बिजुली आयातभन्दा उच्च दरमा निर्यात गर्न सफल

काठमाडौं । नेपालले रणनीतिक रूपमा ऊर्जाको व्यापार गरी आयातभन्दा उच्च दरमा निर्यात गर्न सफल भएको छ । प्राधिकरणसँग भएका केही जलाशय र अर्धजलाशययुक्त जलविद्युत् आयोजनाहरू भएका कारण सो उपलब्धि प्राप्त गरेको हो ।

भारतको ऊर्जा विनिमय बजार (आईईएक्स) को रियल टाइम बजारमा बिजुलीको मूल्य दिउँसोको समयमा प्रतिमेगावाट घण्टा (एमडब्लूएच) सरदर ७२ पैसा भारतीय रुपैया अर्थात् प्रतियुनिट नेपाली मुद्रामा १ पैसाभन्दा घटीमा झरेलगत्तै आइतबार प्राधिकरणले ३ हजार ८ सय ४० मेगावाट घण्टा (एमडब्लूएच) बिजुली खरिद गरेको थियो । सोही दिन बेलुका प्राधिकरणले भारतलाई भारतीय रुपैयाँ ६ रुपैयाँ ६० पैसामा ५ सय २७ दशमलव ५ मेगावाट घण्टा (एमडब्लूएच) बिजुली निर्यात गरेको थियो ।

पम्प स्टोरेज परियोजना र ब्याट्री ऊर्जा भण्डारण प्रणाली भए थप फाइदा हुने

नेपालले आयात गरेको बिजुली हालसम्मकै कम मूल्यमा आयात गरेको हो । प्राधिकरणले ३ देखि १० जेठसम्म २७ हजार ६ सय ४५ दशमलव ९४७ मेगावाट ऊर्जा औसत ३ रुपैयाँ ३७ पैसा नेपाली रुपैयाँमा आयात गरेको छ भने ८ हजार ४ सय १७ दशमलव ५२५ मेगावाट ऊर्जा औसत ५ रुपैयाँ १५ पैसा नेपाली रुपैयाँमा निर्यात गरेको छ ।

दिउँसोको समय अर्थात् सोलार आवरको समयमा आयातको दर सस्तो हुँदा विद्युत् आयात गरी प्राधिकरणसँग उपलब्ध भएका जलाशय र अर्धजलाशययुक्त जलविद्युत् आयोजनाहरूमा पानी भरिएको थियो र ती आयोजनालाई गैरसौर्य वा उच्च माग हुने समयमा प्रयोग गरिएको थियो । जसले निर्यात मूल्य उच्च राख्न सहयोग गरेको थियो ।

भारतले सन् २०३० सम्म करिब ५ लाख मेगावाटको सौर्य तथा वायु ऊर्जाको उत्पादन लक्ष्य राखेको छ र सोमा द्रुत गतिमा प्रगति गरिराखेको बताइएको छ ।

भारतमा बढ्दो सौर्य तथा वायु ऊर्जाको उत्पादनसँगै नेपाललाई ठूलो अवसर हुने सम्भावना बढेको छ । त्यसका लागि पम्प स्टोरेज परियोजना (पीएसपी) र ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बीईएसएस) प्रभावकारी समाधान हुनसक्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताउँदै आएका छन् ।

दिउँसोको समयमा बिजुली सस्तो हुँदा आयात गरी जलाशय र अर्धजलाशययुक्त जलविद्युत् आयोजनाहरूमा पानी भर्ने तथा ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बीईएसएस)मा ब्याट्री चार्ज गर्ने र बेलुका उच्चतम माग भएको समयमा आन्तरिक आपूर्ति गर्ने र बढी भएको बिजुली उच्च दरमा निर्यातसमेत गर्ने सम्भावना रहेको भनाइ प्राधिकरणको रहेको छ ।

नेपालमा केही पम्प स्टोरेज (पीएसपी) आयोजना अध्ययन चरणमा छन् भने ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बीईएसएस) जस्तो प्रविधिमा पनि खोज र प्रयोग आवश्यक देखिएको छ ।

नेपालको विद्युत् प्रणालीमा पम्प स्टोरेज परियोजना (पीएसपी) र ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बीईएसएस)को टड्कारो आवश्यकता देखिएको बुझाइ प्राधिकरणको रहेको छ ।

नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (इन्डियन इनर्जी एक्सचेन्ज)को डे अहेड ऊर्जा बजारमा पहिलोपटक सन् २०२१ को मे महिना र रियल टाइम बजारमा सन् २०२३ को अक्टोबर महिनादेखि सहभागिता जनाउँदै आएको छ ।

नेपाल विद्युत् प्राधिकरणले दैनिक विभिन्न समयमा हुने विद्युत् माग उतारचढाव र देशको ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकतामा राखी अगाडि बढाउन कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदै पहल थालेको थियो ।

