काठमाडौं । चलचित्र महाभोज रिलिज भएको तीन सातापछि शुक्रवार २७ असारबाट बल्ल नयाँ नेपाली चलचित्र रिलिज हुँदैछ । चलचित्र घरमा यतिबेला नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ रिलिज हुँदै छ । अरू निर्माताहरूले वर्षाको कारण देखाई आफ्नो चलचित्रको रिलिज रोकेको बेला यो चलचित्र रिलिज गरिएको हो ।
आफ्नो चलचित्र मुलुकका सबै जसो चलचित्र घरमा प्रदर्शन हुने यसका निर्माण पक्षले राजधानीलाई जानकारी गरायो । निर्माता ज्ञानबहादुर प्रधानका अनुसार यो चलचित्र १०० भन्दा बढी चलचित्र घरमा लाग्दै छ ।
यो चलचित्रका निर्देशक नर प्रधान (मित्र) हुन् । उनले यो चलचित्रमा विभिन्न देशमा रहेका नेपालीहरूले नेपाली भाषाको संरक्षण र प्रवर्धनको लागि गरेको संघर्षको कथा समेटेका छन् । चलचित्रको कथा पनि मित्रले नै लेखेका हुन् । जसमा पटकथा सम्वाद शिवम अधिकारीको रहेको छ ।
यो चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, आयुशा समाल, बुद्धि तामाङ, नारायण खाती, भूपेन्द्र लिङ्देन ‘मन्त्री’, सुवास भण्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौला लगायतको मुख्य भूमिका रहेको छ ।
रिलिज अघि यो चलचित्रको बुधवार बेलुका काठमाडौँमा प्रिमियर शो गरियो । प्रिमियरमा चलचित्रकर्मी तथा सञ्चारकर्मीले राष्ट्रिय भावले ओतप्रोत चलचित्रको उपमा यसलाई दिए । अग्रज निर्देशक तुलसी घिमिरेले यो चलचित्र हेरेपछि यसो भने, ‘नेपाली भाषा, साहित्य, कला र देशभक्तिप्रति समर्पित यो चलचित्र हेर्दा निकै आनन्द आयो । यसले अहिलेको पुस्तालाई समेत नेपाली भाषाप्रति जिम्मेवार बनाउने सन्देश दिएको छ ।’
चलचित्रका निर्देशक मित्रले प्रिमियरमा यो मन त मेरो नेपाली हो ले पाएको प्रतिक्रियाले आफूलाई उत्साहित भएको बताए । पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्रलाई ज्ञान बहादुर प्रधान (रोशन)ले निर्माण गरेका हुन् ।
यसमा सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, समीर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, बनिश शाहको सम्पादन रहेको छ । जसमा दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईले संगीत सृजना गरेका छन् ।






