मड्रिड । ब्राजिली स्टार लेफ्ट ब्याक मार्सेलोले स्पेनिस क्लब रियल म्याड्रिड छाड्ने कुनै योजना नरहेको बताएका छन् । भेट्रान मार्सेलो पछिल्लो समय आफ्नो पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डो रहेको इटालियन क्लब युभेन्टस जाने चर्चा चलेको थियो ।
विश्वका उत्कृष्ट लेफ्ट ब्याकमध्ये एक मार्सेलोले रियलमा धेरै समय खेल्ने दोस्रो खेलाडी हुन् । उनीभन्दा अघि क्लबका हालका कप्तान सर्जियो रामोस मात्रै रहेका छन् । मार्सेलोले रियलमा १३ वर्ष बिताइसकेका छन् । मार्सेलो २००७ मा ब्राजिली क्लब फ्लुमिनेन्सबाट ५ मिलियन पाउन्डमा रियलका आएका थिए । त्यसयता, मार्सेलो रियलको महत्वपूर्ण खेलाडीका रूपमा रहँदै आएका छन् ।
‘मैले दुई वर्षअघि नै सुनेको थिएँ कि मार्सेलो रोनाल्डोलाई पछ्याउँदै युभेन्टस पुग्नेछन् । त्यसमा मार्सेलो राजी भइसकेका छन् ।’ मार्सेलोले इटालीका आइकन फाबियो कानाभारोको इन्स्टाग्राम लाइभमा भने, ‘यी अफवाह बनाउँदा मानिसहरू रमाउँछन् । म क्लब छोड्ने मनासयमा छैन । यो कुरामा म विश्वास पनि गर्दिनँ र रियलले पनि मलाई कतै जान दिनेछैन । म अझै म्याड्रिडमा एकदमै खुसी छु ।
क्लब छाड्ने मनासय छैन ।’ मार्सेलोले रियलमा अझै धेरै गर्न बाँकी रहेको बताएका छन् । मार्सेलोले रियलमा १३ वर्षको बसाइमा समान चार च्याम्पियन्स लिग, स्पेनिस ला लिगा, फिफा क्लब वल्र्डकप र सुपर कोपा जितेका छन् । तीनपटक यूईएफए सुपर कप र दुईपटक कोपा डेल रे जितेका छन् । ३१ वर्षीय मार्सेलोले रियलमै रहने बताए पनि उनले अब रियलको पहिलो रोजाइमा पर्न फरल्यान्ड मेन्डीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यसै समरमा फ्रेन्च क्लब लियोनबाट आएका मेन्डीले निकै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । मार्सेलोले यो सिजन चोटसँग जुध्नुपर्दा २४ वर्षीय मेन्डीले अवसर पाएका थिए । उनले प्रशिक्षक जिदानको मन जितिरहेका छन् ।
कोभिड–१९ का कारण स्पेनिस ला लिगासहित विश्वको खेलकुद गतिविध ठप्प छन् । रोकिएको लिग सुरु हुने या नहुने अन्योल रहे पनि मार्सेलोले रोकिएको सिजन सुरु भएर सकिनेमा विश्वस्त रहेको बताएका छन् । रियल ला लिगामा दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको बार्सिलोनाको ५८ तथा रियलको ५६ अंक छ ।






