
सुर्खेत । मध्यपहाडी जंगल र बन्झारामा बसाइँ सर्ने एक समुदाय, राउटे । कर्णालीको पानीजस्तै बग्दो जीवनशैली, नियमबद्ध तर गैरस्थायी बासस्थान र जंगलप्रतिको अपार श्रद्धाले भरिएको जातीयता । आज पनि राउटे पश्चिम नेपालका सुर्खेत, दैलेख, जाजरकोट, दाङ, सल्यान र अछामका जंगल आसपास बासस्थान परिवर्तन गर्दै बाँचेका छन् । उनीहरू अझै पनि कुनै स्थायी घर बनाउँदैनन्, खेती गर्दैनन्, विद्यालय जाँदैनन् । तर, २५ वर्षअघिको राउटे र आजको राउटेमा केही मौलिक अन्तर देखिन्छ । यस अवधिमा राउटे समुदायले नगद अर्थतन्त्र, प्रविधि, सरकारी सेवा र बाह्य संस्कारको प्रभाव महसुस गरेका छन् । तर, उनीहरूको मूल जीवनशैली अझै जंगलसँग गाँसिएको, स्वतन्त्र र परम्परागत नै छ । आधुनिकताको छायामा रमाइरहेका छन् तर अझै पनि पुरै त्यसमा भिजेका छैनन् ।

सहयोगकै भर
आर्थिक वर्ष २०६५–६६ देखि नेपाल सरकारले राउटे समुदायलाई मासिक भत्ता दिन थालेको हो । अहिले प्रत्येक राउटेले मासिक ४ हजार रुपैयाँ भत्ता पाउँछन् । यसले उनीहरूलाई नगदको प्रयोग गर्न प्रोत्साहित ग¥यो । अब उनीहरू घिन्टुङ साट्न मात्रै होइन, पैसा लिएर सुर्ती, मदिरा, नुन, चाउचाउ, बिस्कुट किन्न थालेका छन् । पैसाको मूल्य बुझ्न थालेपछि राउटेको जीवनशैली निकै फेरिन थालेको छ । सरकारी तथा अन्य कुनै क्षेत्रबाट प्राप्त सरसामान, लुगाफाटो प्रयोग गर्नुको साटो त्यसलाई सस्तो मूल्यमा बेच्ने र पैसा आर्जन गर्ने वा कुलतमा खर्चिने गरेका छन् । बस्तीमा जानेहरूसँग होस् या बाटोमा मानिसहरू भेट्दा पैसा माग्न छाड्दैनन् । ‘कुनैबेला पैसा छोए पाप लाग्छ’ भन्ने यस समुदायमा पछिल्ला केही दशक यो मान्यतामा स्खलन आएको छ । पैसा उनीहरूको जीवनशैलीका लागि आधारभूत एवं अभिन्न स्रोतका रूपमा स्थापित भएको छ ।
२०७७ फागुनमा राउटेले पहिलोपटक सरकारी जागिर खाए । जिल्ला वन कार्यालयले राउटे समुदायका चार जनालाई वन हेरालु (डढेलो नियन्त्रक) पदमा करार नियुक्ति दिएको थियो । मासिक २ हजार तलब पाउनेगरी नियुक्तिपत्र दिइएको थियो । केही महिना तिनीहरूले काम पनि गरे । समुदायका अगुवाहरू ऐनबहादुर शाही, सूर्यनारायण शाही, डिलबहादुर शाही र वीरबहादुर शाहीले हेरालुको जिम्मेवारी पाएका थिए । बसाइँ सर्नुपर्ने बाध्यताले उनीहरू जागिरमा टिक्न सकेनन् । त्यसबेला राउटेहरू जर्बुटाको नलखोला जंगलमा बस्ने गर्थे ।
राउटे समुदायलाई ‘सरकारी मान्यताप्राप्त जनजाति’का रूपमा हेर्न थालिएको छ । दैलेखको गुराँस गाउँपालिकाले आफ्ना नागरिक दाबी गर्दै २०७५ सालमै परिचयपत्र थमाएको थियो । सामाजिक सुरक्षा भत्ता वितरण एवं व्यवस्थापनमा सहयोग हुनेगरी गाउँपालिकाले थमाएको परिचयपत्र उनीहरूको थैलीमा धेरै दिन रहेन । त्यसलाई पर्वाह गरेनन् । तैपनि, यो सरकारी मान्यता र सहयोगले उनीहरूको मौलिक जीवनशैलीमा के असर पारिरहेको छ भन्ने पाटोको अध्ययन गरिएको छैन । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, गुराँस गाउँपालिका, विभिन्न गैरसरकारी संघसंस्था एवं निकाय र व्यक्तिहरूले नगदका साथै विभिन्न सामग्री वितरण गर्ने गरेका छन् । हरेक चाडपर्वमा खसीबाख्रा र चामलका लागि राउटेहरूले सरकारी निकाय एवं सम्पर्कमा पुगेका व्यक्तिहरूसँग गुहार माग्छन् ।

सरकारी तथा गैरसरकारी पक्षले राउटेलाई दयाभावका पात्रमा मात्र सीमित गराएका छन् । उनीहरूलाई सपार्न होइन, थप अन्योलमा राख्न, कुलतमा फसाएर आफ्नो अनुकूलको संवाद, अडियो भिडियो लिन प्रयोग गरिरहेको पाइन्छ । यसले गर्दा यस जातिमा परम्परागत श्रम, सीपको उपयोग गर्ने भन्दा मगन्ते संस्कृतिको बढावा हुन पुगेको छ । राउटे समुदाय परम्परागत रूपमा काठका कोसी, मधुस, ओखल, मुसल, डाली बनाउने शिल्पमा निपूर्ण थिए । आज पनि उनीहरू कुनै सहयोग प्राप्त नहुँदा यही सीप बेचेरै जीवन धान्छन् । आफूले नभिरे पनि मोबाइल फोन र रेडियो उनीहरूको दैनिकीमा प्रवेश गर्न थालेको छ । सुर्खेत वीरेन्द्रनगरमा भेटिएका राउटे युवाले केही दिनअघि आग्रह गर्दै थिए, ‘मन्त्रीज्यूलाई फोन लगाइदिनुस् न भेटेर फर्किन्छौं ।’ गैरराउटे समुदायसँग भएका मोबाइल, रेडियोहरू नजिक रहेर त्यसको मज्जा लिन्छन् । मोबाइल फोनप्रति खुल्दुली राख्दै यस’bout सोधीखोजी गरिहाल्छन् । सञ्चार र मनोरञ्जन भरपर्दो साधनका रूपमा उपयोग गर्न थालेका छन् । यसले उनीहरू सूचना प्रविधिको सान्निध्यमा आइरहेको सन्देश दिन्छ ।
राउटे युवामा बदलिँदो सोच
हालैको कुरा हो, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ मा सहभागी हुन सुर्खेतबाट राउटे युवाहरू काठमाडौं पुगे । उनीहरूले हस्तशिल्प कला प्रदर्शनीमा पहिलोपटक भाग लिएका हुन् । राउटे युवाहरू दीपक शाही, धयर शाही, बाटुली र सुरमानलगायत काठमाडौं पुगेका थिए । बबरमहलस्थित प्रतिष्ठानको एउटा कुनामा पुरुषहरूले परम्परागत काठका कोसी, डाडु, मुधुस बनाए भने महिलाले कपडामा मौलिक बुट्टा भरे । प्रदर्शनीमा आफ्नो कलाकौशल देखाउन पाए । राउटेहरूले बनाएको हस्तकलाले प्रादेशिक पुरस्कार जित्नसमेत सफल भयो । जसअन्तर्गत प्रतिष्ठानले ३० हजार राशिसहित सम्मान प्रदान गरेको थियो । पछिल्लो यस उदाहरणले के देखाउँछ भने राउटे युवाहरू खुला समाजमा हुर्किन चाहन्छन् । उनीहरू आफ्नो सीप, क्षमता बस्तीमै सीमित गर्न चाहँदैनन् । आधुनिक समाजमा रम्न र त्यसअनुसार आफूलाई अनुकूलन गराउन चाहन्छन्, राउटेहरू ।

