काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र अन्तर्राष्ट्रिय बजारमा एकसाथ थुप्रै चलचित्र घरमा रिलिज हुने क्रम बढेको छ । गत साता मात्र नेपाली चलचित्र ‘केटी हराएको सूचना’ बंगलादेशका थुप्रै चलचित्र घरमा एकसाथ रिलिज भएको थियो । निर्देशक दीपेन्द्र गौचनले पहिलो पटक नेपाली चलचित्रलाई बंगलादेशमा रिलिज गरेका हुन् ।
‘केटी हराएको सूचना’ बंगलदेशमा रिलिज भएको एक सातापछि अर्को नेपाली चलचित्र ‘पूजा सर’ युरोपेली मुलुक फ्रान्सका चलचित्र घरमा रिलिज भएको छ । ‘पूजा सर’ फ्रान्सका ६२ वटा चलचित्र घरमा एकै पटक रिलिज गरिएको यसका निर्माता निर्देशक दीपक रौनियारले जानकारी गराएका छन् ।
फ्रान्समा नेपाली चलचित्र एकसाथ यति धेरै चलचित्र घरमा रिलिज गरिएको यो पहिलो पटक भएको दिपकले जानकारी गराए । फ्रान्सलाई अन्तर्राष्ट्रिय चलचित्रको केन्द्र मानिने गरेको छ । त्यसैले फ्रान्समा यति ठुलो संख्याको चलचित्र घरमा नेपाली चलचित्र रिलिज हुनु नेपाली चलचित्र उद्योगको लागि पनि खुसीको कुरा भएको दिपकले जिकिर गरे ।
यो चलचित्रको फ्रान्सेली वितरक कम्पनी एआरपी सेलेक्सनकी मिचेल हलबेस्टड्टले त्यहाँको भेराइटी मिडियासँग भनेकी छिन्,‘पूजा सर एउटा यस्तो चलचित्र हो, जसले हामीलाई यसको रहस्य, संस्कृति र दृश्यहरूमा सिधै लैजान्छ । यस अर्थमा, यो अप्रत्याशित र आकर्षक हुनुका साथै फ्रान्सका दर्शकहरूलाई यो चलचित्र प्रस्तुत गर्न पाउँदा हामी खुसी छौँ ।’
चलचित्र ‘पूजा सर’लाई गत ३० फागुनमा नेपालमा रिलिज गरिएको थियो । यो चलचित्रलाई नेपालमा रिलिज गर्दा ‘पूजा सर– राजा गन्ज’ नाम राखिएको थियो । तर नेपालमा यो चलचित्रले त्यति राम्रो व्यापार गर्न सकेन । चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्ट अनुसार यो चलचित्रले नेपालमा त्यति बेला १६ लाख २१ हजार रुपैयाँको व्यापार गरेका थियो ।
नेपालमा चलचित्रले राम्रो व्यापार नगरे पनि आफ्नो चलचित्रले अन्तर्राष्ट्रिय बजारमा राम्रो व्यापार गर्ने दाबी यसका निर्देशक दीपक रौनियारले त्यति बेला गरेका थिए । नभन्दै यो चलचित्रलाई अहिले फ्रान्सका दर्शकहरूले रुचाएका छन् । उनीहरूका लागि यो चलचित्र नयाँ स्वाद बनेको छ ।
यो चलचित्र यस अघि व्यावसायिक रूपमा गत मेमा स्विजरल्याण्डमा रिलिज गरिएको थियो । त्यहाँ आफ्नो चलचित्रलाई दर्शकले निकै रुचाएको दिकले जानकारी गराए । त्यहाँ रिलिज भएको तीन महिना बितिसक्दा पनि अझै स्विजरल्याण्डका पाँच वटा सहरहरूमा यो चलचित्र प्रदर्शन भइरहेको पनि दीपकले जानकारी गराए ।
अब यो चलचित्र अस्ट्रेलिया र न्युजिल्यान्डमा रिलिज हुने भएको छ । ती दुवै देशमा यो चलचित्र रिलिज गर्नको लागि वितरकले आफूहरूसँग सम्झौता गरिसकेको पनि निर्देशक दीपकले जानकारी गराएका छन् ।
चलचित्र ‘पूजा सर’मा आशा मगराती, निकिता चण्डक, दयाहाङ राई, विजय बराल, आरती मण्डल, घनश्याम मिश्रा, रिचा शर्मा, गौमाया गुरुङलगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । चलचित्रलाई आदि फिल्म्सबाट दीपक र आशा एवम् बाँसुरी फिल्म्सबाट रामबाबु गुरुङले नर्वेको ट्यानहाउजरको सहकार्यमा निर्माण गरेका हुन् ।
यो चलचित्रको वल्र्ड प्रिमियर भने भेनिस फिल्म फेस्टिभल २०२४ मा भएको थियो । त्यस पछि यो चलचित्र बुसान, सिड्नी, टालिन बाल्क नाईट्स, गोथेनबर्ग लगायतका अन्तर्राष्ट्रिय महोत्सवहरूमा प्रदर्शन भइसकेको छ । चलचित्रले नेदरल्याण्डमा ‘फ्रि टु बी’ अवार्ड जितेको छ ।






