सिद्धार्थ संवत्सरमा ग्रहपरिषद्को गठन यसप्रकार भएको छ ।
(१) राजा – सूर्य
(२) मन्त्री – चन्द्रमा
(३) सस्येश – गुरु
(४) धान्येश – भौम अर्थात् मंगल
(५) मेघेश – सूर्य
(६) रसेश – शुक्र
(७) नीरसेश – बुध
(८) फलेश – शनि
(९) धनेश – बुध र
(१०) दुर्गेश – सूर्य रहेका छन् ।
यस वर्षका राजा सूर्य छन् भने मन्त्री पदमा चन्द्रमा आसीन छन् । यस वर्षको जगल्लग्नमा मेष लग्न रहेको छ । जगल्लग्नको लग्नेश र अष्टमेश मंगल बनेका छन् भने लग्ननवांशेश र देशको राशीश पनि मंगल नै रहेका छन् । यसरी लग्नेश, नवांशेश, नामराशीश र अष्टमेशसमेत रहेको भौम कर्कटमा नीचस्थ भै सुखभावमा रहनु र त्यहाँ कुनै पनि ग्रहको दृष्टि तथा युति नहुनु, त्यस भावको अधिपति चन्द्रमा मन्त्री पदमा रहेता पनि सबल नहुनु एवं अधिकांश ग्रहहरू खर्चस्थानमा रहनुले नकारात्मक परिस्थिति पैदा गरेको छ । त्यसमाथि मेष राशिको लग्नमा उच्चस्थ सूर्य पञ्चमेश भएर एक्लै हुनुले पनि देशका कार्यकारीमा मदान्धता र उन्मत्त घमण्ड पैदा हुने देखिन्छ ।
तर, त्यस सूर्यका दुवैतिर द्वादश र द्वितीय भावमा मिश्रित ग्रहहरूको अत्यधिक उपस्थितिले सूर्यलाई बल पनि दिएको छ । त्यसबाहेक छैठौं भावस्थ कन्या राशिमा रहेको केतु र त्यहाँको अधिपति बुध द्वादश भावमा अरू ग्रहका साथमा रहनुले एकातिर प्रतिपक्ष प्रबल देखिने अवस्था छ । अर्कातिर लग्नेश मंगल सुखस्थानमा नीचस्थ भई कुनै पनि शुभ वा पापग्रहसँग युत वा दृष्ट नहुँदा कार्यकारी बहकिएर आफ्नै घरभित्र अधिकारको दुरुपयोग गर्दै मदान्धतापूर्वक प्रस्तुत हुने प्रबल सम्भावना देखिन्छ । यसले गर्दा प्रतिपक्षलाई फाइदा पुग्ने देखिन्छ ।
सिद्धार्थ नामक संवत्सरात्मक यस वर्षमा राजा सूर्य, मन्त्री चन्द्र आदि ग्रहपरिषद्का दश अधिकारीमध्ये ६ वटा अभिकारी ग्रह शुभ, वर्षैभरिका १२ वटा संक्रान्तिमध्ये सातवटा संक्रान्तिमा शुभबार, तीमध्ये नौवटा संक्रान्तिमा शुभ नक्षत्र, वैशाख संक्रान्तिको बार र नक्षत्र सुभीक्ष र उत्पादन कारक, चतुःस्तम्भमध्ये जलस्तम्भ र तृणस्तम्भ ८० प्रतिशतभन्दा बढी सबल, मेघमा नीलमेघ र संवर्त दुवै मेघ जलपूरक छन् । आद्र्राप्रवेशमा चन्द्र, शुक्रको युति पनि यथोचित वृष्टिकारक रहेको छ ।
त्यसैगरी संवत्सरवाहन, वैशाख संक्रान्तिको वज्रयोग, तैतिलकरण, पूर्वाहृनकालिक सूर्य संक्रमण, जगल्लग्नेशको नीचस्थिति, त्यसको नवांश्स्थिति, देशको नामराशीशस्थिति, अन्नस्तम्भको शून्यबलको स्थिति आदिले प्रतिकूलताको संकेत गरेका छन् ।
निष्कर्ष
वर्षारम्भकालिक संवत्सर, ग्रहपरिषद् तथा अन्य अनेकौं आधार र तिनको स्थितिका आधारमा वर्ष विश्लेषण गरिएको छ । उपर्युक्त विभिन्न तŒवले संकेत गरेअनुसार यस वर्ष निम्न फल निर्दिष्ट देखिन्छ ।
(१) राजनीतिक परिवर्तन, राजनीतिक मतभेद, सत्तापरिवर्तन, असन्तुलित वर्षा, महँगी, भूकम्प आदि प्राकृतिक प्रकोप
(२) जनक्षयकारक परिस्थिति, आक्रमणका विभिन्न स्वरूप, दुर्घटना, दुर्भिक्ष, अग्निभय, विष्फोट र शोक हावाहुरी, तुफान, भूकम्प आदि
(३) अन्न भण्डारण गर्नेबेलामा हानि, विभिन्न उपद्रव आदि अनिष्टका संकेतहरू देखापर्ने देखिन्छ
(४) थप प्रतिकूलतामा वैशाखसम्म बढी र जेठसम्म पनि हिंसा, आन्दोलन, आघात, अशान्ति आदि उपर्युक्त अशुभता वृद्धि र आन्तरिक क्षतिमा राज्याधिकारीको मदान्धताले पूर्ण मलजल गर्ने लक्षण देखिन्छ
(५) शुभफलमा पेयजल र वर्षा समुचित, कृषि, वनस्पति, जडीबुटी आदिको प्रशस्तता, तीव्र वर्षा, वायुवेगद्वारा वर्षेको वर्षाले जलपूरण हुने देखिन्छ
(६) समग्रमा अग्रसरत शुभ फललाई अशुभताले पनि निरन्तर पछ्याउँदै गरेको देखिनेछ
परामर्श
(१) अन्नबाली राम्रो भए पनि स्याहार्ने बेला र भण्डारण गर्ने समय प्रतिकूल देखिएकाले त्यसको रोकथाम र अन्नबाली सुरक्षणका लागि राज्यका सम्बद्ध निकायले बेलैमा त्यसको अग्रीम व्यवस्था गर्नु आवश्यक छ ।
(२) गर्नसक्ने क्षमता र ओहदा हुँदाहुँदै पनि सत्तासम्बद्ध पक्षद्वारा आमनागरिकको भावना र संवेदनालाई बेवास्ता गरिनु दुर्भाग्यपूर्ण हुनेछ । अतः सरोकारवाला पक्षले मदान्धपूर्ण हठता त्यागेर नेपाली आमनागरिकको जीउ, धनको सुरक्षा र भावनाको सम्मान र कदर गरून् ।
(३) लोकतन्त्र र नागरिक हकको पूर्ण सम्मान गर्न सरकार कतै नचुकोस् । यसैमा सबैको भलो हुनेछ ।