यति मात्र होइन, राउटे युवाहरूमा अहिले आत्मचेतना बिस्तार हुँदै गएको छ । शिक्षा र स्थायित्वप्रति चासो बढेको देखिन्छ । गैरसरकारी संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले उनीहरूका बालबालिकालाई बस्तीमै लेखपढ सिकाइरहेको छ । अहिले सामाजिक सुरक्षा भत्ता बुझ्दा कतिपयले आफंै हस्ताक्षर गर्छन् । यद्यपि, विद्यालयमा भर्ना गराउन भने सकेका छैनन् । बस्तीमै रहेर सो संस्थाका कर्मचारीले शिक्षामूलक र स्वास्थ्य उपचार, हेरचाहका क्रियाकलाप सञ्चालन गर्दै आएका छन् । राउटेलाई स्थायी बसोबास गराउन, बालबालिकालाई स्कुल पढाउन, रोग लागेमा अस्पताल लैजान अनेक पहल भए पनि यस समुदायका अगुवाहरू ‘हामी जंगलका राजा हौं, हामी जंगलमै बाँच्छौं, भन्ने अडानबाट टसको मस भएका छैनन् । एकाध राउटेहरू गम्भीर स्वास्थ्य समस्या देखिएमा गैरराउटे वा संघसंस्थाको सहयोगमा अस्पतालसम्म पुग्ने गर्छन् । माटो या सिमेन्टबाट बनेका चिल्ला घर होइन, जंगलकै छाप्रोमा रमाइरहेका छन् ।
पछिल्ला दशक राउटेहरू गैरराउटे समुदायको बस्तीनजिकका जंगलहरूमा बस्न थालेका छन् । पहिले घनाजंगलमा बस्थे । कन्दमूल खोजेर बिहान बेलुकाको छाक टार्थे । गुना बाँदरको सिकार गर्थे । गुना बाँदरको सिकार गर्नु उनीहरूको दैनिकी नै थियो । तर, पछिल्ला दशकमा सडकछेउका जंगललाई बासस्थान रोज्ने गरेका छन् । सडकछेउ बस्दा आउजाउ गर्न सजिलो हुने, बस्तीमा मानिसहरू आइरहने र सहयोग प्राप्त हुने अनुभव गर्न थालेका छन् । बस्तीमा छोटो समयका लागि कुखुरा, खसी बाख्रा पाल्ने गरेका छन् । गुना बाँदरको मासुको साटो खसी बाख्राको मासुमा अभ्यस्त भएका छन् ।

आफ्नो समुदायमा सदस्यको मृत्यु भएमा बसाइँ सर्ने राउटेहरूको संस्कार हो । तर, अहिले अन्य कारणले पनि बसाइँ सर्छन् । जस्तो खानेपानीको समस्या, चर्को गर्मी, बजार वा मानव बस्ती टाढा हुँदा । पहिले बस्ती सर्दा घण्टौं समय लगाएर हिँडेर सरसामान सार्थे । अचेल गाडी बढेर बसाइँ सर्छन् । गाडी चढेरै टाढा–टाढासम्म पुगेर सहयोग जुटाइरहेका हुन्छन् । पश्चिम नेपालका फिरन्ते जाति भए पनि राउटेहरू नपुगेको नेपालका जिल्लाहरू सायद बिरलै होलान् । आफ्नै समुदायसँग रमाउने उनीहरूको अचेल बाहिरियासँग सम्पर्क बाक्लिँदै गएको छ । पहिले बाहिरबाट आएकालाई बस्ती छिर्न नदिने वा छिर्न कडिकडाउ गर्ने उनीहरू हिजोआज झ्याम्मिन थालेका छन् । गैरराउटेका घरमै गएर माग्छन्् । बस्तीमा कोही पुग्यो भने पैसा मागेर कुराकानीको सुरुवात गर्छन् । फोटो भिडियो खिच्न त पैसा नदिई सुखै छैन ।
