राजविराज । यहाँ स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा पुनः रंजित कुमार यादव निर्वाचित भएका छन् । उनी समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल (क्रान्तिकारी) गठबन्धनका साझा उम्मेदवार थिए ।
स्वतन्त्र उम्मेदवार विनय कुमार यादव (बालेन) लाई ६१ मतले पराजित गर्दै रंजित दोस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
लागातार दोस्रो पल्ट जितेर उनले इतिहास रचेका छन् । अघिल्लो दिन मंगलबार राती ९ बजे देखि शुरु भएको मतगणनाको प्रत्यक्षतर्फ पदाधिकारीहरुको अन्तिम परिणाम बुधवार विहान १० बजे सार्वजनिक गरेका छन् ।
जस अनुसार अध्यक्ष पदमा रंजितले ३९३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार विनय कुमार यादवले ३३२ मत प्राप्त गरे ।
अनेरास्ववियु र अशोकराई नेतृत्वको जसपा निकट समाजवादी विद्यार्थी युनियन गठबन्धन की उम्मेदवार मनिषा कुमारी साह ३३१ मत प्राप्त गरि तेस्रो स्थानमा रहिन् ।
नेवि संघ र लोकतान्त्रिक विद्यार्थी संघ गठबन्धनका अध्यक्ष पदका उम्मेदवार नितिश कुमार यादव १०२ तथा जनमत विद्यार्थी संघका अध्यक्ष पदका उम्मेदवार त्रिवेणी कुमार यादव क्रमशः १०२ र ८२ मत ल्याई चौथो र पाँचो स्थानमा रहे ।
त्यस्तै सचिव पदमा ३९५ मत ल्याई समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल क्रान्तिकारी गठबन्धनकै मुकेश कुमार साह र सर्वाधिक ४१० मत ल्याई कोषाध्यक्ष पदमा कंचन कुमारी ठाकुर निर्वाचित भएकी छिन् । ७ सदस्य पदका लागि भएको निर्वाचनको मतगण्ना भने जारी नै रहेको र सोको अन्तिम परिणाम आउन केही समय लाग्ने निर्वाचन अधिकृत नन्द किशोर यादवले जानकारी दिएका छन् ।
कूल २७३१ मतदाता रहेको स्ववियु निर्वाचनमा १२७२ मत खसेको थियो । अघिल्लो स्ववियुको निर्वाचनमा पनि समाजवादी विद्यार्थी युनियन नेपालको तर्फबाट उम्मेदवार रहेका रंजित यादव नै अध्यक्ष पद जितेका थिए ।
नतिजा घोषणा भए लगतै बाजा गाजा सहित नाचगान गर्दै विजयी जुलुश निकालिएको छ ।
विजयी जुलुसमा पुर्वमन्त्री एवं माओवादी नेता उमेश यादव, मधेश प्रदेशका पुर्व मन्त्री एवं जसपा नेता शैलेन्द्र प्रसाद साह समेत केही क्षण सहभागी भई नवनिर्वाचित विद्यार्थी नेताहरुलाई अविर माला लगाएर बधाई एवं शुभकामना दिएका थिए ।