प्राधिकरणअन्तर्गतको आयोजना विकास विभागले देशभरी १ सय ५६ वटा पम्प स्टोरेज आयोजनाहरूको पहिचान गरेको थियो । त्यसमध्ये ४२ हजार मेगावाटका ३३ वटा आयोजनाहरू स्तरीकरण गरिएको छ । रुकुम पश्चिमस्थित स्यार्पु तालमा ३ सय ३२ मेगावाटको पम्प स्टोरेज आयोजनाको सर्वेक्षण अनुमतिपत्र लिई सम्भाव्यता अध्ययन भइरहेको प्राधिकरणले जनाएको छ ।

६ सय ७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाले पनि २ सय मेगावाटको पम्प स्टोरेज आयोजनाको अध्ययन गरिरहेको छ । काठमाडौं उपत्यकाका एवं विद्युत् भार केन्द्रनजिकै, पहुँच सडक, प्रसारण लाइनलगायतका सम्पूर्ण पूर्वाधारको सुगमता रहेको धादिङको बेनिघाट रोराङ र चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने हुग्दी र मोवाखोलामा करिब १ हजार ५ सय ९६ मेगावाटको हुलिङटार–दुकिम पम्प स्टोरेज आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ

आयोजनाका लागि हुग्दी (माथिल्लो क्षेत्र) र मोवा (तल्लो क्षेत्र) खोलामा क्रमशः करिब ४५ र १०३ मिटर अग्लो बाँध बनाई दुईवटा जलाशय निर्माण गरिने योजना रहेको छ ।

पम्प स्टोरेज आयोजनाहरूमा विद्युत्को न्यूनतम माग भएको (अफ पिक) अथवा ऊर्जा न्यूनतम मूल्य भएको समयमा पानीलाई पम्पले तानेर नदीको माथिल्लो भागमा बनाइएको जलाशयमा भण्डारण गरिन्छ । यसरी, भण्डार गरिएको पानीलाई पिक अथवा बढी मूल्य भएको समयमा प्रयोग गरी विद्युत् उत्पादन गरिन्छ । विद्युत् प्रणाली स्थिरता, पिक डिमान्ड एवं खपत गरी बढी भएको विद्युत् (सरप्लस इनर्जी) व्यवस्थापन र ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज आयोजनालाई महत्वपूर्ण मानिन्छ । अफ पिक समयमा पम्प गरी भण्डारण गरिएको पानीको प्रगोगमार्फत पिक समयमा विद्युत् उत्पादन गरी आन्तरिक रूपमा खपत गर्ने र सरप्लस इनर्जीलाई भारततर्फ पिकमा महँगोमा बिक्री गर्न सकिन्छ ।

प्राधिकरणको वर्तमान नेतृत्वले यसका अलावा ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बीईएसएस) लाई जोड दिँदै आएको छ । यसमा ब्याट्रीहरू हुन्छन्, जसले विद्युतीय ऊर्जा खिच्छन् र भण्डारण गर्छन्, जुन आवश्यक पर्दा छोड्न सकिन्छ ।

बीईएसएसको प्राथमिक कार्यहरूमा ऊर्जा आपूर्ति र माग सन्तुलन गर्ने, विद्युतीय ग्रिडलाई स्थिर बनाउने र सौर्य र वायु ऊर्जाजस्ता नवीकरणीय ऊर्जा स्रोतहरूलाई एकीकृत गर्ने समावेश छ ।

ब्याट्री ऊर्जा भण्डारण प्रणाली घरमा प्रयोग हुने पावर बैंकजस्तै हो । यसले दिनमा चार्ज गरी ऊर्जा भण्डारण गर्छ र रातमा शक्ति प्रदान गर्छ । यसले ब्याट्रीहरूमा विद्युतीय ऊर्जा राख्छ र आवश्यक पर्दा शक्ति प्रदान गर्छ ।

ब्याट्री ऊर्जा भण्डारण प्रणालीले विद्युत् आपूर्ति र माग सन्तुलनमा राख्न विद्युतीय ऊर्जा चार्ज गर्ने, भण्डारण गर्ने, रूपान्तरण गर्ने र रिलिज गर्ने काम गर्छ ।

बीईएसएसमा तीन मुख्य कम्पोनेन्टहरू हुन्छन्– ब्याट्री, पावर कन्भर्टर र कन्ट्रोल सिस्टम । ब्याट्री मुख्य घटक हो, जसले विद्युत् ऊर्जालाई रासायनिक ऊर्जामा र यसको विपरीत रूपान्तरण गर्छ । पावर कन्भर्टर भनेको ब्याट्रीलाई ग्रिड वा लोडमा जडान गर्ने इन्टरफेस हो ।

नवीकरणीय ऊर्जा एकीकरणलाई बढाउँदै बीईएसएसले उत्पादन उच्च हुँदा र माग कम हुँदा थप नवीकरणीय ऊर्जा भण्डारण गर्न सक्छ र उत्पादन कम हुँदा र माग उच्च हुँदा यसलाई छोड्न सक्छ । यसले नवीकरणीय ऊर्जाको कटौतीलाई कम गर्न, यसको उपयोग बढाउन र यसको परिवर्तनशीलतालाई सहज बनाउन सक्छ ।

तपाइको प्रतिक्रिया
(Visited 389 times, 1 visits today)

epaper

ताजा समाचार

भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने