पोखरा । कास्कीमा डेंगुका बिरामीको संख्या बढ्न थालेपछि सतर्कता अपनाउन थालिएको छ । एक तथ्यांक अनुसार कास्कीमा हाल १ सय ८६ जना डेंगुका बिरामी छन् । तीमध्ये ९५ प्रतिशत त पोखरा महानगरपालिकाभित्रैका हुन् ।
डेंगु नष्ट अभियानको फोटो खिचेर पठाउन निर्देशन
गत वर्ष कास्कीमा ९ हजार ८ सय जनामा संक्रमण देखिएकोमा ८ जना बिरामीको मृत्यु भएको थियो । यस वर्ष देशभर ६० हजारभन्दा बढी मानिस संक्रमित हुन सक्ने अनुमानसहित स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन यसअघि नै आग्रह गरेको थियो ।
कास्कीमा पनि ‘खोज र नष्ट’ अभियानअन्तर्गत सातामा एकपल्ट सरकारी कार्यालय सरसफाइको अभियानै थालिने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा कास्कीका सरकारी कार्यालयका प्रमुखहरुको नियमित बैठकमा समेत जिल्लामा डेंगु संक्रमण बढेकोले सतर्कता अपनाउनुपर्नेमा कुरा उठेको थियो ।
प्रमुख जिल्ला अधिकारीको आह्वानमा प्रत्येक महिनाको ५ गते नियमित बैठक हुने गरेकोमा साउनको ५ गते सोमबार पनि बैठक बसेको थियो ।
उक्त बैठकमा प्रदेश जनस्वास्थ्य प्रशासक रामबहादुर नेपालीले जिल्लामा डेंगुका बिरामीहरुको ’boutमा ब्रिफिङ गरेका थिए । नेपालीले कास्कीमा सरकारी तथ्यांक अनुसार हाल १ सय ८६ जना संक्रमित रहेको उल्लेख गर्दै उक्त संख्या अझ बढी हुने सक्ने अनुमान रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा भएको सो बैठकले प्रत्येक साताको शुक्रबार सरकारी कार्यालयमा ‘खोज र नष्ट’ अभियान संचालन गर्ने निर्णय गरेको हो । जसअनुसार साउन महिनालाई सचेतना महिनाको रुपमा कार्यालय समयको सुरुमै १० मिनेटसम्म कार्यालय सरसफाइसहित टायर बिस्थापित गर्ने, पानी जमेका भाडाकुँडा हटाउने, डेंगु खोज्ने र लार्भा नष्ट गरिनेछ । प्रजिअ शर्माले सरसफाइपछि कार्यालय प्रमुखहरुले ह्वाट्स एपमा फोटो पठाउन निर्देशनसमेत दिइन् । सो बैठकमा कास्कीका करिब ६० सरकारी कार्यालयका प्रमुखले भाग लिएका थिए ।
समुदायस्तरमा पनि यसखालको अभियान संचालन गरिनेछ । नागरिकहरुलाई सचेतना गराउँदै टोल विकास संस्था, वडा, महिला स्वास्थ्य स्वयंसेविका, मिडिया, स्वास्थ्यकमीं, सामुदायिक सेवा केन्द्र लगायतलाई अभियानमा सामेल गर्न सकिने भएको छ । त्यसका लागि समुदायस्तरमा कार्ययोजना बनाउन भनिएको छ ।
प्रदेश जनस्वास्थ्य प्रशासक रामबहादुर नेपाली साउनदेखि सुरु भएर कात्तिकसम्म डेंगुको जोखिम हुने बताउँछन् ।






