काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको ललितपुरको सानेपास्थित आफ्नै निवासमा हत्या भएको छ । महानगरीय प्रहरी कार्यालयका अनुसार सोमबार बिहान आफ्नै निवासमा चोटपटक लागेर रक्ताम्मे अवस्थामा कार्कीलाई फेला पारिएको थियो ।
पूर्वसचिव कार्कीले बिहानै बाहिर गएर घर फर्कंदा पत्नी मुनालाई अचेत अवस्थामा फेला पारेका थिए । त्यसलगत्तै उनले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले मुनालाई उद्धार गरी स्टार हस्पिटल पु¥याएको थियो । अस्पताल पु-याएलगत्तै चिकित्सकले मृत घोषित गरेको प्रहरीको भनाइ छ ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलका अनुसार कार्कीलाई चोटपटक लागेको अवस्थामा अचेत फेला पारिएको थियो । कार्कीकै घरमा कार्यरत कामदार २२ वर्षीय विजय चौधरीसमेत झुन्डिएर आत्महत्या गरेका अवस्थामा फेला परेका छन् । प्रारम्भिक अनुसन्धानबाट मुनाको कुटपिटपश्चात् हत्या भएको देखिएको र सोही आधारमा अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार घटना भएको अवस्थामा बाहिरबाट अन्य व्यक्ति निवासमा प्रवेश नगरेकाले मुनाको हत्या कामदार चौधरीले नै गरेको हुन सक्ने अनुमान गरिएको छ ।
चौधरीले मुनालाई आक्रमण गरी हत्या गरेको र आफूले आत्महत्या गरेको हुन सक्ने देखिएकाले कामदार चौधरीप्रति केन्द्रित रहेर प्रहरीले अनुसन्धान गरिरहेको छ । दाङका चौधरीले कार्कीमाथि सांघातिक आक्रमण गरेपछि आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ । चौधरीेको शवमा भने कुनै चोटपटक नरहेको र शव फेला परेको स्थानमाथि डोरी झुन्डिएको पाइएको छ ।
पूर्वसचिव अर्जुन कार्की बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएको बेला घरमा सो घटना भएको थियो । कार्कीका एक छोरा र दुई छोरी छन् । दुवै छोरी विदेशमा छन् । १२ वर्षका छोरा स्कुल गएको बेला सो घटना भएको हो । छोरालाई स्कुल लग्न अर्काे कामदार गएको बताइएको छ ।
हत्याको सम्बन्धमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रहरीले कार्कीको घरमा जडान गरिएको सीसीटीभी फुटेजलाई समेत आधार मानेर अनुसन्धान गरिरहेको छ । सो सीसीटीभी फुटेजका आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा चौधरीले मुनाको हत्या गरी आत्महत्या गरेको तथ्य पत्ता लागेको बताएको छ ।