वीचिकाली र जचुकाली हाँकेका व्यक्तिको हातमा संघको नेतृत्व

वीरगन्ज । मुलुककै जेठो उद्योग बाणिज्य संघ ‘वीरगन्ज’ले उद्योग व्यापार र प्रशासनको राम्रो दख्खल भएका व्यक्तिलाई यो पटक नेतृत्वमा ल्याएको छ । गएको फागुन २८ गते ४९ औं बार्षिक साधारण सभा गरी निर्वाचन प्रकृयामा होमिएको वीरगन्ज उद्योग बाणिज्य (वीउबा) संघले उद्योग व्यापार र प्रशासनीक क्षेत्रमा निकै दख्खल राख्ने व्यक्तिको नेतृत्वमा नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको हो ।

संघको नेतृत्वमा ल्याइएका हरि प्रसाद गौतम तत्कालिन वीरगन्ज चीनि कारखाना लि. (वीचिकाली) र जनकपुर चुरोट कारखाना लि.(जचुकाली) को प्रशासन समेत हाँकिसकेका र नीजि क्षेत्रमा लामो समयदेखि आबद्ध व्यक्ति हुन् । नयाँ नेतृत्वमा ल्याएका गौतम सहितको नयाँ कार्य समितिले बुधबार शपथ ग्रहण गर्दै कार्यभार सम्हालेको छ । ८१ वर्षे पुरानो इतिहास बोकेको वीरगन्ज उद्योग बाणिज्य संघको वर्तमान नेतृत्वले समय सापेक्ष अझ उद्योगी व्यवसायीका मुद्दामा काम गर्ने पर्ने संघको निर्विरोध नवनिर्वाचित अध्यक्ष गौतमको टिमलाई चुनौति रहेको यहाँका उद्योगी व्यवसायीको तर्क छ ।

तरल राजनीतिक अवस्था, उत्पादनमा आएको ह्रास, उद्योगमा अपर्याप्त विद्युत आपूर्ति, श्रम बजारमा रुमल्लिएका श्रमिकको अधिकारका कुरा र उद्योगी व्यवसायीले आयात निर्यातमा भोगेका समग्र समस्याको न्यूनिकरण गर्ने पहलकदमी गर्नु यो कार्य समितिलाई सहज छैन । तथापि वर्तमान कार्य समितिले असहज परिस्थितिमा नै काम गरेर देखाउने मौका पाएकोले आफूहरु सकृय भएर अगाडी बढ्ने नयाँ कार्य समितिको प्रतिवद्धता छ । ‘यो कार्य समिति यस्ता समस्याबाट भागेर नहिडी सबै पक्षसँग समन्यव र सहकार्य गरेर अगाडी बढ्न तत्पर छ’ संघका अध्यक्ष गौतमले पहिलो सम्बोधनमा नै पतिवद्धता पनि गरे । नीजि क्षेत्रका समस्या राज्यले ठिक ढंगले अझै नबुझेको तर्क गर्दै अध्यक्ष गौतमले आफ्नो नेतृत्वको संघले सक्दो पहलकदमी गर्ने दावी गरे ।

वीरगन्ज क्षेत्रका प्रहरी, प्रशासनका प्रमुख, भन्सार, राजश्वका प्रमुख, सीमापारी रक्सौल र मोतिहारीका भगिनी संघ संस्थाका प्रमुख लगायतको उपस्थिति रहेको कार्यक्रममा सहभागी बक्ताहरुले संघले वर्तमान चुनौतिको सामना गर्न सक्ने व्यक्तिको नेतृत्व बल्ल पाएको जनाए ।

संघका पूर्व अध्यक्षहरु बाबुलाल चाचान (बरिष्ठ उद्योगपति तथा समाजसेवी), सुबोध कुमार गुप्ता (हालःनेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य), विजय कुमार सरावगी, गणेश लाठ, प्रदिप केडिया, अशोक वैद्य, ओम प्रकाश शर्मा र गोपाल केडियालगायतले नीजि क्षेत्रको साख उच्च राख्न नयाँ कार्य समितिलाई सकृय भएर लाग्न सुझाव दिए । राजनीतिक तरलताका बीच उद्योग व्यवसायको कठिन अवस्था पर्गेल्न तीन तहका सरकारहरुसँग समन्वय गरी नीति निर्माणमा दवाव दिन र आयात निर्यातकर्तालाई सहज सम्पादनमा उद्योगी व्यवसायीलाई सकृय राख्न उद्योगी व्यवसायीहरुको छाता संगठनले गुणात्मक पहलकदमी गर्न पर्ने पनि उनीहरुको सुझाव छ ।

नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा माधवलाल राजपाल, द्वितीय उपाध्यक्षमा मनोज दास, महासचिव शिवजीप्रसाद कलवार निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा अनोज रुङ्गटा सचिवमा प्रेमचन्द्र गोयल र सुशान्त चाचान, सह–कोषाध्यक्षमा निरज अग्रवाल पनि निर्विरोध निर्वाचित भएका छन् । सहसचिवमा नरेश टिवडेवाल र अनुप अग्रवाल निर्वाचनबाट निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले घोषणा गर्दै शपथग्रहण गराए । पदाधिकारी मध्ये सहसचिव पदका लागि मात्र मतदान भएको उनको भनाइ थियो

संघको विधान अनुसार १२ जना पदाधिकारी रहने प्रावधान बमोजिम बाँकी सबै पदाधिकारी निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत खरेलले बताए । बुधबारको शपथ र पदभार ग्रहणसँगै संघको १७ औं नेतृत्वकर्ता गौतमको टिम दुई वर्षका लागि नीजि क्षेत्रको छाता संगठनको कार्यकारी समिति बनेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 123 times, 1 visits today)

epaper

ताजा समाचार

काभ्रेको रोशी खोलामा फसेका ८९ जनाको मध्यरात सकुशल उद्धार