रिर्पोटरको डायरीबाट
जुम्ला । समयको चक्रले सुखदुखको फन्को लगाइरह्यो, खोप्रीमा । पत्तै भएन खोप्रीबासीलाई कतिपल्ट घामको बुइ चढेर हिँउद आयो अनि बादलको काखमा बसेर वर्षा । बर्षिरह्यो बेलाबेला हिउँ, पानी र असिना । झरिरहे, रुखो जमिनमा कोणधारी विरुवाका तीखा पातहरु । कतिपल्ट सुकायो खोप्रीको गाउँ वरिपरि फूलेका लालीगुँरासहरु । तर पनि वसन्त आउँदा फुलिरहे, नयाँनयाँ लालीगुँरासहरु । चिलिभिँडको फेदहुँदै उकालीमा भारी बोक्दै कति वर्ष विते कसैले कुनै खातामा हिसाब राखेन । रुखो जमिनले जेनतेन दिइरह्यो गहुँ, जौं, मकै र आलु ।

वन जँगललाई सुरक्षा दिए, यसको बदलामा खोप्रीबासीले पाइरहे बहुमूल्य जडिबुटी साथमा घाँस दाउरा, स्याउला सोत्तर । त्यसो त यहाँका नागरिकले राज्यलाई कर दिइरहे । आखिर राज्यबाट उनिहरुले के पाए ? अहिलेको गम्भिर सवाल यहि हो । खोप्रीबासीको जीवनमा सन्तोषका दिन थोरै आए, दुखका पल धेरै । तिला गाउँपालिका वडा नम्वर ९ मा पर्ने २ वटा बस्ती तल्लो खोप्री र माथिल्लो खोप्री आधारभूत सुविधा बाट पनि बञ्चित छन् । गाउँमा न सडक पुगेको छ, न विजुली । तर यति बिघ्न कठिन जीवन बाँचिरहेका खोप्रीबासी सँग एउटा अनमोल खजना छ, त्यो हो नदै गुफा । यो लेखमा आज यहि नदै गुफा’bout चर्चा गरिएको छ ।
नदै गुफा पुग्न जुम्ला खलंगाबाट आधा घण्टा मोटरयात्रा गरेर तिला नदिसँग बिदा लिदै भेरिखोलाको फेरो समात्नु पर्छ । थप आधा घण्टा मोटरमा भेरिखोलाको किनारै किनार यात्रा गरेपछि सुर्कि गाउँको कंयरकोट पुगिन्छ । यहि कंयरकोट हो, जहाँबाट खोप्रीको उकालो सुरु हुन्छ । गोठडाँडाको उकालो पार गरिसकेपछि बाटो भरि लालीगुराँसका रुखहरु स्वागतका लागि दाँयाबाँया लस्करै उभिएको झैं आभास हुन्छ । खास्सै मान्छे आवतजावत विरलै हुँदा बाटो सुनसान देखिन्छ । तर थरिथरि चराको चिरविर आवाजले भने मनलाई आनन्द दिएकै हुन्छ । न्याउली चरिले वेदना पोखिरहेकै हुन्छ ।

झण्डै साढे २ घण्टा पछि माथिल्लो खोप्री पुगिन्छ । सानो चिटिक्क परेको गाउँमा पुग्ना साथ आँखैमा टासिन आउन्छन्, सेता हिमशृङ्खलाहरु । गाउँबाट आधा घण्टा हिडेपछि पुगिन्छ, धर्ति भित्रको धर्ति अर्थात नदै गुफामा । झण्डै २ सय मिटरको प्राकृतिक सुरुङ भित्र छिर्नासाथ नयाँ संसारमा पुगे झैं महसुस हुन्छ । हजार्रौ गौथलीका गुँडहरु भेटिन्छन्, गुफाभित्र । चारैतिर टाँसिएका गुँडबाट गौथली भुरभरु गर्दै खुला संसार (बाहिर) तिर उडान भर्छन । अनौठा र चाखलाग्दा ढुंगाहरुमा विभिन्न देवी देवताका मुर्ति झैं आकृति देखिन्छन् । गुफा निकै लामो भएकोले एक्ले आवतजावत गर्न जो कोहिको मुटु काँप्ने गर्छ ।
जब चट्टानै चट्टानको बिचमा गाईको थुन जस्तो आकृतिबाट तप्प तप्प दुध चुहिएझै पानी झर्छ तब आश्चर्यको ग्राफ अझ बढ्छ । गुफा पार गरिसकेपछि एउटा बडेमानको ओडार भेटिन्छ, जहाँ सिमेन्टेट जस्ता देखिने प्राकृतिक पिल्लरहरु खडा छन् । बिचमा प्रकृतिले नै सिंगारिदिएको ढोका छ । जसबाट वरिपरि गर्न सकिन्छ । गुफा भित्रका चट्टानमा हिर्काउदा मादलको जस्तो ध्वनी निस्कन्छ, अनि कुनाकाप्चामा गुञ्जायमान हुन्छ ।
यो क्षेत्रमा २ सय मिटरको ठुलो गुफा सहित तिन वटा गुफा छन् । अर्को सानो गुफाभित्र पानीको तलाउ छ । जहाँ नदै देविको मन्दिर पनि छ । एक शान्त, सुन्दर र आश्चर्यको पर्यापवाची नाम हो, नदै गुफा भन्दा अतियुक्ति नहोला । तर अपसोच यहि नदै गुफा’bout धेरै मान्छे अन्जान छन् । एक हिसाबले अहिले सम्म यो गुफा गुमनाम जस्तै रह्यो । यो गुफासम्म पुग्ने सडक निर्माण भए आन्तरिक र बाह्य पर्यटकको घुँइचो लाग्ने कुरामा दुइमत छैन । पर्यटकीय क्षेत्र बन्न सक्ने प्रचुर सम्भावना छ । दुबै बस्ति लाई होमस्टेका रुपमा विकास गर्न सकिने देखिन्छ ।
