दुर्गम क्षेत्रमा सडक र बिजुली बत्ती

अनारसिंह कार्की

आज काठमाडौंको राजनीति र यसैका वर परका घटनाहरूका वारेमा कति लेख्नु भन्ने लागेर अलिक अलग विषय देशका दुर्गम भूभागमा सडक र बिजुली बत्ती पुगेपछि ती क्षेत्रका स्वरूपमा कस्तो परिवर्तन आएको छ भन्नेवारेमा लेख्न लाग्दै छु । नमुनाको रूपमा मेरो जिल्ला सोलुखुम्बुमा कस्तो परिवर्तन आएको छ र थोरबहुत सबैजसो दुर्गम ठाउँमा त्यस्तै परिवर्तन आएको हुनुपर्छ भन्ने लाग्छ । त्यसैले सडक र बत्ती पुगेसँगै आएको परिवर्तनको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ ।

सडक पुग्नुअगाडि नै माओवादी सशस्त्र विद्रोहका कारण मानिस घरबार छोडेर विस्थापित हुन थालेका थिए । त्यो क्रम सडक गएपछि पनि रोकिएन । अहिले दुई किसिमका मानिस विस्थापित भएका छन्– पहिलो खान–लगाउन पुग्ने मानिस घरखेत त्यसै छाडेर सहर पसेका छन् भने निम्नवर्गीय मानिस काम खोज्न कोही सहर पसेका छन् र कोही कामका लागि विदेश गएका छन् । त्यसकारण सडकसँगै पहाडे उच्च वर्ग र निम्न वर्ग बाहिरिएकाले युवा जनशक्तिको अभाव भएको छ । त्यसले गर्दा पनि स्थानीय उत्पादनमा केही हदसम्म प्रभाव पारेको छ । कम्युनिस्ट विचारअनुसार उत्पादनका साधनको परिवर्तनले उत्पादनका सम्बन्धलाई परिवर्तन गर्छ । साथै पुँजीवादी विकासले कसरी परम्परागत उत्पादनका साधनलाई विस्थापित गर्दै जान्छ भन्ने कुराको नमुना पनि त्यस क्षेत्रमा देख्न पाइन्छ ।

आजको प्रविधिको विकासले कुनै पनि मानिस बसोबास गरेको ठाउँसम्म सडक र बिजुली बत्तीको सुविधा पु¥याउन नसक्नु भनेको लज्जाको कुरो हो । तथापि, सडकजस्तो ठूलो लगानी गर्नुपर्ने योजना छनोट गर्दा त्यस क्षेत्रको उत्पादनतर्फ पनि ध्यान दिन सकिएन भने त्यो लगानीले अपेक्षित प्रतिफल नदिने मात्रै होइन प्रत्युत्पादक प्रतिफलमा पु¥याउन सक्ने खतरा हुँदो रहेछ

परम्परागत खेतीका लागि मुख्य आधार पशुपालन हो । पशुपालनबाट खेतीका लागि मलखाद र जोत्ने गोरु मात्रै प्राप्त हुने होइन, घिउ, खसी, बोका, राँगाजस्ता अतिरिक्त आम्दानीका स्रोत नै पशुपालनबाट प्राप्त हुन्छ । तिनै खसी, बाख्रा, घिउ राँगा बेचेर किसानले आफूलाई चाहिने लुगा, नुन, चिया, चिनीको जोहो गर्नुपर्ने हुन्छ । तर बाटो गएपछि भारतीय सीमा बजारहरूबाट आउने कृषि उत्पादनसँग मूल्य प्रतिस्पर्धा गर्न नसकेर पनि स्थानीय उत्पादन विस्थापित हुन थालेका छन् । मूल्यको सूचीअनुसार स्थानीय घिउ एक मानाको १२ सयसम्म पर्छ भने आयातित तेल र डाल्डा घिउको मूल्य प्रतिलिटर तीन सयदेखि ३ सय पचास रुपैयाँमा पर्याप्त पाइन्छ । तर स्थानीय घिउ भने मूल्य तिर्दा पनि चाहे जति पाउन सम्भव हुँदैन । एक लिटर भनेको दुई माना हो । त्यस्तै मकै, कोदो, धान, गहुँजस्ता खाद्यबालीहरूमा कमी आउनुका कारण काम गर्ने मानिसको अभाव मात्रै कारण होइन, ठूलो स्केलमा उत्पादन हुने मल, बीउ, खाद र सिँचाइको पर्याप्त अनुदान पाएको भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेर पनि खेतीमा कमी आएको छ । पहाडका साना किसानको एउटा आम्दानीको आधार कुखुरा थियो तर अहिले काठमाडौंबाट गाडीमा गएका ब्रोइलर कुखुराको मासु प्रतिकेजी ४ सयमा पाइन्छ भने स्थानीय कुखुरा सजिलै पाउन पनि सकिँदैन र पाएमा एकदेखि डेढ किलोको कुखुराको मूल्य २५ सयदेखि ३ हजार रुपैयाँसम्म पर्छ । जुन मूल्य स्थानीय मानिसको क्रयशक्तिले धान्नै सक्तैन । त्यसैले बजार साँघुरिँदै जाँदा उत्पादन पनि घट्दै जानु स्वाभाविक हो । अहिले दुर्गम गाउँघरको अवस्था यस्तो छ कि हरेक गाउँका घरहरूमध्ये तीन भागको एक भाग घरहरूमा मानिस छन् भने दुई भाग घरमा साँचो लागेको छ वा एउटा रुँगालु रहेको पाइन्छ ।

