गुल्मी । नेकपा माओवादी केन्द्र निकट विद्यार्थीहरुको संगठन अखिल (क्रान्तिकारी) ले गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तुमा रहेको धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा तालबन्दी गरेको छ । आइतबार संगठनको सोही क्याम्पस इकाई कमिटीले क्याम्पस प्रशासन र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको हो । आगामी चैत्र ५ हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि विद्यार्थी भर्ना र मतदाता नामावलीमा अनियमितता भएको संगठनले आरोप लगाएको छ ।
ताला लगाउनुअघि संगठनले क्याम्पस प्रमुख ऋषिराम पाण्डेलाई ध्यानाकर्षण पत्र समेत बुझाएको थियो । संगठनका गाउँसमिति उपाध्यक्ष तथा क्याम्पस इन्चार्च सागर पोखरेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा स्ववियुलाई प्रभावित पार्न प्रशासनले भर्ना नै नभएका विद्यार्थीको नाम मतदाता नामावलीमा प्रकाशन गरेको, फर्जी भर्ना गरेको, शैक्षिक प्रमाणपत्र, नगद रसिद तथा सम्पर्क नम्बरमा अनियमितता भएको आरोप लगाइएको छ ।
निर्वाचन समितिले अहिलेसम्म स्ववियुको कुनै कार्यतालिका सार्वजनिक नगरेको भन्दै आपत्ति जनाएको संगठनले निर्वाचन प्रक्रिया अगाडी बढाउनुअघि फर्जी भर्नाको निष्पक्ष छानविन गरी भर्नाको यथार्थ विवरण सार्वजनिक गर्न माग गरेको छ । यदि आफुहरुका मागलाई वेवास्ता गरेमा आफुहरु जसतोसुकै परिस्थितिको सामना गर्न तयार रहेको संगठनले चेतावनी दिएको छ ।






