काठमाडौं । लकडाउनले बन्द भएका खाद्यवस्तु र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेलगायत ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय भए पनि सरकारी निकायबीच समन्वय अभावले उद्योग सञ्चालनमा ल्याउन समस्या देखिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग सञ्चालनका लागि सहजीकरण गरेको भए पनि गृह मन्त्रालयसँगको राम्रो समन्वय नहुँदा उद्योग सञ्चालन गर्न समस्या भएको उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताइन् । अध्यक्ष राणाका अनुसार बन्द भएका उद्योग सञ्चालन गर्न आउँदा स्थानीय प्रहरी प्रशासनले उद्यमीलाई बन्द गर्न लगाउने गरेका छन् । उद्योगमा काम गर्न आउने मजदुरलाई समेत बाटो बोटामा प्रहरीले रोक्ने काम भएको अध्यक्ष राणाले बताइन् । केन्द्र र स्थानीय तहसँगको राम्रो समवन्य नहुँदा उद्योग सञ्चालन गर्न समस्या भएको उनले बताइन् ।
अध्यक्ष राणाले भनिन्, ‘सामान ढुवानी गर्नेदेखि लिएर मजदुरलाई काम गर्न आउन समस्या भएको छ । एक ठाउँबाट अर्काे ठाउँमा जान नदिएको उद्यमीले गुनासो गरी रहेका छन् । यस्तो अवस्थामा कसरी उद्योग सञ्चालन गर्न कठिन भएको राणाको भनाइ छ । महासंघ अध्यक्ष राणाले भनिन्, ‘खाद्य वस्तु र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्ने केही उद्योग लकडाउनबीचमै सञ्चालन छन् । बुधबारको मन्त्रिपरिषद्को निर्णयले सञ्चालन ल्याउन भनिएका उद्योग सञ्चालन सहज अवस्था छैन ।’ उद्योग सञ्चालन गर्न कच्चा पदार्थ आयात गर्नुपर्नेहुन्छ । कच्चा पदार्थ ढुवानीमा समस्या छ । उद्योग सहज रूपमा सञ्चालन ल्याउन सरकार र सरकारबीच राम्रो समवन्य हुनुपर्छ ।
उद्योगलाई पूर्णरूपमा सञ्चालन ल्याउन सरकारले सहज वातावरण बनाउनुपर्ने अध्यक्ष राणाको भनाइ छ । कोरोना भाइरसले उद्योग, पर्यटन व्यवसायी क्षेत्रमा ठूलो असर भएको कारण उद्योगीसँग श्रमिकलाई चैत महिनाको ५० प्रतिशत ज्याला दिन पनि समस्या भएको राणाले बताइन् । कोरोनाले थला परेका उद्योगलाई पनरोत्थान गर्न सरकारले राहतका प्याकेज ल्याउनुपर्ने उनको भनाइ छ ।
अन्य देशले निजी क्षेत्रका लागि राहत प्याकेज ल्याइसकेको भए पनि हाम्रो सरकारले आजसम्म निजी क्षेत्रलाई प्रोसाहन हुने राहत प्याकेज नल्याएको उनले बताइन् । आउने बजेटमा निजी क्षेत्रको पुनरोत्थान हुनेगरी बजेट ल्याउनुपर्ने उनको भनाइ छ । नेपाल उद्योग परिसंघका अध्यक्ष शतिसकुमार मोरले शुक्रबारदेखि विस्तारै उद्योग सञ्चालन आउन थालेको बताए । कोरोनामा बन्द उद्योग बिस्तारै सञ्चालन आउने उनले बताए । तर, क्रमशः उद्योग सञ्चालन हुने क्रम बढेको भए पनि श्रमिक अभाव भएको बताए । घर गएका श्रमिक फर्काउन समस्या भएको उनले बताए । श्रमिकलाई पुनः काम ल्याउन सरकारले सहज वातावरण बनाउनुपर्ने अध्यक्ष मोरको भनाइ छ ।
केही उद्योग सञ्चालन आए पनि केही उद्योग सञ्चालन ल्याउन समस्या भएको उनले बताए । श्रमिकदेखि बजारको पनि समस्या भएको बताए । अध्यक्ष मोरले भने, ‘खाद्यवस्तु र अत्यावश्यक औषधिजन्य वस्तुको बजार माग भए पनि वस्तुको बजार माग नै नहुँदा उद्योग सञ्चालन हुन सकेका छैनन् ।’






