काठमाडौं । हास्य अभिनेता केदार प्रसाद घिमिरे (माग्ने बुढा) सोमबार एक समारोहमा बोल्ने क्रममा भावुक भए । उनको छोरा आशिष घिमिरेले शीर्ष भूमिका निर्वाह गरेको चलचित्र ‘होस्टेल ३’को सफल प्रदर्शनीको ५१ दिन मनाएको छ । सोही अवसरमा राखिएको शुभकामना आदन प्रदान कार्यक्रममा आफ्नो छोरालाई प्रमाणपत्र दिएर मन्तव्य राख्ने क्रममा उनी भावुक बनेका हुन् ।
कार्यक्रममा उनले भने,‘आफ्नो छोराछोरीले प्रगति गर्दा अत्यन्त खुसी लाग्दो रहेछ । यदि मेरो छोराको यो चलचित्र ठिकै चलेको भए पनि म खुसी नै हुन्थेँ, तर आज छोराको पहिलो चलचित्रले नै ५१ दिन मनाउँदा ममा खुसीको सीमा छैन,’ यो चलचित्रको सफलताले आफ्नोसँगै धेरैका छोराछोरीहरुको पहिलो चलचित्र नै हिट भएको पनि उनले बताए ।
कार्यक्रममा बुबाको हातबाट सफलताको प्रमाणपत्र लिएका आशिष घिमिरेले पनि पहिलो चलचित्रले नै ५१ दिन मनाउँदा आफुलाई अभिनयमा अघि बढ्न थप प्रेरणा मिलेको बताए । घरमा बुबा आमा नै कलाकार भएकाले चलचित्रमा काम गर्न सजिलो भएको अनुभव पनि उनले सुनाए । चलचित्र होस्टेल ३ ले काठमाडौँको न्युरोड स्थित रञ्जना चलचित्र घरमा सफल प्रदर्शनीको ५१ दिन मनाएको हो । गत २३ फागुनमा यो चलचित्र रिलिज भएको थियो ।
आशिष सहित सबै जसो नयाँ कलाकारलाई लिएर होस्टेल ३ निर्माण गरिएको हो । प्रेम कथामा आधारित यो चलचित्र करिब २ करोडको बजेटमा बनेको थियो । बक्स अफिसको रिपोर्ट अनुसार होस्टेल ३ ले नेपालका चलचित्र घरमा करिब ४ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । तर यसले ५ करोडको व्यापार गरेर हिट भएको निर्माण पक्षको दाबी छ । डिजिटल राइट, अन्तर्राष्ट्रिय बजारको व्यापारलाई जोड्दा आफूहरूले राम्रो मुनाफा कमाएको यो चलचित्रको निर्माण पक्षले सोमबार कार्यक्रममा जानकारी गरायो । यो चलचित्रको सफलताले आफूहरूलाई अर्को चलचित्र निर्माणको लागि प्रेरणा मिलेको यसका निर्देशक सशान कँडेलले कार्यक्रममा बताए । कँडेलको निर्देशनको यो पहिलो चलचित्र हो ।
सोमबार ५१ दिनको सफलता कार्यक्रममा यो चलचित्रका निर्माता, निर्देशक, कलाकार, प्राविधिक तथा सहयोगीहरूलाई प्रमाणपत्र प्रदान गरियो । यो चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुलीलगायतका कलाकारको मुख्य भूमिका छ । यी सबै नयाँ कलाकार हुन् । माधव शर्माको पटकथा तथा संवाद रहेको होस्टेल ३ का निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् ।






