धनगढी । २४औँ सत्याग्रहमा रहेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको छ । डा. केसी तीन दिनदेखि स्वास्थ्य क्षेत्रको सुधारको माग राखेर धनगढीमा अनशनरत रहेका छन् ।
शनिबार बिहान धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाको २११ नं. कोठामा अनशनरत डा. केसीलाई सेती अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले परीक्षण गरेका थिए ।
परीक्षणमा डा. केसीको रक्तचाप ११०/९० र रगतमा सुगर ५० पाइएको थियो। सुगर अत्यन्त न्यून भएकाले स्वास्थ्य अवस्था जटिल बन्दै गएको भन्दै चिकित्सकले उनलाई तत्काल आईसीयूमा उपचार गर्न सुझाव दिएका थिए । सोही अनुसार उनलाई अस्पताल लगिएको हो ।
डा. केसीका सहयोगी डा. अमृत जैशीका अनुसार स्वास्थ्य बिग्रिँदै जाँदा मांसपेशी बाउडिने, बोल्न असहज हुने, खुट्टाको शल्यक्रिया गरेकाले हिँडुल गर्न कठिन हुने र शौचालय जानसमेत समस्या भएको थियो ।
डा. केसी बिहीबारदेखि पाँचबुँदे माग राखेर सत्याग्रहमा बसेका हुन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार साँझ डा. जैशीसँग र राति करिब ११ बजे स्वयं डा. केसीसँग टेलिफोनमा कुरा गरेका थिए । संवादमा मन्त्री पोखरेलले सरकार माग सम्बोधन गर्न प्रतिबद्ध रहेको बताएका थिए ।
डा. केसीले आफ्ना पाँच मागसँगै शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ३०० शैयाको अस्पताल सञ्चालन, चिकित्सा शिक्षाको अध्ययन थालनी र स्वार्थप्रेरित उपकुलपति तथा रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने मुख्य अडान राखेका थिए ।
मन्त्री पोखरेलले माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने र सम्भव भए आफैँ धनगढी आउने प्रतिबद्धता जनाएको डा. जैशीले बताए ।

सम्बन्धित समाचार
उद्यमी अस्मिनकुमार राउतद्वारा आत्मदाहको प्रयास
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका उद्यमी राउतको निधन
गणेश आत्मदाह प्रकरणः महानगरले गर्यो क्षतिपूर्ति र रोजगारीको ग्यारेन्टी
बौद्धमा महिलाद्वारा आत्मदमाह प्रयास, कीर्तिपुरस्थित बर्निङ अस्पतालमा उपचार जारी
घरायसी विवादपछि बन्जिसाइड भिरबाट हाम फाले युवक, सशस्त्र प्रहरीद्वारा १३० मिटर तलबाट शव निकालियो
सुकुम्बासीलाई गृहजिल्ला फर्काउँदै सरकार
विद्युत् प्रसारण लाइनको तार छोएर दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार क्षतिपूर्ति
६ लाख ६५ हजार रुपैयाँसहित नेपाल सरकारका उपसचिव पक्राउ






