तेस्रो जनआन्दोलन अपरिहार्य

देश विषम परिस्थितिले गुज्रिरहेको छ । चारैतिर संन्नाटा छाएको देखिन्छ, लाग्छ कुनै ठूलो भूकम्पको चेतावनी हो । भर्खरै श्रीलंका, बंगलादेशलगायतका देशमा भएको संनाटाबीच राजनीतिक महाभूकम्प तपाईं–हामीबीच साक्षी नै छन् ।

नेपालमा पनि दलहरूको अवैध क्रियाकलापले देश नै अस्तव्यस्त बनेको छ । पछिल्लो समय नेपालमा देखिएको दलतन्त्रको कर्तुत, नागरिक अधिकारको हनन, कुशासन, भ्रष्टाचार, बेरोजगारी, कर आतंक, मूल्यवृद्धिलगायतका कारण जनतामा चरम असन्तोष छ ।

नेपालमा विभिन्न आन्दोलन भए, नेताहरूले व्यवस्थाका साथै अवस्था पनि परिवर्तन हुने सपना बाँडे, तर न व्यवस्थामा नै सुधार देखियो न त जनताको वास्तविक अवस्था परिवर्तन हुने संकेत नै । बरु बनाउने नाममा बिगारे, व्यवस्थालाई खिचडी बनाइदिए, अपांग बनाए ताकि केही सीमित व्यक्तिको रजगज सधैं रही नै रहोस् । सीमित समुदायको वर्चस्व कायम रहिरह्यो ।

आम नागरिकले अनुभूति गर्नुपर्ने आर्थिक, सामाजिक र राजनीतिक समृद्धिमा पनि केही बदलाव हुन सकेन । शासकहरूको प्रवृत्ति बदलिएको छैन, भ्रष्टाचार मौलाउँदै गएको छ, बेरोजगारी दर आकाशिएको छ, युवा शक्ति विदेश पलायन भइरहेको छ र कर आतंकले आम जनताको ढाड सेकिरहेको छ ।

आज सत्ता केही मुठीभर नेताको स्वार्थकेन्द्रित खेल मैदान बनिसकेको छ । ‘गाउँगाउँमा सिंहदरबार’ भन्ने नाराले सिंहहरू मात्र गाउँ पुगे, तर दरबारको सुविधा, स्रोतसाधन र सुशासन गाउँसम्म पुगेन । संघीयताको नाममा स्थानीय तहलाई अधिकार दिइएको भनिए पनि व्यावहारिक रूपमा केन्द्रीयकरणकै निरन्तरता देखिन्छ । भ्रष्टाचार संस्थागत भइसकेको छ, न्यायालयदेखि प्रशासनसम्म अस्थिरता छ र जनता आफ्नो अधिकारबाट वञ्चित भइरहेका छन् ।

यस्तो अवस्थामा, तेस्रो जनआन्दोलन अपरिहार्य देखिन्छ । यस आन्दोलनको उद्देश्य केवल सत्ता परिवर्तन वा सरकार बदल्नु मात्र नभई, व्यवस्थाको मौलिक सुधार, समावेशी विकास, आर्थिक समृद्धि, सुशासनको प्रत्याभूति, युवा रोजगारीको सुनिश्चितता तथा भ्रष्टाचारमुक्त शासन व्यवस्था स्थापना गर्नु हो । अबको आन्दोलन सत्ता र नेतृत्वमा मात्र होइन, प्रणाली र प्रवृत्तिमा परिवर्तन ल्याउने खालको हुनुपर्छ । त्यो आन्दोलनले नागरिकको जीवनस्तर सुधार गरी वास्तविक परिवर्तनको आधारशिला निर्माण गर्न सक्नुपर्छ ।

नेपालमा दलतन्त्र र शासकहरूको दुराचरणले जनतामा असन्तोषका स्वर यत्रतत्र उठिइरहेका छन् । भ्रष्टाचार, कुशासन, र आर्थिक संकटको कारण जनता दिनप्रतिदिन दुःखी हुँदै छन् । तसर्थ, अब यस असह्य स्थिति परिवर्तन गर्नका लागि दृढ कदम चाल्नु आवश्यक छ । यही कारणले, त्यस खालको जनआन्दोलनमा सहभागी भएर दलतन्त्रको अन्त्य गर्न, आम जनताको शासन स्थापित गर्न र देशको वास्तविक समृद्धि सुनिश्चित गर्नका लागि जनतालाई एकजुट हुनु आवश्यक छ ।

