माथवरसिंह बस्नेत रहेनन् !

नेपालमा प्रजातन्त्र प्राप्तिको संघर्षका अथक योद्धा एवं वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको ७८ वर्षको उमेरमा हिजो शनिबार देहावसान भयो । गम्भीर मस्तिष्काघातका कारण बस्नेतलाई उपचारार्थ अस्पताल भर्ना गरिएको थियो । उहाँको शनिबारै पशुपति आर्यघाटमा अन्त्येष्टि सम्पन्न भयो ।

पञ्चायतकालमा बम ओसारपसार गरेको आरोपमा राजकाज मुद्दामा स्वर्गीय जानकी कुइँकेलसहित माथवरसिंह बस्नेतलाई जन्मकैदको सजाय दिइएको थियो । १ वैशाख २०३७ को नववर्षका दिन राजा वीरेन्द्रबाट कैयन राजनीतिक बन्दीलाई आममाफीको घोषणा भएपश्चात् स्वर्गीय बस्नेत कारावासबाट छुट्नुभएको थियो ।

जनमतसंग्रहपछि केही समयमै बस्नेतले औपचारिक रूपमा पत्रकारितामा प्रवेश गर्नुभयो । त्यसो त बन्दीगृहभित्रै कृष्णप्रसाद भट्टराईको प्रेरणाले पुनर्जागरण नामको हस्तलिखित पत्रिका निकालेको स्मरण बस्नेत सुनाउने गर्नुहुन्थ्यो । तर, पत्रकारितामा उहाँको औपचारिक प्रवेशचाहिँ ‘राष्ट्रिय पुनर्जागरण मासिक’को प्रकाशनबाट भएको थियो । यो मासिक पत्रिकाको अनावरण स्वयं विश्वेश्वरप्रसाद कोइरालाले गर्नुभएको थियो । त्यस अवसरमा जननायक कोइरालाले भन्नुभएको सानो वाक्यांश स्मरणीय छ । उहाँले भन्नुभएको थियो, ‘माथवरजीको सम्पादनमा निस्कने यो पत्रिकामा लेखकको भनाइप्रति स्वयं लेखक जिम्मेवार छन्जस्ता डिस्क्लेमर देखिन्न भन्ने विश्वास गरेको छु ।’ बीपी जिम्मेवार आदर्श पत्रकारिताको आशा गर्दै हुनुहुन्थ्यो । माथवरसिंह बस्नेतले बीपीको त्यो बिश्वासलाई सायद आजीवन मर्न दिनुभएन ।

केही समयपश्चात् ‘विश्वसन्देश’, ‘विश्वदूत’ र ‘वार्तालाप’जस्ता साप्ताहिक पत्रिकाको पूर्ण संयोजन गर्न थाल्नुभयो र अन्ततः २०४५ सालको साउन महिनामा आएर आफ्नै पुरानो ‘राष्ट्रिय पुनर्जागरण मासिक’लाई आफ्नै सम्पादनमा ‘पुनर्जागरण साप्ताहिक’को रूप दिएर प्रकाशित गर्न सफल हुनुभयो । नयाँ पत्रिका दर्ता गर्न अत्यन्तै कठिन त्यस समयमा उहाँले अचम्मसँग तत्कालीन पञ्चायती सञ्चारमन्त्री कमल थापाको सहयोग प्राप्त गर्नुभएको थियो । आमजनताका बीचमा ‘गणेशमानको पत्रिका’ भनेर चिनिन पुगेको कट्टर कांग्रेसी पत्रिकाको अनावरणचाहिँ पञ्चमन्त्री कमल थापाले गरेका थिए । अनावरण कार्यक्रममा थापा प्राविधिक कारणले ढिला आइपुगेका हुँदा गणेशमानजीले कुर्नुपरेको थियो † त्यस घटनाले माथवरजी निकै आलोचितसमेत बन्नुभएको थियो । त्यसबेला भनिएको थियो, ‘मण्डलेका लागि गणेशमानजीलाई कुराउने ?’ स्वयं गणेशमानजीले चाहिँ धैर्यपूर्वक कुर्नुभएको थियो र उहाँजस्तो कठोर व्यक्तित्वले कहिल्यै त्यस सम्बन्ध असन्तुष्टि व्यक्त गरेकोसम्म सुनिएन । गणेशमानजीले रिसाएका किसुनजीसँग भन्नुभएको भन्ने सुनियो, ‘ठूलो उद्देश्य प्राप्तिका लागि थोरै अपमान खप्नुपरे पनि केही छैन †’ यो गणेशमानजीको पत्रिका प्रकाशनको महत्ताबोध हो वा माथवरजीप्रतिको असीम प्रेम, खुट्याउन गाह्रो छ । २०४६ सालको जनआन्दोलनमा पुनर्जागरणको भूमिका उल्केखनीय छ ।

माथवरसिंह बस्नेतको गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसँग अत्यन्तै गाढा सम्बन्ध थियो । २०४७ सालमा भट्टराई अन्तरिम प्रधानमन्त्री बन्नुहुँदा माथवरसिंह बस्नेतले प्रधानमन्त्री कार्यालयमै किसुनजीका अन्तरंग सहयोगीको भूमिका निर्वाह गर्नुभयो । बाहिर मानिसले बस्नेतलाई ‘प्रेस सल्लाहकार’ र ‘स्वकीय सचिव’ आदि–इत्यादि विभिन्न उपमाले सम्बोधन गरे पनि कार्यालयमा उहाँको कुनै औपचारिक हैसियत नभएको सुनियो । तर, कार्यालय, निवास र यात्रामा समेत बस्नेत किसुनजीसँगै निरन्तर देखिनुहुन्थ्यो । सायद किसुनजीको शैली यस्तै थियो वा माथवरजीको सेवाभाव त्यस्तै थियो । जे होस्, उहाँहरू दुईबीच व्याख्या गर्न नसकिने सामीप्य एवं तादात्म्यता थियो । गणेशमान सिंहको प्रसिद्ध आत्मकथात्मक संस्मरण ‘मेरो कथाका पानाहरू’ को लेखक वा प्रस्तोता नै माथवरसिंह बस्नेत हुनुहुन्थ्यो । सो पुस्तकको ३ खण्ड प्रकाशित भइसकेको छ । स्वयं माथवरजीले आफ्ना निकटतमहरूलाई केही दिनअघि मात्र बताउनुभएअनुसार ‘चौथो खण्ड प्रकाशनको लगभग तयारी अवस्थामा कम्प्युटरमा सुरक्षित छ ।’ उहाँका अनुसार ७ खण्डसम्म निकाल्न पुग्ने सामग्री उहाँले संग्रह गरिसक्नुभएको छ ।

माथवरसिंह बस्नेतले राजधानी दैनिकलाई पनि समयसमयमा विचारोत्तेजक लेख उपलब्ध गराएर सहयोग पु¥याउनुभएको छ । केही दिनअघि मात्र स्वर्गीय महेन्द्रनारायण निधिको जन्मजयन्तीका अवसरमा उहाँको आलेख राजधानीको अग्रपृष्ठमा प्रकाशित भएको थियो । सम्भवतः यो नै उहाँको सार्वजनिक भएको अन्तिम लेख हो ।

स्वर्गीय बस्नेतले प्रेस काउन्सिल नेपालमा पनि केही सेवा दिनुभयो भने राष्ट्रिय समाचार समिति र गोरखापत्र संस्थानको अध्यक्षसमेत रहनुभयो । स्वर्गीय बस्नेतको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन ठूलो संख्यामा भक्तपुरका कांग्रेसजन आर्यघाटमा उपस्थित भएका थिए । त्यस अवसर नेपाल सरकारका उपप्रधानमन्त्री प्रकाशमान सिंह एवं अन्य नेतागण एवं पत्रकारहरूको पनि उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया
(Visited 370 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राप्रपाले आज निषेधित क्षेत्र तोडने, गृहद्वारा चेतावनी जारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटको मौलापुरको कार्यपालिका सदस्यमा आठै जना निर्विराेध