बलात्कारको आरोपमा श्रीमान र जेठाजु पक्राउ, मुद्दा मिलाइदिन्छु भन्दै ५० हजार लिने धामी पक्राउ

सांकेतिक तस्वीर

धनगढी । कैलाली प्रहरीले बलात्कार गर्न खोजेको आरोपमा श्रीमान र जेठाजुलाई पक्राउ गरेको छ । जिल्लाको गौरीगंगा नगरपालिकाकी १६ वर्षीया युवतीलाई जबर्जस्ती करणी गर्न खोजेको भन्दै उनका १७ वर्षीय श्रीमान र जेठाजु पक्राउ गरिएको हो ।
एक वर्षअघि मागी विवाह गरेकी ती युवतीलाई घरमा दाजुभाइ मिलेर बलात्कार गर्न खोजेको भन्दै उजुरी परेपछि पक्राउ गरिएको कैलाली प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए । पीडित युवतीलाई धनगढीस्थित सेफ हाउसमा राखिएको छ ।
जिल्ला प्रहरी कैलालीका अनुसार सुरुमा कोरोना भाइरसको त्रासका कारण दुबै जनालाई परिवारको जिम्मा लगाइएको भएपनि युवती र उनका माइती पक्षले जबर्जस्ती करणी उद्योगमा मुद्दा दिएपछि दुबै जनालाई पक्राउ गरी हिरासतमा राखिएको छ । उनीहरुलाई आइतबार म्याद थपका लागि अदालतमा पेश गरिने छ ।
यसैबीच सो मुद्दा मिलाइ दिन्छु भन्दै ५० हजार रुपैयाँ घुस लिने सामुदायिक वनका अध्यक्ष पनि पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका १० का बिर्ख धामी पक्राउ परेका हुन् ।
धामी उदासीपुरस्थित लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हुन् । धामीले इलाका प्रहरी कार्यालय मसुरियासँग कुरा गरेर मुद्दा मिलाइदिन्छु भनी आरोपीसँग ५० हजार घुस मागेका थिए ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नगद रकमसहित पक्राउ गरेको हो । अध्यक्ष धामीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 323 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण