पृथ्वीनारायण क्याम्पसमा स्ववियु चुनाव १० चैतमा

पोखरा । पृथ्वीनारायण क्याम्पस, पोखरामा मंगलबार स्थगित स्वतन्त्र विद्यार्थी युनियनको नयाँ मिति तोकिएको छ । निर्वाचन समिति, क्याम्पस प्रशासन र निर्वाचनमा भाग लिएका विभिन्न संघ, संगठन, प्यानल र स्वतन्त्र उम्मेदवारसमेतको सर्वपक्षीय बैठकले १० चैतमा गर्ने गरी निर्णय गरेको निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले जानकारी दिए ।

नयाँ निर्वाचन तालिका अनुसार ७ चैत मध्यरातदेखि मौन अवधि सुरु हुनेछ । साथै, निर्वाचनका लागि विभिन्न कार्य क्षेत्रको जिम्मेवारीमा रहेका प्राध्यापक र कर्मचारीहरु यथास्थानमै जिम्मेवारी रहेको निर्वाचन समितिले जनाएको छ । यहाँ ९ हजार विद्यार्थी मतदाता छन् ।

मंगलबार निर्वाचन समितिले मतपत्रमा भएको सामान्य त्रुटिमा हेक्का नपु¥याउँदा उत्पन्न विवादले चुनाव स्थगित हुन गएको थियो । २०६५ यता चुनाव हुन नसकेको पिएनमा यसपालि पनि चुनाव रोकिएपछि विद्यार्थीमा निराशा उत्पन्न भएको थियो ।

मंगलबार बिहान मतदान प्रक्रिया सुरु हुनैलाग्दा मतपत्रमा अखिल (छैटौं) का अध्यक्ष पदका उम्मेदवार मिलन सुनारको नामको पछाडि रेजा लगाउने बक्स छुट हुन गएको भेटिएको थियो । उक्त मतपत्र रद्द गरी पुनः मतपत्र छपाई गरी ल्याउँदा ढिला भएको र समय अभावका कारण मतदान कार्य सुरु गर्न नसकिएपछि सुरुमा बुधबारसम्मका लागि चुनाव स्थगित गरिएको भन्दै निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले सूचना जारी गरे ।

यत्तिकैमा साँझ निर्वाचन कार्यालयमा संयुक्त प्यानलसहित अखिल छैटौं र नयाँ शक्ति विद्यार्थी युनियनले तालाबन्दी ग¥यो ।

तालाबन्दीपछि निर्वाचन प्रक्रिया अगाडि बढाउन बाधा उत्पन्न भएकाले सर्वपक्षीय छलफलपछि स्ववियु निर्वाचन अर्को मिति तय गर्ने गरी निर्वाचन समितिले स्थगित भएको जनाएको थियो ।

पिएनमा २२ औं स्ववियु अध्यक्षका लागि स्वतन्त्रसहित ८ जना अध्यक्षका उम्मेदवार प्रतिस्पर्धामा छन् ।

२१ सदस्यीय समितिका लागि १० जना समानुपातिकबाट निर्वाचित हुने छन् । समानुपातिक सदस्य निर्वाचित भएकामध्ये एकजना उपाध्यक्ष र एकजना सहायक सचिव हुने व्यवस्था छ ।

राष्ट्रियस्तरमै चर्चित नेता उत्पादन गरेको पृथ्वीनारायण क्याम्पसमा २०६५ सालयता चुनाव हुन सकेको छैन । २०७९ को चुनाव पनि अन्तिममा आएर भाँडिएको थियो ।

यसपालि निर्वाचनका लागि प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ वटा संघ, संगठन, प्यानल दर्ता भएका छन् । एमालेनिकट अनेरास्ववियुले एकछत्र जित्दै आएको पिएनमा यसपालि प्रत्यक्षतर्फ अनेरास्ववियुबाट विष्णु पोखरेल र नेपाल विद्यार्थी संघबाट सुशील न्यौपाने नेतृत्वको प्यानलबीच कडा प्रतिस्पर्धा छ ।

यस्तै, अखिल (क्रान्तिकारी) बाट नवीन अधिकारी, अखिल (छैटौं) बाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट दिप्सन गुरुङ, संयुक्त प्यानलबाट सन्तोष पौडेल छन् । स्वतन्त्रबाट कमल सुवेदी र विप्लवी न्यौपाने अध्यक्षका उम्मेदवार हुन् ।

समानुपातिकतर्फ अखिल (क्रान्तिकारी), अनेरास्ववियू, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, अखिल (छैटौं), अखिल (क्रान्तिकारी) वैद्य, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (समाजवादी) र नयाँ शक्ति विद्यार्थी युनियनले उम्मेदवारी दिएका छन् ।

अनेरास्ववियुका स्थायी कमिटी सदस्य विजय पौडेलले यसपालि पनि विगतमा जस्तै अनेरास्ववियुको लोकप्रियता देखेर अन्य संगठनले चुनाव भाँड्ने परिपञ्च गरेको आरोप लगाउँछन् ।

पोखरामा मंगलबार पोखरा नर्सिङ, वन क्याम्पस र पोखरा इन्जिनियरिङ कलेजमा मतदान भएको थियो । पोखरा नर्सिङमा अनेरास्ववियुकी प्रतिभा भण्डारी र वनमा अनेरास्ववियुकै अभिषेक शर्मा अध्यक्षमा निर्वाचित हुँदा इन्जिनियरिङमा स्वतन्त्रका प्रकाश धामी निर्वाचित भए ।

पोखराको अर्को जनप्रिय क्याम्पसमा मंगलबार चुनाव हुन सकेन । संस्कृत क्याम्पसमा १० चैतमा मतदान हुने कार्यतालिका छ ।

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

epaper

ताजा समाचार

सुरक्षा परिषद्को बैठक सम्पन्न, समन्वयलाई प्रभावकारी बनाउने निर्णय