काठमाडौं । भारतीय रियालिटी शो ‘डान्स इन्डिया डान्स लिटिल मास्टर्स’को सिजन ३ मा बालिकाको रूपमा प्रस्तुत भएर उपाधि जितेकी नेपाली नृत्य कलाकार तेरिया फौजा मगरले ‘झलक दिखलाजा’ सिजन ९ को पनि उपाधि जितिन् । त्यसपछि आफ्नो अध्ययनसँगै नृत्य र अभिनयलाई अघि बढाएकी तेरिया अब नेपाली रजतपतमा नायिकाको रूपमा डेव्यु गर्दै छिन् ।
यसअघि तेरियाले सन् २०२२ को भारतीय वेब सिरिज ‘उनकी यारी’ र सन् २०२३ को ‘क्याम्पस बिट्स’ जस्ता वेव सिरिजमा अभिनय गरेकी थिइन् । यी दुवै वेभ सिरिजबाट भारतमा चर्चा कमाएकी उनी अब नेपाली चलचित्रमा नायिकाको बनेर दर्शकमाझ आउँदै छिन् ।
अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने नयाँ नेपाली चलचित्र ‘मितज्यू’को मुख्य भूमिकामा अभिनेत्रीको रूपमा तेरिया फौजा मगर अनुबन्धित भएकी छन् । यो चलचित्रमा यस अघि नै अभिनेता दयाहाङ राई पनि अनुबन्धित भएका थिए । दयाहाङको जोडीको रूपमा तेरिया अनुबन्धित भएकी हुन् ।
नेपाली दर्शक तेरियालाई नेपाली चलचित्रमा अभिनय गरेको हेर्न चाहन्थे । उनले समाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरमा दर्शकको यस्तै प्रतिक्रिया आउने गरेको थियो । यस्तो प्रतिक्रियाबाट प्रभावित भएर पनि आफू नेपाली चलचित्रमा नायिकाको रूपमा जोडिएको उनले बताएकी छिन् ।
जनक घर्ती मगरको लगानीमा निर्माण हुने मितज्यूका लागि जनकसँग दयाहाङले दोस्रो पटक सहकार्य गर्न लागेका हुन् । उनीहरूले यसअघि यसै वर्ष असारमा रिलिज भएको चलचित्र घर ज्वाइँमा काम गरेका थिए ।
जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा निर्माण हुने यो चलचित्रको छायांकन वैशाखबाट सुरु गरिने निर्माण पक्षले जनाएको छ । यो चलचित्रलाई महेश राईले लेखेका छन् । चलचित्रको बाँकी कलाकार चयन कार्य जारी रहेको यसका निर्देशक अनिलले बताएका छन् ।