दुई दशक लगाएर नेपथ्यले बनायो कर्नालीका छाइला गीत

काठमाडौं । लोक पप ब्यान्ड नेपथ्यका गायक अमृत गुरुङले स्कुले जीवनमा चलचित्र माइतीघरको काला कुर्तैले ६ मैने जागिरै खायाँ गीत सुन्दा निकै मन पराएका थिए । गायनमा आएपछि यस्तै टप्पा लयमा एउटा गीत गाउने उनले योजना बुनेको थिए । सो योजना यति बेला पुरा भएकोमा उनी अहिले साह्रै खुसी छन् ।

अमेरिकाको सात सहरमा आफ्नो कन्सर्ट प्रस्तुतिको लागि अमेरिका जानु अघि लोक पप ब्यान्ड नेपथ्यले टप्पा भाकामा आधारित यो नयाँ गीत ‘कर्नालीका छाइला…’को अडियो आफ्नो च्यानलमा सार्वजनिक गरेको छ । यो गीत दुई दशकको खोजी पछि संकलन गरेर दर्शकमाझ ल्याएको गायक अमृत गुरुङले बताएका छन् । यो गीतको लय आफूले दुई दशक अघि नै सुनेका भए पनि यसलाई कर्णाली क्षेत्रमा पुगेर बल्ल संकलन गरेर गीतको रूपमा ल्याएको गायक गुरुङले बताएका छन् ।

‘डोल्पातिरबाट आएका अंगद हमाल र यसका संकलक लक्ष्मीकान्त उपाध्यायको मुखबाट २३ वर्ष अघि यो गीत पहिलो पटक सुन्ने मौका पाएको थिएँ,’ अमृतले यो गीतको ’boutमा भने, ‘त्यसको सात वर्षपछि यो गीतको लय सम्झेर यसलाई मैले आफ्नो स्वरमा रेकर्ड गरेको थिएँ, तर लय र शब्दमा चित्त नबुझेपछि यसलाई फेरी तयार गर्ने योजनासहित मैले त्यति बेला थन्क्याएको थिएँ ।’

अमृतको भनाइमा उनलाई यो भाका यति धेरै मन प¥योकी यो गीतको मौलिक भाका खोज्न त्यसपछि उनले धेरै पटक कर्णाली भेगको यात्रा गरे । गत वर्ष ग्रामीण सांगीतिक भेलामा सहभागी हुन सल्यान पुगेको बेला उनले यो लयलाई त्यहाँ सुन्ने अवसर पाएका थिए । त्यही बसाइमा आफूले यो गीतको मौलिक लय संकलन गरेर ल्याएको पनि अमृतले बताएका छन् ।

‘प्रकृतिसँग मिलेर सुदूर जनजीवनले विकास गरेका भाकाहरूलाई आफ्नो आवाज बनाउने ब्यान्डको अभ्यासबाट यो गीत तयार भएको हो । गीतको भिडियो पनि निर्देशक भूषण दाहालले त्यत्तिकै राम्रो बनाइदिनु भएको छ,’ आफ्नो गीतको ’boutमा अमृतले भने ।

यस अघि यसै गरी रसुवामा पुगेर आफूले भेडाको ऊन जस्तो…गीतलाई संकलन गरेर श्रोतामाझ ल्याएको पनि अमृत गुरुङले स्मरण गरेका छन् । भेडाको उन जस्तो गीतलाई दर्शकलाई जसरी सर्वाधिक रुचाए त्यसै गरी कर्नालीका छाइला गीत पनि दर्शकको रोजाइमा पर्ने यी गायकको विश्वास छ ।

अमृतका अनुसार यो गीत संकलन गर्दा स्थानीय जनजिब्रोका लाइनहरू पर्याप्त भेटिएका थिए । टप्पाका सीमितताले गर्दा तिनै लाइनलाई बलियो आधारसहित धुनमा समेट्न सबैभन्दा बढी मेहनत गर्नुपरेको पनि उनले बताएका छन् । यसरी सल्यान र आसपासका जिल्लामा प्रचलित लोक धुन टप्पामा आधारित रहेर आफूले कर्नालीका छाइला गीत तयार परेको अमृतले जानकारी गराएका छन् । यस पटक अमेरिकाको कन्सर्टमा त्यहाँका सात वटै सहरमा नयाँ गीतको रूपमा कर्नालीका छाइला प्रस्तुत गर्ने योजना पनि उनले सनाए ।

दुई दिन अघि अडियो भर्सनमा रिलिज गरिएको यो गीतलाई सुन्न नेपाल भित्र कम्तीमा १० रुपैयाँ र विदेशमा कम्तीमा एक डलर तिर्नु पर्ने पनि नेपथ्यको कथन छ । अमृतले अमेरिका जानु अघि सोमबार भने,‘हामी नेपथ्य संगीत यात्राका लागि आज अमेरिका प्रस्थान गर्दछौँ । अमेरिका यात्राकै दौरान उपयुक्त समय हेरेर यो गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिने छ,’ त्यसपछि यो गीत सबैले सहजै हेर्न सक्ने पनि उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 106 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण बुधबार