डिफेन्डिङ च्याम्पियन आर्मीसँग स्तब्ध

इलाम । डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ दोस्रो महिला गोल्डकपको क्वार्टरफाइनलबाटै घर फर्किएको छ ।

इलामको ठूलो टुँडिखेलमा जारी दोस्रो महिला गोल्डकपमा विभागीय टिम नेपाल आर्मीसँग चार शून्य गोलअन्तरले स्तब्ध बन्दै डिफेन्डिङ च्याम्पियन घर फर्किएको हो ।

मध्यान्तरअघिको अतिरिक्त समयमा आर्मीकी चन्द्रा भण्डारीको क्रसपासलाई सदुपयोग गर्दै विमला चौधरीले टिमलाई अग्रता दिलाएकी थिइन् । मध्यान्तरअघि १–० गोलअन्तरले पछि परेको डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङले मध्यान्तरपछि खेल सुधार्न नसक्दा ४ गोलअन्तरले पराजित बन्दै पहिलो खेलबाटै बाहिरिएको छ ।

६६औं मिनेटमा चन्द्रा भण्डारीले थप गोल गर्दै टिमको अग्रतालाई दोब्बर बनाएकी थिइन् । त्यसको २ मिनेटभित्रै ६८औं मिनेटमा थप गोल गर्दै सुमित्रा योन्जनले गोलअन्तर फराकिलो बनाइन् । खेलको ७६औं मिनेटमा चन्द्रा भण्डारीले पुनः गोल गर्दै ४–० को फराकिलो गोलअन्तर बनाउन सफल भइन् ।

धेरैजसो समय दबाबमै राखेको आर्मीले खेलको पाँचौं मिनेटमा वान भर्सेस वानको अवस्थामा विमला चौधरीको प्रहार फितलो बन्न पुग्यो । १४औं मिनेटमा चन्द्रा भण्डारीको प्रहार गोलपोस्टमा नपर्दा २०औं मिनेटमा चन्द्रा भण्डारीको प्रहारले नतिजा लिन सकेन । ३२औं मिनेटमा चन्द्राको क्रसपासमा हेमा चौधरीको प्रहार फितलो बन्यो भने ३५औं मिनेटमा चन्द्रा भण्डारीले किपर विट गरेपछिको प्रहार गोलपोस्ट दायाँ भागबाट बाहिरिएपछि अग्रता बनाउने सुनौलो अवसर आर्मीले गुमायो ।

४४औं मिनेटमा किपर अगाडि भएको मौकामा चन्द्राले गरेको प्रहार पोस्ट माथिबाट बाहिरिन पुग्यो । ४९औं मिनेटमा विमला चौधरीले डीबक्स नजिकैबाट गरेको प्रहार अकासिन पुग्दा टिमलाई दोब्बर गर्ने अवसर गुमेको थियो । त्यसपछि लगातार ३ गोल गर्दै आर्मीले सेमिफाइनलमा आयोजकसँग भेट पक्का गरेको छ ।

यता, डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङले पनि खेलको सुरुवाती समयमा आर्मीलाई दबाबमा राखे पनि गोल गर्न भने सकेन । खेलको पहिलो मिनेटमै सोनी मरकको प्रहार अञ्जना रानाको हातमा प¥यो । नवौं मिनेटमा सिमरनको प्रहार सशक्त बन्न सकेन । १३औं मिनेटमा डीबक्सबाट सोनियाको प्रहार फितलो बन्दा १९औं मिनेटमा पनि सोनियाकै अवसर गोलपोस्टमा परेन । मध्यान्तरअघि १ गोलले पछि परेको डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङले ५८औं मिनेटमा सिम्रनको क्रसपास सदुपयोग गर्न मार्वा चुकिन् । ६४औं मिनेटमा मार्वाको कर्नर प्रहारमा बारी शाह चुक्न पुगिन् । खेलको ६९औं मिनेटमा सोनिया मरकले किपर विटको अवस्थामा पनि गोल नगरेपछि ४–० गोलमै चित्त बुझाउनुप¥यो । प्लेयर अफ द म्याच आर्मीकी चन्द्रा भण्डारी घोषित भइन् । आज (मंगलबार) एपीएफ काठमाडौं र मदर टरेसा भारतबीच खेल हुने आयोजकले जनाएको छ ।

ओएसिस क्लब इलामको आयोजनामा सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोडकप २४ फागुनमा सम्पन्न हुनेछ । फाइनल जित्ने टोलीले नगद ४ लाख रुपैयाँ, आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता बनेको टोलीले नगद २ लाख रुपैयाँमा चित्त बुझाउनेछ । त्यस्तै, खेलाडीहरूलाई विधागत रूपमा समेत पुरस्कार रहेको आयोजकले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

epaper

ताजा समाचार

बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीन प्रस्थान