विश्वकै सबैभन्दा ठूलो थांकाको विषयमा बौद्ध महासंघको चासो

काठमाडौं । नेपाल बौद्ध महासंघले गत १५ वैशाखमा प्रहरी प्रशासनबाट हस्तक्षेप गरी लगिएको विश्वकै सबैभन्दा ठूलो थांकाको विषयमा चासो प्रकट गरेको छ । महासंघका अध्यक्ष नुर्बु थुन्डु शेर्पा (गेशे थुप्तेन जिन्पा)द्वारा जारी विज्ञप्तिमा सबैभन्दा ठूलो थांका गत १५ वैशाख बिहान प्रहरी प्रशासनद्वारा संरक्षित स्थानबाट हस्तक्षेप गरी लगेको र कहाँ लिएर गएको भन्ने विषयमा समेत कुनै जानकारी नदिएको उल्लेख छ ।

नेपालमा जन्मिएका शाक्यमुनि बुद्धको जीवनदर्शन, शान्ति सन्देश तथा पवित्र बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वभर प्रचार–प्रसार गर्ने मूल उद्देश्यका साथ नेपाल बौद्ध धर्म संरक्षण समितिका अध्यक्ष सूर्यबहादुर थकालीको नेतृत्वमा विभिन्न देशका श्रद्धालु भक्तजनहरूको समन्वयमा सन् १९९२ देखि निरन्तर परिश्रम, त्याग र समर्पणवाट सो थांका निर्माण गरिएको थियो ।

सो थांका शाक्यमुनि बुद्धको जीवन दर्शनमा आधारित अत्यन्त महत्वपूर्ण धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदा भएको विज्ञप्तिमा उल्लेख छ । नेपाल बौद्ध धर्म संरक्षण समितिका अनुसार यसको निर्माण कार्य सन् १९९४ मा नेपालमा प्रारम्भ भई जापानी नागरिक यासुतादा कातागिरीको समन्वय र १६ भन्दा बढी देशका बौद्धमार्गी तथा स्वयंसेवकहरूको सक्रिय भावनात्मक तथा भौतिक योगदान सम्पन्न भएको थियो ।

त्यसपछि सो थांका विभिन्न देशमा प्रदर्शनी गरी १० फागुन २०७३ मा नेपाल ल्याई श्रद्धालु भक्तजनहरूलाई दर्शनका लागि प्रदर्शन गराई समितिको संरक्षणमा राखिएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाल सो विषयमा उच्च अदालत पाटन र सर्वोच्च अदालतमा रिट विचारानधीन रहेकाले नेपाल बौद्ध महासंघ नेपालको न्याय प्रणाली, कानुनी प्रक्रिया र संवैधानिक व्यवस्थाप्रति पूर्ण सम्मान प्रकट गर्दछ, तथापि यसबीचमा थांका नियन्त्रणमा लिइएको प्रक्रियाले धार्मिक तथा सांस्कृ तिक संवेदनशीलता, ऐतिहासिक योगदान र सम्पदाको संरक्षणप्रति प्रश्न खडा भएको देखिन्छ ।’

नेपाल बौद्ध महासंघले यस विषयमा भनेको छ, ‘ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्पदा थांकाको संरक्षण र व्यवस्थापन सम्बन्धित सरोकार संस्था नेपाल बौद्ध धर्म संरक्षण समिति र सूर्यबहादुर थकालीको स्वामित्वमा रही संरक्षण हुने व्यवस्था होस् ।’

महासंघले अघि भनेको छ, ‘जबसम्म अदालतबाट निष्पक्ष निर्णय आउँदैन, तबसम्म कुनै पक्षबाट गरिने हतारोपूर्ण कारबाही वा हस्तक्षेपले धर्म संस्कृतिप्रति संवेदनशील समुदायमा भ्रम उत्पन्न हुनसक्ने भएकाले सोप्रति विशेष सतर्कता अपनाइयोस्, नेपालको संविधानले प्रत्याभूत गरेका धार्मिक स्वतन्त्रता, सांस्कृतिक अधिकार, सम्पत्तिको हक तथा अन्य मौलिक हकको सम्मान र संरक्षण सुनिश्चित गरियोस् ।’

तपाइको प्रतिक्रिया
(Visited 142 times, 1 visits today)

epaper

ताजा समाचार

२३ असार २०८३