सप्तरी, राजविराज । सप्तरीमा पनि एक जना युवामा कोरोना संक्रमणको पुष्टी भएको छ । डाक्नेश्वरी नगरपालिका–३ हटेलका १८ वर्षिय युवामा सोमवार कोरोना संक्रमणको पुष्टि भएको हो । चितवनमा भवन निर्माणका लागि मजदुरीमा खटेका ती युवा लकडउनकै विचमा बैशाख ०९ गते पैदलै सप्तरी स्थित घर आईपुगेका थिए । अन्य १३ जना साथी सहित घर फर्केका उनलाई पातो स्थित माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा राखिएको थियो ।
बैशाख २५ गते थ्रोट स्वाब संकलन गरि परिक्षणका लागि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएकोमा ७ जनाको रिपोट प्राप्त भएको र सोही रिपोटमा ती युवामा कोरोना संक्रमण देखिएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. चुमन लाल दासले जानकारी दिए ।
१४ दिन क्वारेन्टाइनमा राखेपछि उनीहरुलाई दुई दिन अघि घर पठाईएको थियो । घर गएको भोली पल्टै एक जनाको रिपोर्ट पोजेटिप आएपछि गाउँमा अहिले त्रास फैलिएको छ । रिपोर्ट आए लगतै अहिले सो वडालाई सिल गरिएको डिएसपी तिलक भारतीले जानकारी दिए ।
संक्रमित युवक मुस्लिम समुदायका हुन । मुस्लिम समुदायको रामजान पर्व चलिरहेका बेला संक्रमित युवक हजुर बुवा र हजुर आमा सित घरमा बसेको अवस्थामा प्रहरीले फेला परेको छ । युवकका बुवा, आमा, हजुर बुवा, हजुर आमा र एक जना साथी सहित ६ जनालाई प्रहरीले चिकित्सकको निगरानीमा गजेन्द्र नारायण सिंह अस्पतलामा ल्याएको छ ।
उनी सवैलाई अस्पतालको आईसोलेसन कक्षमा राखिएको मेडिकल सुप्रिटेन्डेन्ट डा. दासले बताए । जिल्लामा एक युवकमा कोरोनाको संक्रमण पुष्टि भए सँगै स्थानिय प्रशासनले २ दिन यता केही खुकुलो बनाएको लकडाउनलाई मंगलबार देखि कडा पार्ने प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताए ।