबारी पक्राउ पर्न थालेपछि प्रहरीलाई पछिल्लो चुनौती नै लागूऔषध बन्ने गरेको छ ।