राउटेमा पहिले एक जना मात्रै मुखिया हुने प्रचलन थियो । अहिले उनीहरूमा पनि विभाजन आएको छ । जातिपिच्छेका आ–आफ्ना मुखिया छन् । राउटे समुदायमा तीन जाति छन् । कल्याल, रास्कोटी र सोवंशी । तीन जातिका तीन मुखियाले आआफ्नो जातिको नेतृत्व गर्दै आएका छन् । मुखिया समुदायको नेता हो । उसकै निर्देशन चल्छ । २५ वर्ष अघिसम्म उनीहरूका एउटै मुखिया थिए । लामो समय राउटे समुदायसँग नजिक रहेर काम गरेका दैलेखका पत्रकार भक्तबहादुर शाहीका अनुसार अहिले कतिपय राउटेहरूले मुखियाको आदेशसमेत मान्न छाडेका छन् । मुखियालाई थाहा नदिएर आफूखुसी हिँड्ने, निर्णय लिने, सहयोग माग्ने गरेको पाइन्छ । उनका भनाइमा राउटेहरूमा पनि अराजकता बढेको छ । पहिले जस्तो अनुशासनमा छैनन् ।

टाउको गन्न नदिनु राउटेहरूको एउटा विशेषतामा पर्छ । त्यसैले, पहिले राउटे बस्तीमा जनगणनाका गणकहरू पुग्न सक्दैन्थे । अनुमानकै आधारमा संख्या लेख्ने गरिन्थ्यो । पछिल्लो २०७८ सालको जनगणनासम्म आइपुग्दा भने उनीहरू यस अडानबाट पछाडि हटेका छन् । कुनै व्यक्ति आएर विवरण संकलन गर्न थालेमा सहयोग गर्छन् । खुलेर कुराकानी गर्छन् । आफ्ना समस्या सुनाउँछन् । राज्यका जिम्मेवार निकायमा बसेका व्यक्तिहरूसँग संवादको सहजीकरण गरिदिन अनुरोध गर्छन्
स्वास्थ्य–सरसफाइमा सचेत
बिरामी भएका बेला कन्दमूल, जडीबुटी र घरेलु उपचारकै भर पर्ने राउटेमा केही वर्षयता अस्पताल जानुपर्छ भन्ने चेतनाको पनि विकास भएको छ । ३ वर्षअघि आगोले जलेर घाइते भएका नारायण शाहीलाई उनीहरूले उपचारका लागि सुरुमा दैलेख अस्पताल लगे । त्यहाँ सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेत पु¥याए । पछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको थियो । तर, उनी बाँचेनन् । तत्कालीन महामुखिया महिनबहादुर शाहीकी श्रीमती दुनी शाहीले पनि काठमाडौंसम्म पुगेर उपचार गराएकी थिइन् । राउटे बस्तीमा कार्यरत सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका जोडी शिक्षक दुर्गा खत्री अचेल सानो स्वास्थ्य समस्या हुँदा पनि औषधि माग्ने गरेको अनुभव सुनाउँछिन् । ‘पहिले वर्षको एकपटक माघे संक्रान्तिको दिन राउटेहरू नुहाउँथे, सितिमिती नुहाउनै नमान्ने राउटेहरू आजभोलि साता दिनमै नुहाउन थालेका छन्,’ उनी भन्छिन्, ‘लुगा पनि अहिले सफा हुन्छन्, सरसफाइमा सचेत देखिन्छन् ।’ बच्चाहरूमा भने जन्मेदेखि ३ वर्षसम्म नुहाउनुहुँदैन भन्ने मान्यता अझै कायमै रहेको छ ।

