तनावमा प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली तनावमा छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा बढेको सक्रियतादेखि थरीथरीका आन्दोलन एवं सत्तारूढ दल नेपाली कांग्रेसभित्रैबाट भइरहेको सरकारको आलोचनाका साथै सरकार परिवर्तनको चर्चाले ओलीको तनाव दिनप्रतिदिन बढ्दो छ ।

पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा आगमनदेखि सरकार ढल्नेसम्मको डर

अहिले काठमाडौंमा दिनहुँजसो आन्दोलन भइरहेको छ । शिक्षक, सहकारीपीडित, कुलमान घिसिङ पक्षधरदेखि राजावादीहरूको राजा फर्काउने आन्दोलनको सरकारले सामना गर्नुपरिरहेको छ । सत्तारूढ दल कांग्रेसका नेताहरूबाट सरकारको बचाउ हुनुको साटो निरन्तर आलोचना भइरहेको छ ।

दोहोरो दबाबमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा उपचारका लागि थाइल्यान्डको बैंकक पुगेका छन् । १७ वैशाखमा बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकले के निर्णय गर्नेतर्फ धेरैको ध्यान तानेको छ । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइराला, एनपी साउदसहितका नेताहरूले सरकारको कार्यशैलीलाई लिएर आलोचना गर्दै आएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’लाई पार्टीमा उपाध्यक्षको जिम्मेवारी दिएका छन् । पार्टीको बैठकमा आमन्त्रित सदस्यको रूपमा सहभागी हुँदै आएका पुन अहिले प्रचण्डसँगै जनतासँग माओवादी तराई मधेश अभियानमा सक्रिय छन् ।

भण्डारी पूर्वराष्ट्रपति र पुन पूर्वउपराष्ट्रपति हुन् । दुवै जना दुई कार्यकाल अर्थात् ९ वर्षसम्म जिम्मेवारीमा थिए । पुनलाई सक्रिय राजनीतिमा भूमिका दिएर प्रचण्डले भण्डारीलाई पनि सक्रिय राजनीतिमा आउन सजिलो बनाइदिएको पनि चर्चा भइरहेको छ । कतिपय नेताले प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका नेताकै योजनामा भण्डारीलाई एमाले नेतृत्वमा ल्याएर नेकपा ब्युँत्याउन खोजिएको समेत विश्लेषण हुँदै छ । उच्च स्रोतका अनुसार यसबीचमा भण्डारी, नेपाल र प्रचण्डको भेटघाटसमेत भएको बताइएको छ ।

यी र यस्तै तनाव एवं झमेला झेल्दै आएका एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई पूर्वराष्ट्रपति भण्डारीको सक्रियताले समेत झन् तनाव बढाएको छ । भण्डारीलाई सक्रिय राजनीतिमा नआइदिए हुन्थ्यो भन्ने ओलीको चाहना छ । तर, प्रचण्ड र नेपालले भण्डारीलाई जबरजस्ती सक्रिय राजनीतिमा धकेल्न खोजेको चर्चा चलिरहेको छ ।

कतिपय एमालेकै नेताले समेत भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन खोजेको बताइन्छ । एमालेभित्र अध्यक्ष ओलीबाट हेपिएका, पेलिएका, किनारा पारिएका, १० भाइ भनेर चिनिने समूहसमेत अहिले भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन दौडधुप गरिरहेका छन् ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङका साथै नेताहरू कर्णबहादुर थापा, गोकुल बास्कोटा, आनन्द पोखरेल, खगराज अधिकारी, कृष्ण राई, डोरमणि पौडेल, विनोद ढकाललगायत नेताले भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन खोजेको बताइन्छ ।

गत माघमा कोशी प्रदेशको राजधानी विराटनगर पुगेकी भण्डारीले आफू एमाले अध्यक्ष बन्ने सम्भावना टरिनसकेको खुलासा गरेकी थिइन् । विराटनगर पुगेर उनले झन् सक्रिय राजनीतिमा आउन लागेको अभिव्यक्ति दिइन् । एक साता विराटनगरमै बसेकी भण्डारीले त्यहाँ बसेर पूर्वमा आफ्नो प्रभाव बढाउने गरी राजनीतिक भेटघाट गरिन् ।

त्यसपछि लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशको भ्रमण गर्दै उनले राजनीतिक भेटघाट गरेकी थिइन् । राजधानीमा रहँदा पनि बुढानीलकण्ठस्थित निवासमा लगातार राजनीतिक भेटवार्ता चल्दै आएको छ । उनले आफू निकट नेतासँग भेटघाट गर्दै पार्टीभित्र दबाब सिर्जना गर्न भन्दै हौसाउने काम गर्दै आएकी छन् ।

‘राष्ट्रपति पद गैरराजनीतिक होइन, राष्ट्रिय राजनीतिमा म सक्रिय नै छु,’ विराटनगर पुगेकी भण्डारीले भनेकी थिइन्, ‘राष्ट्रिय राजनीतिका समग्र एजेन्डामा सबै पक्षसँग छलफल गरिरहेकी छु, शिक्षा, स्वास्थ्य, खानेपानी, जलवायु परिवर्तन, वैदेशिक रोजगारीमा जानुपर्ने युवाको बाध्यताजस्ता समस्या समाधानका लागि छलफल चलाइरहेकी छु ।’

