काठमाडौं । काठमाडौँमा ७ चैत्रदेखि जारी आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को शनिवारको प्रदर्शन रसियन चलचित्र प्रधान भयो ।
आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष झैँ यस वर्ष पनि एउटा देशको चलचित्र विशेष प्रदर्शनी गर्ने क्रममा शनिवार रसियाका चलचित्रको विशेष प्रदर्शनी गरिएको महोत्सव अध्यक्ष केपी पाठकले राजधानीलाई जानकारी गराए ।
तेस्रो दिन शनिवार ‘रसियन चलचित्र दिवस’को रूपमा रसियाका चलचित्रहरू प्रदर्शन गरिएको हो । नेपाल रोस्किनोद्वारा संयोजित र रुसी संस्कृति मन्त्रालयद्वारा समर्थित तीन वटा रसियन चलचित्र शनिवार महोत्सवमा प्रदर्शन गरिएको आयोजक पक्षले जनाएको छ । नेपाल रोस्किनोले महोत्सवको लागि ती रुसी चलचित्र उपलब्ध गराएको सो संस्थाले कार्यक्रममा जानकारी गराए ।
रसियन चलचित्र दिवसमा निकोलाई लेबेदेवद्वारा निर्देशित युद्ध जनराको सन २०२३ मा निर्मित चलचित्र ‘नुरेमबर्ग’, एभजेनिया तिर्डातोभाद्धारा निर्देशित लभ स्टोरी जनराको सन २०२४को चलचित्र ‘फोर क्वार्टर्स’ र एलेक्जान्ड्रा सरानाद्वारा निर्देशित रोमान्टिक कमेडी जनराको चलचित्र ‘थ्रीसम’ प्रदर्शन गरियो ।
नुरेमबर्ग २०२३ को प्रमुख युद्ध जनराको चलचित्र मध्यहरू मध्ये एक हो । यो ऐतिहासिक चलचित्र नुरेमबर्ग परीक्षणहरूको ’boutमा पहिलो पूर्ण–लम्बाइको कथानक चलचित्र हो । रुसी स्टार कलाकारहरू सर्गेई बेज्रुकोभ, एभजेनी मिरोनोभ, इगोर पेट्रेन्को, र लुबोभ अक्स्योनोभालगायतको मुख्य भूमिका रहेको चलचित्र नुरेमबर्ग २०२३ को सफल चलचित्र पनि हो ।
यस्तै अर्को चलचित्र फोर क्वार्टर्स भने लेखक अलेक्ज्याण्डर युक द्वारा लिखित र सर्वाधिक बिक्री भएको उपन्यास फोर क्वार्टर्समा आधारित रहेर निर्माण गरिएको हो ।
यस्तै एक युवा निजामती कर्मचारीको आरोह अवरोह समेटिएको थ्रीसम पनि रमाइलो र हास्य प्रधान चलचित्र थियो । रसियन भाषाका यी चलचित्रहरू अंग्रेजी सव टाइटलयुक्त थिए । यसरी आठौँ नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२५ मा शनिवार रसियन चलचित्र दिवस अन्तर्गत ३ वटा रसियन चलचित्र प्रदर्शन गरियो ।
बिहीबारबाट सुरु भएको आठौँ नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२५ आगामी सोमबारसम्म जारी रहने छ । महोत्सवमा ४० देशका ८७ वटा चलचित्रहरू सहभागी छन् । यो महोत्सवको बिहीबार दिउँसो काठमाडौँका सुनधारा स्थित क्युएफएक्स सिभिल मलमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले क्लाप बोर्ड पड्काएर उद्घाटन गरेका थिए । मीनबहादुर भाम निर्देशित चलचित्र शाम्बालालाई उद्घाटन समारोहमा प्रदर्शन गरिएको थियो ।
यस पटक यो महोत्सवमा सहभागी चलचित्रहरूको निर्णायकमा छोटा चलचित्र तथा वृत्तचित्रतर्फ निर्देशक दीपेन्द्र गौचन, अभिनेत्री सुरक्षा पन्त, निर्देशक सम्पादक रक्षा सिंह राणा, चलचित्र समीक्षक सम्पादक रिता दत्त, निर्देशक लिउ जियान र कलाकार जमल शाह रहेका छन् ।
यस पटक महोत्सवमा ३ वटा अडियन्स च्वाइस अवार्ड र एआई अवार्ड थप पनि गरिएको आयोजक पक्षले जनाएको छ । महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर चलचित्रलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड, उत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर सहित माउन्ट एभरेस्ट अवार्ड र उत्कृष्ट अन्तर्राष्ट्रिय लघु चलचित्रलाई पाँच सय डलरसहित बागमती अवार्ड प्रदान गरिने महोत्सव अध्यक्ष केपी पाठकले जानकारी गराएका छन् । यस्तै एआई चलचित्रलाई पाँच सय डलरसहित मञ्जुश्री अवार्ड प्रदान गरिनेछ ।
नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर चलचित्रलाई एक लाख रुपैयाँ र ट्रफी, उत्कृष्ट लघु चलचित्रलाई र उत्कृष्ट वृत्तचित्रलाई ५०–५० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने पनि अध्यक्ष पाठकले जानकारी गराएका छन् ।