यो आन्दोलनले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न, सरकारको कर आतंकलाई बन्द गराउन र जनतालाई धोका दिने नेताहरूलाई कारबाही गर्ने अठोट लिनुपर्छ । यस आन्दोलनको उद्देश्य नेपाललाई आर्थिक संकटबाट बाहिर निकाल्न, भ्रष्टाचारको जालो तोड्न र भगौडाहरूको कालो धन जफत गर्न हो । साथै, लघुवित्त र बैंकहरूको लुट, सहकारी पीडितको न्याय र कवाड, खुद्रा व्यापारी, तथा सुकम्बासीहरूको रक्षा गर्नु पनि यस आन्दोलनको प्रमुख हुनुपर्छ ।

युवाहरूको स्वदेशमै रोजगारी सुनिश्चित गर्न र वैदेशिक रोजगारका ठगहरूको कारबाही गर्ने उद्देश्यले यो आन्दोलन अघि बढ्दै छ । भन्सारको लुटकारी प्रावधान खारेज गर्नु, किसानलाई पेन्सन, मजदुरलाई अधिकार, तथा गरिब दलितलाई आवास र रोजगार प्रदान गर्नु पनि यस आन्दोलनको मुख्य ध्येय हो । महिलालाई ५१ प्रतिशत अधिकार सुनिश्चित गर्ने, घूस, कमिसन र भागबन्डा बन्द गर्ने अठोट यस आन्दोलनमा समेटिएको छ ।

निःशुल्क शिक्षा र स्वास्थ्यको अधिकारलाई व्यवहारमा उतार्ने प्रतिबद्धता र देशको समृद्धिका लागि दलतन्त्रविरुद्ध जनआन्दोलनलाई सफल बनाउन प्रत्येक नागरिकको सहभागिता अत्यन्त आवश्यक छ । त्यसैले, आगामी आन्दोलनमा सबै जागरुक जनता जुटेर दलतन्त्रको अन्त्य र नेपालको उज्ज्वल भविष्यका लागि दृढ कदम चाल्ने खालका कार्यक्रम गर्नुपर्छ ।

नेपालमा भएका सबै आन्दोलन र परिवर्तनले जनताको जीवनमा आवश्यक सुधार ल्याउन सकेका छैनन् । शासकहरूको भ्रष्टाचार, कुशासन र बेरोजगारीले जनताको स्थिति अझै पनि दयनीय बनाएको छ । अब समय आएको छ, जब एक नयाँ संघर्ष र आन्दोलनको आवश्यकता महसुस भएको छ । यस खालको आन्दोलन केवल सत्ताको परिवर्तनका लागि होइन, व्यवस्था र प्रणालीको मौलिक सुधारका लागि हुनुपर्छ ।

यस आन्दोलनको उद्देश्य केवल शासकहरूको नालायकीविरुद्ध होइन, अपितु समाजका सबै तहका नागरिकको हक र अधिकारको रक्षा गर्नका लागि छ । यसका साथै, यसको लक्ष्य युवा रोजगारको सुनिश्चितता, महिलाको सशक्तीकरण, आर्थिक समृद्धि, र सामाजिक न्यायको स्थापना गर्नु हुनुपर्छ ।

यस्तो आन्दोलनको सफलताका लागि सबै नागरिकको सहभागिता आवश्यक हुन्छ । एकजुटता, जागरुकता र संघर्षको कदमले मात्र नेपालको भविष्यलाई उज्ज्वल बनाउन सक्छ । अबको परिवर्तन केवल नारामा सीमित रहनु हुँदैन, नागरिकहरूको सचेत भागीदारी र नेतृत्वमा आधारित दृढसंकल्पले मात्र नेपाललाई प्रगति र समृद्धिको मार्गमा अघि बढाउन सक्छ ।

तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)

epaper

ताजा समाचार

सुपर ओभरमा युएईसँग नेपाल पराजित, यु-१९ एसिया कपमा स्थान सुरक्षित