काम गर्ने मानिसको अभावका कारणले मात्रै त्यस क्षेत्रको उत्पादन घटेको होइन, बाहिरबाट आउने वस्तुसँग प्रतिस्पर्धा गर्न नसकेर पनि स्थानीय उत्पादन विस्थापित हुँदै छन् । सबै युवा जनशक्ति पलायन भइसक्यो भन्ने कुरा पनि अतिशयोक्ति हो । केही युवाहरू छन् । ती युवाहरू कुनै न कुनै पार्टीमा संलग्न भएर स्थानीय निकायका पदमा छन् । अथवा कुनै न कुनै पार्टीका कार्यकर्ताका रूपमा सदरमुकाम वा नेताको अघिपछि लागेर हिँड्ने भएकाले तिनीहरूले काम गर्ने प्रश्नै उठ्दैन । ती ठाउँहरूमा काठमाडौं वा मधेसका सहर बजारबाट जति पनि यातायातका साधनहरू ओहोरदोहोर गर्छन् तिनमा मानिसलाई ओसारपसार गर्नेबाहेकका मालसामान ढुवानी गर्ने कुनै पनि गाडी यताबाट जाँदा पूर्ण भरिएर जान्छन् भने उताबाट फर्किँदा पूर्ण रूपले रित्तो फर्कन्छन् । अचेल त्यस क्षेत्रमा लद्दाख, अरुणाचल र खासाका स्याउ मात्रै होइन, हाजिपुरका केरादेखि पन्जाब र हरियाणाका अंगुर पर्याप्त पाइन्छ । त्यसको उपभोग गर्ने एउटा वर्ग छ । यसरी उत्पादनबिनाको उपभोग मात्रै बढेको छैन र आज जनताको जस्तो खेतका गरामा लहरै बसेका टपरीमा भोज खाने चलन समाप्त भइसकेको छ । अहिले यताबाट लगेका प्लास्टिकका कुर्सी टेबलमा सहर बजारकै जस्तो भोज हुन थालेको छ । जुन घरका मानिस सहर वा विदेशमा काम गर्न गएका छन्, तिनका घरमा सानै भए पनि टेलिभिजन र हातमा मोबाइल फोन हुने गर्छ । यसरी दुर्गम ठाउँको जनजीवनमा ठूलो परिवर्तन आएको छ । अहिले १० वर्ष भएका केटाकेटीले ढिकी–जाँताका कुरा त सुन्छन् तर देख्न पाउन छाडेका छन् । सडक र बिजुली बत्तीसँगै गाउँमा आधुनिकता गएको छ र उपभोगको स्तर र परिणाममा पनि ठूलो फरक आएको छ । तर त्यही अनुपातमा उत्पादन पनि घट्दै गएको छ ।

यो अवस्था देखेर लेख्दै गर्दा सडक सम्बन्धमा बीपी कोइरालाले भनेको यो भनाइ याद आउँछ । पञ्चायतका बेलामा पूर्वपश्चिम राजमार्गलगायतका सडक बनेका सन्दर्भमा उनले भनेका थिए । सडक कति किलोमिटर बन्यो भन्नेभन्दा पनि त्यसमा गुड्ने साधनले दोहोरो मालसामान ओसारपसार गर्छन् कि एकतर्फ मात्रै गर्छन् भन्ने कुराले बढी महŒव राख्छ । यही प्रसंगमा नेपालले २०२२, २०२३ सालतिर रुससँग नेपालको निकासका लागि सबभन्दा महŒवपूर्ण सडक यातायात भएकाले त्यसमा सहयोग गरिदिन अनुरोध गरेको रहेछ । त्यसको प्रत्युत्तरमा सोभियत रुसले प्रश्न गरेको रहेछ नेपाललाई सडकको आवश्यकता केका लागि परेको हो र आफ्ना उत्पादनलाई बजारसँग जोड्न अथवा उद्योगलाई कच्चा मालसम्म पु¥याउन केका लागि चाहिएको हो ? अन्यथा सडकको विकासले स्वतः उत्पादनको ढोका खोल्छ र देश विकास हुन्छ भन्ने धारणा हो भने त्यो उपयुक्त धारणा होइन । विकासोन्मुख देशले हरेक काम योजनाबद्ध ग¥यो भने मात्रै उचित प्रतिफल पाउन सकिन्छ । अन्यथा कसैका सहयोगमा बनाएको सडक मर्मत गर्न नसकेर फेरि सहयोग वा ऋण लिँदै जाने चक्रमा फस्न पुगिन्छ । त्यसले अर्को कुरा के पनि भनेको रहेछ भने तिम्रो देशसँग सामरिक स्वार्थ जोडिएका देशहरूले बनाइदिएका सडकहरू भविष्यमा प्रत्युत्पादक हुन सक्छन् । मैले त्यस बेलाको सोभियत भूमिमा पढेको थिएँ । तथापि सोभियत संघले पूर्व पश्चिम राजमार्ग बनाउन सहयोग गरेको थियो ।

हुन त त्यति बेलाको र अहिलेको परिस्थितिमा ठूलो फरक आएको छ । आजको प्रविधिको विकासले कुनै पनि मानिस बसोबास गरेको ठाउँसम्म सडक र बिजुली बत्तीको सुविधा पु-याउन नसक्नु भनेको लज्जाको कुरो हो । तथापि, सडकजस्तो ठूलो लगानी गर्नुपर्ने योजना छनोट गर्दा त्यस क्षेत्रको उत्पादनतर्फ पनि ध्यान दिन सकिएन भने त्यो लगानीले अपेक्षित प्रतिफल नदिने मात्रै होइन प्रत्युत्पादक प्रतिफलमा पु¥याउन सक्ने खतरा हुँदो रहेछ ।

तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)

epaper

ताजा समाचार

सुपर ओभरमा युएईसँग नेपाल पराजित, यु-१९ एसिया कपमा स्थान सुरक्षित