अत्यधिक मदिरा सेवनका कारण राउटेहरू मृत्युको मुखतिर धकेलिँदै गएका छन् । पहिले भातको जाँड बनाएर खाने अहिले बजारका आधुनिक मदिराको पहुँचमा पुगेका छन् । सरकारले दिने भत्ता र अरूसँग मागेर प्राप्त हुने दुवै रकम धेरैले रक्सीमा सिध्याउने गरेका छन् । जोडी शिक्षक दुर्गा भन्छिन्, ‘महिला–पुरुषदेखि बालबालिकासमेत रक्सीको लतमा फसेको देखिन्छ, अत्यधिक मदिरा सेवनले दैनिकजसो कोही न कोही बिरामी परेकै हुन्छन् ।’ राउटे समुदायमा देखिएको अर्को समस्या भनेको उच्च शिशु मृत्युदर पनि हो । कर्णाली प्रदेश योजना आयोगका अनुसार राउटे समुदायमा जन्मेकामध्ये झन्डै आधा शिशुको मृत्यु हुने गरेको देखिन्छ । शिशुहरू आवश्यक स्याहारसुसार नपाएर ज्यान गुमाउन बाध्य छन् ।
शिक्षक खत्रीका अनुसार खोप, सन्तुलित भोजन, स्याहारसुसार, सरसफाइलगायतको कमीले शिशुहरू ज्यान गुमाउन पुग्छन् । ‘भत्ताको रकम आमाहरूले मदिरा खान खर्चिन्छन्, दैनिकजसो आमाले मदिरा खाँदा त्यसको असर गर्भमा भएको शिशुमा पर्छ, सबै बच्चा जंगलमै जन्मिने भएकाले उनीहरूले आधारभूत स्वास्थ्य सेवाको पहुँच पाइरहेको देखिन्न,’ उनी भन्छिन् ।
त्यसो त नेपालकै परम्परागत वन्य जीवनशैलीमा हुर्किरहेको एक्लो फिरन्ते यो जाति अति लोपोन्मुख आदिवासीमा सूचीकृत छ । हाल यस समुदायको कुल संख्या १३६ रहेको छ । पछिल्ला ५ वर्षको अवधिमा राउटे समुदायका २९ जनाले अकालमै ज्यान गुमाएको तथ्यांक छ । त्यसमध्ये १९ बालबालिका र १० वयष्क उमेरका छन् । धेरैजसो वयष्क राउटेको मृत्यु हुनुमा मुख्य कारण अत्यधिक मदिरा सेवन नै हो । समुदायका पाका उमेरका अधिकांश अगुवाको मृत्यु भइसकेको छ ।
राउटेहरू सिलाएको कपडा लगाउनुहुँदैन भन्ने विश्वास राख्छन् । यद्यपि आजभोलि टोपी, कोट, ब्लाउज लगाउने गरेको पाइन्छ । समयसँगै राउटेका टहराले पनि स्वरूप बदल्दै छन् । वनका हरिया स्याउला र घोचाद्वारा गोलाकार र अण्डाकार छाप्रो बनाएर बस्ने उनीहरूले पछिल्ला केही वर्षयता छाप्रोमाथि त्रिपाल हाल्न थालेका छन् ।

राउटेहरू बदलिँदै गए पनि कतिपय परम्परागत अन्धविश्वासबाट पुरै मुक्त भएका छैनन् । राउटेहरू बाटो लागेपछि पछाडि फर्केर खोला वा तालको पानी खाँदैनन् । मूलको पानी मात्र खान्छन् । तर, पछिल्ला केही वर्ष जलवायुमा आएको परिवर्तनका कारण मूलहरू सुक्दै गएपछि खोलाको पानी, धाराको पानी पिउन बाध्य छन् । धनसम्पत्ति जोड्ने वा बचत गरेर राख्दैनन् । सम्पत्तिका रूपमा उनीहरूसँग पकाउने भाँडा, दाउरा काट्ने र सिकार गर्ने केही हतियार मात्र हुन्छन् । पैसा बचत गरेर वर्षौंसम्म राख्ने स्वभाव छैन, उनीहरूसँग । स्थायी बसोबास, कृषि खेती बालीदेखि पुरै टाढा छन् । बाहिरी समुदायसँग सम्पर्क हुँदा नेपाली मिश्रित माृतभाषा बोल्छन् । उनीहरूको मातृभाषा खाम्ची हो । जसको हालसम्म लिपि छैन । पहिले खाम्चीबाहेक अरू भाषा बोल्न नसक्ने राउटेहरूले अचेल राम्ररी नेपाली र कतिपय त अंग्रेजी शब्दहरूसमेत उच्चारण गर्ने गरेको पाइन्छ ।
