पोखरा । पोखरामा सोमबार बिहान सडकमा मृत फेला परेका युवकको सनाखत भएको छ । मृत्यु हुनेमा तनहुँको भीमाद निवासी २१ वर्षीय मनोज भुजेल हुन् ।
पोखरा १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा बेवारिसेरुपमा एक युवकको शव फेला परेपछि ‘हत्या’ आशंकाले सनसनी मच्चिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा समेत घटनास्थलमा हथौडा समेत फेला परेकाले हत्या गरी दोषी फरार भएको हुन सक्ने अनुमान थियो ।
तर, अनुसन्धान गदैै जाँदा उक्त घटनाले अर्कै मोड लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।
उक्त घटना ‘हत्या’ नभई ‘दुर्घटना’ भएको घटनामा संलग्न २ जनाको प्रारम्भिक बयानमा खुलेको उनले प्रस्ट पारे । प्रहरीले सो घटनामा नियन्त्रणमा लिएकामध्ये एकजना २० वर्षीय ट्याक्टर चालक र अर्का १४ वर्षीय बालक हुन् । प्रहरीले उनीहरुको नाम सार्वजनिक गरिसकेको छैन ।
सूचना अधिकारी बस्नेतका अनुसार गएराति १२ बजेतिर ट्याक्टरमा ३ जना आउँदै गरेकामा एकजना एक्कासि सडकमा खस्दा चक्कामा परेर सो घटना भएको प्रारम्भिक बयानमा खुलेको छ । हथौडा भने ती युवकले नै समातेको वा टुल बक्सबाट उछ्टििएको भन्ने खुलेको छैन । उनले पोस्टमार्टम रिपोर्ट आइसकेपछि अरु कुराहरु खुल्दै जाने बताए ।
सम्बन्धित समाचार