एमाले अध्यक्ष हुनेगरी नै सक्रिय राजनीतिमा आउन लागेको भन्ने’boutमा भण्डारीले भनेकी थिइन्, ‘जहाँसम्म दलीय राजनीतिमा लागेर पदीय जिम्मेवारी लिने कि नलिने भन्ने कुरामा मैले अहिले प्रवेश गरेकी छैन, भोलि कुन दलमा काम गर्ने भन्ने कुरा पनि आउँछ, भोलि जाँदा एमालेबाटै जन्मेर हुर्केर आएको हुनाले त्यहीँ जानुपर्ने हुन्छ तर अहिले छलफल भएको छैन ।’

भण्डारी निकट नेताहरू दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारी अब एमाले अध्यक्ष बन्ने गरी राजनीतिमा आउने तयारीमा रहेको बताउँछन् । ‘तत्काल व्यक्त नगरे पनि भेटघाटको उद्देश्य सक्रिय राजनीति नै हो । परिस्थिति मिलेपछि उहाँ सक्रिय हुनुहुन्छ,’ भण्डारीनिकट एक नेताले भने ।

यस्तै, भण्डारीले नयाँ वर्ष २०८२ को आफ्नो शुभकामना सन्देशमा देशको राजनीतिक परिस्थिति र त्योभन्दा बढी एमालेको समीक्षा गरेपछि त्यसले झन् चर्चा पाएको छ । यतिबेला एमाले र राष्ट्रिय राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सो वक्तव्यलाई चासोका साथ हेरिएको छ ।

भण्डारीले आफू सक्रिय राजनीतिमा आउँदै गरेको प्रस्ट सन्देश मात्रै दिएकी छैनन्, वर्तमान नेतृत्वमाथि पनि प्रश्न पनि उठाएकी छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि देशको कायापलट हुने विश्वास हामीले जनतालाई दिलाएका हौं, खोजेको व्यवस्था प्राप्त भएपछि पनि जनताको जीवन स्तरमा महŒवपूर्ण परिवर्तन किन हुन सकिरहेको छैन ? यस्ता प्रश्नमा अब चिन्ता मात्र प्रकट गरेर जनताको सहानुभूति बटुल्न खोज्नुभन्दा निर्मम आत्मसमीक्षा गर्दै फेरि पनि निरन्तर इमानदार प्रयास गर्नुको विकल्प छैन,’ भण्डारीले शुभकामना सन्देशमा भनेकी थिइन् ।

वक्तव्यको निचोडमा भने भण्डारीले एमालेको सक्रिय राजनीतिमा आफू सामेल भइसकेकै सन्देश दिँदै भनेकी छन्, ‘नयाँ वर्षको आगमनसँगै हामी सबैले जनताका समस्यालाई टुलुटुलु हेरिरहने र समाधानका प्रयासबाट आफूलाई अलग राख्ने प्रवृत्ति त्याग्नैपर्छ । यो नयाँ वर्ष नवीन आशा र विश्वासको दियो बाल्ने वर्ष बन्नुपर्छ, समृद्धिको द्वार खुल्ने ऐतिहासिक वर्ष बन्नुपर्छ ।’

पूर्वराष्ट्रपति भण्डारीनिकट नेताहरूले शुभकामना वक्तव्यलाई राजनीतिक सन्देशकै रूपमा आएको स्वीकार गरेका छन् । भण्डारीनिकट एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले नयाँ वर्षको शुभकामना वक्तव्यमा उल्लेख गरिएको राजनीतिक भाषालाई पनि पूर्वराष्ट्रपति भण्डारी एमाले नेतृत्वमा आउँदै गरेको सन्देशकै रूपमा बुझ्नुपर्ने तर्क गरे ।

‘पूर्वराष्ट्रपति विद्या भण्डारीले देश, जनता र राजनीतिका ’boutमा गरेको चिन्तालाई सकारात्मक रूपमै लिनुपर्छ । कसैले पनि यसलाई धेरै शंकाका दृष्टिले हेर्न जरुरी छैन । पार्टी थप एकताबद्ध र कम्युनिस्ट आन्दोलन अगाडि बढ्ने अवस्था आउँछ भने पूर्वराष्ट्रपतिलाई नेतृत्वमा स्वागत गरेर जानुपर्छ । पार्टी एकताबद्ध बनाएर लैजानुपर्नेछ, त्यस्तो पात्र एमालेमा केपी शर्मा ओलीपछि विद्या भण्डारी नै हो,’ थापाले भने ।

अहिले नेपालको विभिन्न क्षेत्रमा पुगेर भेटघाट र छलफल गरेकी भण्डारी छिटै नै भारत र चीनको भ्रमणमा समेत जान लागेको बताइन्छ । भण्डारी स्वयंले समेत भारत र चीनको भ्रमण गर्ने एक अन्तर्वार्तामा बताइएकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 317 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा २८ र उपमेयरमा ११ को मनोनयन