काठमाडौं । यसै वर्ष रिलिज भएको सफल चलचित्र ‘खुस्मा’को निर्माण टिम यति बेला नयाँ नेपाली चलचित्र ‘जलाकी’को निर्माणमा जुटेको छ । खुस्माले दिएको सफलता पश्चात् आफूहरूले मगर संस्कृतिमा आधारित रहेको दोस्रो चलचित्र जलाकीको निर्माण सुरु गरेको यसका निर्माता चन्द्र बहादुर भट्टचनले राजधानीलाई बताए ।
गत ३ असोजमा संविधान दिवसको अवसरमा प्रदर्शनमा आएको चलचित्र खुस्माले राम्रो व्यापार गरेको थियो । यो चलचित्रका निर्देशक अशोक थापा मगरले नै जलाकीको निर्देशन गर्दै छन् ।
यो चलचित्रको छायांकन शनिवारबाट सुरु भएको छ । छायांकनमा जानु अघि शुक्रवार यो चलचित्रको शीर्ष मोसन पोस्टर सार्वजनिक गरिएको थियो । शुक्रवार नै पोखरा स्थित बिन्ध्यबासिनी मन्दिरमा यो चलचित्रको शुभ मुहूर्त गरिएको यसका निर्माता चन्द्र बहादुर भट्टचनले राजधानीलाई जानकारी गराए ।
‘हामी पोखरामा यो चलचित्रको मुहूर्त सकेर हिजै बागलुङ आएका छौँ र आजबाट यहाँको कालिका भगवती मन्दिरदेखि चलचित्रको छायांकन सुरु गरिएको छ,’ निर्माता चन्द्र बहादुर भट्टचनले राजधानीसँग भने । आफ्नो चलचित्रले मगर र गुरुङ समुदायको संस्कृतिलाई प्रस्तुत गर्ने पनि उनले बताए । निर्देशक अशोक थापामगरका अनुसार यो चलचित्र त्रिकोणात्मक प्रेम कथामा आधारित रहने छ । यो चलचित्रमा सोनाम तोप्देन, अस्तित्व भट्टचन, उपासना सिंह ठकुरी, आकृति राजभण्डारी अभिनेता अभिनेत्रीको रूपमा रहेका छन् । चलचित्रका अन्य कलाकारहरूमा माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) छन् ।
चलचित्रको नाम’bout प्रकाश पार्दै निर्देशक अशोकले भने,‘कसैको सम्झना र मायाको प्रतीकको रूपमा मानिने जलाकी मगर समुदायको आस्थाको प्रतीक ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ । हामीले यो चलचित्रमा जलाकीलाई प्रतीकको रूपमा प्रयोग गर्दै छौँ ।’
यो चलचित्रको तिन चरणमा छायांकन गरिने पनि निर्देशक अशोकले राजधानीलाई जानकारी गराए । उनका अनुसार बागलुङ, म्याग्दीसँगै यो चलचित्रको रुकुममा छायांकन गरिने छ । त्यसपछि केही छायांकन दक्षिण कोरियामा समेत गरिने पनि अशोकले जानकारी गराए ।
अघिल्लो चलचित्रको रुकुम मैकोट गीतले ग्लोवली रूपमा लोकप्रियता हासिल गरेका कारण यो चलचित्रमा पनि आफूहरूले लोक गीतलाई महत्वका साथ स्थान दिने पनि निर्देशकको कथन छ । रुकुम मैकोट गीतले ७ महिनामा १० करोड भ्युज पाइसकेको छ ।
यो चलचित्रमा शैलेन्द्र डी कार्कीको डिओपी, राजु रेग्मी मगर लाइन प्रोड्युुसर रहेका छन् । यसमा एसडी योगी र सरित राईको संगीत, सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना रहेको छ ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण हुँदै गरेको यो चलचित्रका अन्य निर्मातामा ओम घर्तीमगर, वीर बहादुर लामा, बेताने मगर (बबिता राना) मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।






