काठमाडौं । गण्डकी प्रदेशमा सहकारी सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रदेशस्तरीय एक दिवसीय अभिमुखीकरण गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा भएको कार्यक्रम महासंघका अध्यक्ष तथा संविधानसभा सदस्य ओमदेवी मल्लको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन पूर्वमन्त्री एवं महासंघका सल्लाहकार खगराज अधिकारीले गरेका थिए । उद्घाटन सत्रमा अधिकारीले विगतमा देखिएका प्राकृतिक विपद्, भूकम्प र कोभिड महामारी, अन्तर्राष्ट्रिय व्यापार प्रणालीमा आएको अवरोधका कारण सहकारी क्षेत्र पनि प्रभावित भएको उल्लेख गरे ।
त्यस्ता असहज परिस्थितिलाई आधार बनाएर समग्र सहकारी अभियानलाई दोष दिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै सहकारीप्रति नकारात्मक दृष्टिकोणले समस्यालाई थप जटिल बनाएकोमा ध्यानाकर्षण गराए ।
उनले सहकारी आन्दोलनलाई थप प्रभावकारी बनाउन सबै सरोकारवाला एकजुट हुन आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रमको उद्देश्य’bout प्रकाश पार्दै महासंघकी अध्यक्ष ओमदेवी मल्लले संघीय संरचनामा तीनै तहका सरकार, महासंघ, केन्द्रीय संघ तथा जिल्ला संघहरूबीच सहकार्यमा आधारित सुशासन प्रणाली आवश्यक रहेको बताइन् । गण्डकी प्रदेशमा सहकारी अभियानलाई उदाहरणीय बनाउने अवसर रहेको उल्लेख गर्दै उनले सहकारी ऐनको प्रभावकारी कार्यान्वयनमा जोड दिइन् ।
महासंघका पूर्व अध्यक्ष मीनराज कँडेलले सञ्चालनमा समस्यामा रहेका सहकारी संस्थाहरूलाई पहिचान गरी प्रभावकारी रूपमा पुनः सञ्चालन गर्न आवश्यक कदम चाल्नुपर्ने धारणा व्यक्त गरे ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव वासुदेव रेग्मीले सहकारी अर्थतन्त्रको अभिन्न हिस्सा भएको उल्लेख गर्दै गण्डकी प्रदेश सरकार सहकारी प्रवद्र्धनका लागि प्रतिबद्ध रहेको स्पष्ट पारे ।
कार्यक्रममा सूचना तथा सञ्चार सहकारी केन्द्रीय संघकी अध्यक्ष मनकुमारी केसीले सहकारी अभियानलाई महिला र युवाको आर्थिक सशक्तीकरणमा केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
कार्यक्रमका विभिन्न सत्रहरूमध्ये विशेष दुई कार्यपत्र प्रस्तुत गरिएका थिए । महासंघका महाप्रबन्धक सुरेश थापाले ‘सहकारी अभियानको नेतृत्वदायी भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
यस्तै, गण्डकी प्रदेश सहकारी विभागका रजिस्ट्रार भेषराज रिजालले ‘सहकारी सुशासन प्रवद्र्धनमा सरोकारवाला निकायहरूको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरे ।
गोष्ठीको अन्तिम सत्रमा ‘सहकारीमा समस्या र समाधानका उपाय’ विषयक प्यानल छलफल सम्पन्न भएको थियो । छलफलमा सचिव रेग्मी, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्बर बहादुर कुँवर, महासंघकी सञ्चालक कमला सुवेदी पौडेल, कास्की जिल्ला सहकारी संघका अध्यक्ष दीपक बास्तोला तथा पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले भाग लिएका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आएका सहकारीकर्मी, प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधि, सरोकारवाला निकाय तथा पत्रकारसहित जम्मा ११७ जनाको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन महासंघकी सञ्चालक हुमाकुमारी जिसी (अन्जु)ले गरेकी थिइन् । समग्र कार्यक्रमले सहकारी सुशासनका लागि नीति, समन्वय र क्षमता अभिवृद्धिमा केन्द्रित पहलकदमीको सन्देश दिएको थियो ।