काठमाडौं । पाँच वर्षे कार्यकाल यही चैत २४ गते समाप्त हुन नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी आज मंगलबारदेखि औपचारिक विदामा बसेका छन् । राष्ट्र बैंक स्रोतका अनुसार अधिकारीले आफ्नो कार्यकाल समाप्त हुनुअघि १० दिनका लागि बिदा लिएका छन् ।
परम्परागत रूपमा राष्ट्र बैंकका गभर्नरहरूले अवकाशअघि एक महिनासम्म बिदा बस्ने चलन भए पनि अधिकारीले छोटो अवधि मात्र बिदा लिएका छन् । उनको अनुपस्थितिमा डेपुटी गभर्नर नीलम ढुंगानाले कामु गभर्नरको जिम्मेवारी सम्हाल्ने छिन् ।
अधिकारी बिदा बसेसँग नयाँ गभर्नर नियुक्तिको प्रक्रिया सुरु भएको छ । मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिइसकेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार, सिफारिस समितिले तीन योग्य उम्मेदवारको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ, जसबाट सरकारले एक जनालाई गभर्नर नियुक्त गर्नेछ ।
हाल अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिमा अन्य दुई सदस्य’bout आधिकारिक निर्णय भने सार्वजनिक भएको छैन । तर, आर्थिक क्षेत्रमा अनुभव भएकाहरूलाई समितिमा राख्ने तयारी भइरहेको स्रोतहरूको दाबी छ ।
नेपाल राष्ट्र बैंकको अठारौँ गभर्नर बन्ने दौडमा डेपुटी गभर्नर नीलम ढुंगाना, अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, राष्ट्र बैंक सञ्चालक रवीन्द्रनाथ पाण्डे, प्रभु बैंकका सीईओ अशोक शेरचन, नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना, पूर्वअर्थ सचिव रामेश्वर खनाल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीलगायतको नाम चर्चामा छ ।