सिड्नी । अस्ट्रेलियाको सिड्नीमा ३० वर्षयताकै भीषण वर्षा भएको छ । वर्षापछि आएको बाढीका कारण सिड्नीमा यातायात सेवा अस्तव्यस्त बनेको छ भने जनजीवन नराम्ररी प्रभावित भएको छ । वर्षाका कारण हजारौँ मानिस आफ्ना घर छाड्न बाध्य भएका छन् ।
सिड्नीको मौसमसम्बन्धी जानकारी दिने निकायका अनुसार पछिल्ला चार दिनमा झन्डै ४ सय मिलिमिटर वर्षा भएको छ । सो निकायले अचानक बाढी आउन सक्ने र त्यसले ज्यान जोखिममा पार्न सक्ने चेतावनी दिएको छ । वर्षापछि अस्ट्रेलियामा करिब एक लाख घरमा विद्युत सेवा अवरुद्ध बनेको छ ।
वर्षाका कारण केही महिनायता न्यू साउथ वेल्स राज्यका विभिन्न स्थानमा फैलिएको भीषण डढेलो समेत निभेको छ । पछिल्लो विगत ७४ दिनदेखि स्वालहेवन नगरनजिकै फैलिरहेको करोवान नामक डढेलो पनि वर्षापछि निभेको छ । सो डढेलोका कारण ५ सय हेक्टर क्षेत्रफल प्रभावित भएको छ भने ३ सय १२ वटा घर नष्ट गरिदिएको थियो ।
मौसम विभागले डढेलो प्रभावित क्षेत्रहरू नै बाढीको बढी खतरामा रहेका र तीव्र गतिमा बग्ने भेलले ठूलो परिमाणमा फोहोर बगाएर ल्याउने चेतावनी दिएको छ । हाल न्यू साउथ वेल्समा ३१ वटा छुट्टाछुट्टै डढेलो लागिरहेको थियो । भीषण वर्षाका कारण वर्षाैंदेखि सुक्खा बेहोरिरहेको सो क्षेत्रमा पानीको आपूर्ति प्रणालीमा भरथेग भएको छ ।
सिड्नीको अधिकांश पानीको माग पूर्ति गर्ने वारागाम्बा बाँध ७० प्रतिशत भरिन लागेको बताइएको छ । गत सातामात्र त्यहाँ जम्मा भएका ४२ प्रतिशत पानी भरिएको थियो । अस्ट्रेलियाको सबैभन्दा धेरै जनसंख्या भएको न्यू साउथ वेल्स राज्यको सम्पूर्ण तटीय क्षेत्रमा हाल मौसमसम्बन्धी कडा चेतावनी जारी गरिएको छ ।
सिड्नीमा मात्र कम्तीमा २ सय जना मानिसलाई आपतकालीन सेवाका कर्मचारीहरूले उद्दार गरेका छन् । सोमवार बिहान सिड्नीको रेल तथा डुंगा सेवा अवरुद्ध भएको थियो । सिड्नीको एउटा मुख्य स्टेशन सेन्ट्रलका कैयौं प्ल्याटफर्म पानीमा डुबेका छन् । दर्जनौं स्कूल बन्द रहेका छन् । सिड्नीमा बसोबास गर्ने मानिसहरूलाई सकेसम्म घरमै बस्न भनिएको छ ।
सहरका तल्ला भूभागमा बसिरहेकाहरूलाई त्यहाँबाट अन्यत्र जान वा जानको निम्ति तम्तयार रहन भनिएको छ । सेन्ट्रल सिड्नीमा सोमवार पानी रोकिएको छ । तर यो साताभरी थप वर्षा हुने त्यहाँको मौसम पूर्वानुमान गर्ने निकायले जनाएको छ ।