काठमाडौं । नेपाली चलचित्र ‘‘चमेलीको पोइ’’ को रिलिज मिति घोषणा सहित फस्ट लुक्स (पोस्टर) बुधवार सार्वजनिक गरिएको छ । काठमाडौँको नारायण थानमा एक औपचारिक कार्यक्रम आयोजना गर्दै बुधवार यो चलचित्रको तीन थान पोस्टर सार्वजनिक गरिएको हो ।
यो चलचित्रलाई आगामी १३ चैतमा राम नवमीको अवसर पारेर रिलिज गरिने घोषणा पनि निर्माण पक्षले गरेको छ । बुधवार सार्वजनिक गरिएको तीन फरक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरूलाई स्थान दिइएको छ । पोस्टर हास्य प्रधान शैलीको बनाइएको छ ।
चलचित्र चमेलीको पोइमा मुकुन भुसाल, सुरक्षा पन्त, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रेम देव गिरी, राम नारायण उपाध्याय, गणेश गौतम, अंशु महर्जन, बबिन राई, खड्ग बहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनिता सापकोटा, मिना आरएल शाही, रितु मल्ल ठकुरीलगायतको मुख्य भूमिका रहेको छ ।
यो चलचित्रलाई एभरेस्ट सूर्य बोहराले निर्देशन गरेका हुन् । चलचित्रको पटकथा र संवाद शिवम् अधिकारीले लेखेका हुन् । धन लक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा बनेको यो चलचित्रमा सुनिता सापकोटा र राम नारायण उपाध्यायको लगानी रहेको छ । उदय विक्रम राणा र रितु मल्ल ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रको लाइन प्रोड्युसर धनकुमारी श्रेष्ठ बोहरा रहेकी छन् ।
शेर बहादुर तामाङको छायांकन रहेको यो चलचित्रमा राजनराज सिवाकोटीको संगीत, बन्दे साह र सुजन बडालको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ । चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ ।






