रंगमञ्चमा उत्रिन थाले चलचित्र अभिनेता अभिनेत्री

काठमाडौं । अभिनेता जीवन लुइँटेल यति बेला नयाँ नाटक ‘‘शिरीषको फूल’’को अभ्यासमा व्यस्त छन् । एक दशक अघि अमेरिका गएका उनी यही नाटकमा अभिनय गर्नको लागि दुई साता अघि काठमाडौँ आएका हुन् । नाटकमा काम गर्दा आफ्नो अभिनय क्षमतामा थप निखार आउने उनको विश्वास छ । पछिल्लो समय चलचित्रका कलाकारहरू रंगमञ्चमा धमाधम फर्किएका छन् । यसै क्रममा चलचित्रमा काम गरेको एक दशकपछि अभिनेता जीवन लुइँटेल चलचित्रमा अभिनय नगरेर नाटकमा प्रस्तुत हुँदै छन् । उनलाई नाटकमा काम गर्ने ठुलो चाहना थियो । यति बेला आफूलाई पारिजातको लोकप्रिय उपन्यास शिरीषको फूलमा अभिनय गर्ने अवसर पाएपछि अमेरिकाबाट यही नाटकको लागि नेपाल आएको जीवनले बताएका छन् ।

साहित्यकार पारिजातको उपन्यास शिरीषको फूललाई यही ८ साउनबाट कान्तिपुर फिल्म एकेडेमीले कान्तिपुर थिएटरमा मञ्चन गर्दै छ । यो नाटक त्यहाँ २७ साउनसम्म मञ्चन हुने सो थिएटरका सिइओ प्रकाश पुरीले जानकारी गराएका छन् ।

पत्रिका घिमिरेले निर्देशन गरिरहेको यो नाटकमा अर्का अभिनेता अर्पण थापा पनि शीर्ष भूमिकामा जोडिएका छन् । नयाँ चलचित्रको छायांकनलाई भदौमा सारेर आफू नाटक शिरीषको फूलमा जोडिएको अभिनेता अर्पणले बताए । अर्पणले रंगमञ्चबाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । तर चलचित्र ब्याच नम्बर १६ बाट चलचित्र अभिनयमा लागेका उनले त्यसपछि भने रंगमञ्चलाई समय दिन भ्याएका थिएनन् । लामो समपछि आफू यस पटक नाटकमा जोडिएको अर्पणले बताए ।

मोडल तथा अभिनेत्री सनिशा भट्टराईले पनि शिरीषको फूलबाट रंगमञ्चमा डेब्यु गर्दै छिन् । उनी पनि अर्पण र जीवनसँगै गत सातादेखि यो नाटकको अभ्यासमा व्यस्त छिन् । डेढ दर्जन म्युजिक भिडियोमा मोडलिङ गरेपछि सनिशाले गत वर्ष चलचित्र १२ गाउँबाट चलचित्र अभिनयमा डेब्यु गरेकी थिइन् । १२ गाउँको सफलता पश्चात् उनले अर्को चलचित्र नरसिंहाः अवतारमा पनि शिर्ष भूमिका निर्वाह गरिन् । यिनै अभिनेत्री यति बेला शिरीषको फूलमा जीवन लुइँटेलको जोडी भएर अभिनय गर्दै छिन् । थिएटरमा काम गर्ने चाहना पहिला देखि नै भएकाले अहिले आफूले यो नाटकमा काम गरेको सनिशाले बताएकी छिन् ।

जीवन, अर्पण र सनिशा मात्र हैन, पछिल्लो समय नेपाली चलचित्रका कलाकारहरू रंगमञ्च तर्फ आकर्षित भएका छन् । कुनै एक समय थियो । जतिबेला नाटकमा लामो समय काम गरेपछि मात्र चलचित्रमा अभिनयको अवसर पाइन्थ्यो । तर पछिल्लो समय धेरै कलाकारहरू रंगमञ्च नै नटेकी सोझै चलचित्रमा आएर स्थापित भएका छन् । तिनै कलाकारहरू यति बेला आफ्नो अभिनयबाट रंगमञ्चको अनुभव बटुल्दै छन् ।

हुनत लामो समय नाटकमा काम गरेर चलचित्र क्षेत्रमा आएका कलाकारहरू अनुप बराल, दयाहाङ राई, विजय बराल, नाजिर हुसेन, सृजना सुब्बा, बुद्धि तामाङ, खगेन्द्र लामिछाने, कमलमाणि नेपाल, भोलाराज सापकोटा जस्ता कलाकारहरूले त बेला बेलामा नाटकमा अभिनय गरिरहेका छन् । तर यस अघि कहिल्यै नाटकमा अभिनय नगरेका चलचित्रका अभिनेता अभिनेत्रीहरू पनि पछिल्लो समय नाटकमा प्रस्तुत हुने क्रम बढेको छ ।

यसै क्रममा अभिनेत्री रेखा थापा पनि यस पटक नाटकमा शीर्ष भूमिकामा प्रस्तुत भइन् । नाटक ‘‘मीरा’’मा अभिनेत्री रेखाले शीर्ष भूमिका निर्वाह गरेकी थिइन् । गत १९ जेठबाट असारको दोस्रो सातासम्म कान्तिपुर थिएटरमा मञ्च गरिएको यो नाटकबाट रेखाले रंगमञ्चमा डेब्यु गरेकी थिइन् । नाटक मीरालाई सुन्दर धितालले निर्देशन गरेका थिए । रंगमञ्चमा प्रत्यक्ष दर्शकको सामु अभिनय प्रस्तुत गर्दा निकै फरक र रोचक अनुभव भएको अभिनेत्री रेखाले नाटक मीराको प्रिमियर सोमा बताएकी थिइन् । यति बेला नयाँ चलचित्रको निर्माण तयारीमा रहेकी अभिनेत्री रेखाले आउँदा दिनमा पनि नाटकमा काम गर्ने चाहना व्यक्त गरेकी छिन् ।

लामो अन्तरालपछि अभिनेता सरोज खनाल पनि यस पटक नाटक ‘‘मञ्जिरा’’मा शीर्ष भूमिकामा प्रस्तुत भए । लामो समयदेखि चलचित्र अभिनयमा व्यस्त रहेका सरोजले यस पटक चलचित्रको सबै काम छाडेर करिब दुई महिना नाटक मञ्जिरालाई समय दिए । यो नाटकलाई मण्डला थिएटरमा गत १६ जेठ देखि ८ असारसम्म मञ्चन गरिएको थियो । लामो समयपछि नाटकमा प्रस्तुत हुँदा निकै रमाईलो अनुभव भएको अभिनेता सरोज खनालले बताएका छन् । यो नाटकको अझै पनि प्रदर्शनीको माग आइरहेको पनि सरोज खनालले जानकारी गराए ।

सरोज खनालसँगै अर्का अभिनेता सुशांक मैनाली पनि यस पटक नाटक ‘‘मञ्जिरा’’मा मुख्य कलाकारका रूपमा प्रस्तुत भए । ८ वर्षको अमेरिका बसाई पश्चात् नयाँ चलचित्र जनै हराएको मान्छेको छायांकनको लागि नेपाल आएका उनले चलचित्रको छायांकन सम्पन्न गर्न साथ यो नाटकमा काम गरे । चलचित्रमा आउनु अघि नाटकबाट अभिनय यात्रा सुरु गरेका सुशांकाले दुई दशकपछि रंगमञ्चमा प्रस्तुत हुँदा यस पटक फरक अनुभव भएको राजधानीलाई बताए ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेसमा सानेपा भर्सेज चुनदेवी