राउटे समुदायका परम्परागत मान्यता र बदलिँदो अवस्था
१. पैसा छोए पाप लाग्छ
पैसा नै सबथोक बनेको छ । जससँग जतिबेला पनि पैसा माग्छन् । सरकारले मासिक भत्ता दिँदै आएको छ ।
२. उपचार गर्नुहुँदैन
यस मान्यतामा आंशिक परिवर्तन आएको छ । आफैं स्वास्थ्य संस्था वा अस्पताल नपुगे पनि गैरराउटेको सहयोगमा उपचारमा जाने, औषधि सेवन गर्ने गर्छन् ।
३. मुखियाको आदेश बाध्यकारी
सबैले मुखियाको आदेश मान्न छाडेका छन् । कतिपय सवालमा आफुखुसी निर्णय गर्ने गरेका छन् । अहिले जातिपिच्छे मुखिया छन् ।
४. हामी वनका राजा हौं, राउटे कहिल्यै रैती हुँदैनन्
आफूलाई वनको राजा दाबी गरे पनि सहरिया जीवनशैलीबाट प्रभावित छन् ।
५. वर्षको एकपटक (माघीमा) मात्र नुहाउँछन्
वर्षमा एकपटक मात्र नुहाउने उनीहरू अचेल सम्भव भए सातैपिच्छे नुहाउने गर्छन् ।
६. काठ काट्ने हातले भिक्षा माग्दैन
भिक्षा माग्ने, सहयोग लिने गर्छन् । श्रम गर्नुको साटो मागेर गुजारा चलाउन बानी परेका छन् ।
८. लेखपढ गर्दैनन्
बस्तीमै सामान्य अक्षर लेखपढ गर्छन् । भत्ता बुझ्दा कतिपयले हस्ताक्षरसम्म गर्नसक्ने भएका छन् ।
९. वनमा मात्र बसोबास गर्छन्
वनमै मात्र बसोबास गर्ने राउटेहरू गाउँछेउमा बसोबास गर्न थालेका छन् ।
१०. शव जंगलमा छाडेर बसाइँ सर्छन्
शवलाई जंगजमा त्यत्तिकै छाडेर हिँड्ने राउटे शवलाई गाड्न थालेका छन् ।
११. बाह्य समाजबाट टाढा
बाह्य समाजसँग पहुँच बढाउँदै छन् । आधुनिक प्रविधि, मोबाइलमा खुल्दुली राख्छन् ।
१२. टाउको गन्न (गणना गर्न ) दिँदैनन्
गणना गर्न नदिने राउटे अब गणना गर्न दिने भएका छन् ।
१३. सिलाएको कपडा लगाउँदैनन्
सिलाएका कपडा पनि लगाउन थालेका छन् ।
१४. मूलको मात्र पानी पिउँछन्
धारा वा खोलाको पानी पनि पिउन थालेका छन् ।
१५. समुदायका सदस्यको मृत्यु हुँदा बसाइँ सर्छन्
सदस्यको मृत्यु नहुँदा अन्य कारणले पनि बसाइँ सर्छन् ।
१६. मातृभाषा (खाम्ची) मै कुराकानी गर्छन्
बाहिरी समुदायसँगको सम्पर्कले गर्दा नेपाली भाषा पनि बोल्छन् ।
१७. कन्दमूल र बाँदरको सिकार मुख्य खाना हो
भात, दाल, तरकारी र खसी–बाख्राको मासुका साथै सुर्ती, मदिराजन्य पेय पदार्थ अत्यधिक सेवन गर्ने गर्छन् ।



सम्बन्धित समाचार








