काठमाडौं । गायिका मेनुका पौडेलको स्वरमा नयाँ गीत बदमास…सार्वजनिक भएको छ । काठमाडौँमा एक समारोहबिच बुधवार बेलुका यो गीतको भिडियो सार्वजनिक गरियो ।
यो गीतको रचनाकार सुन्दर राजभण्डारी हुन् । जसमा न्ह्यू बज्राचार्यको संगीत रहेको छ । यो गीतको संगीत संयोजक गोपाल रसाइलीले गरेका हुन भने यसको कार्यकारी निर्माताको रूपमा विक्रान्त मान श्रेष्ठ रहेका छन् ।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै कवि विप्लव प्रतीकले मेनुकाको स्वर उत्कृष्ट भएको र गीत अनुसारकै भिडियो बनेको बताए । उनले गीतकार राजभण्डारीको शब्द र बज्राचार्यको संगीतको पनि प्रशंसा गरे ।
यसका संगीतकार न्हु बज्राचार्यले शास्त्रीय भावको गीतका लागि मेनुका उत्कृष्ट भएकाले यसमा गायनको लागि मेनुका रोजेको बताए । गीतलाई मेनुकाको स्वरले न्याय गरेको उनको कथन थियो ।
गीतकार सुन्दर राजभण्डारीले आफू प्रत्येक वर्ष दुई वटा गीत सार्वजनिक गर्ने योजनामा अनुसार यो गीत ल्याएको जानकारी गराए ।
शस्त्रीय भावको यो गीतको भिडियो पनि सोही अनुसारको बनाइएको छ । नाम्लो इभेन्ट्सको प्रस्तुतिमा यो गीतको भिडियो तयार गरिएको छ । भिडियोलाई अभिनेता विमलेश अधिकारीले निर्देशन गरेका हुन् ।
यो गीतको भिडियोमा मोडल सनिषा भट्टराई र विजु पार्कीको अभिनय रहेको छ । सनिषाको प्रेम प्रति विजु आकर्षित भएको कथा यो गीतको भिडियोमा प्रस्तुत गरिएको छ । शास्त्रीय भावमै तयार गरिएको यो गीत नृत्य प्रधान रहेको छ ।
भिडियोको कोरियोग्राफी करण शाहले गरेका हुन् । जसमा हरि हुमागाईँको छायांकन, प्रवीण मानन्धरको सम्पादन र दिपेन गौतम ‘माइकल’को प्रोडक्सन व्यवस्थापन रहेको छ ।






