काठमाडौं । अमेरिकामा कार्यरत नेपाली गणितज्ञ तथा तथ्याङ्कशास्त्रीहरूको संस्था एसोसिएसन अफ नेप्लिज म्याथम्याटिसियन्स इन अमेरिका (एन्मा) ले नेपालमा स्नातक तहमा गणित, तथ्याङ्कशास्त्र तथा गणित शिक्षा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्ति आवेदन खुला गरेको छ।
संस्थाले शैक्षिक उत्कृष्टता प्रदर्शन गरेका तथा गणित विषयमा विशेष रुचि राख्ने अधिकतम १५ जना विद्यार्थीलाई जनही ५० हजार रुपैयाँसम्म छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो।
छात्रवृत्तिका लागि नेपालका कुनै पनि विश्वविद्यालयअन्तर्गत स्नातक तहको तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थीहरूले आवेदन दिन सक्नेछन्। वार्षिक परीक्षा प्रणालीअन्तर्गत तेस्रो वर्ष वा सेमेस्टर प्रणालीअन्तर्गत पाँचौँ अथवा छैटौँ सेमेस्टरमा अध्ययनरत बीए, बीएड तथा बीएस्सीका विद्यार्थीहरू आवेदन दिन योग्य हुनेछन्।
गणित, तथ्याङ्कशास्त्र वा गणित शिक्षालाई प्रमुख विषयका रूपमा अध्ययन गरिरहेका अथवा आगामी शैक्षिक वर्षमा यी विषयलाई प्रमुख विषय बनाउने उद्देश्यले हाल गणितका पाठ्यक्रमहरू अध्ययन गरिरहेका विद्यार्थीहरूले समेत आवेदन दिन सक्ने संस्थाले जनाएको छ।
छनोट भएका विद्यार्थीहरूले दुई वर्षको अवधिमा दुई किस्तामा गरी अधिकतम ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो किस्ताको रकम भने पहिलो वर्षको सन्तोषजनक शैक्षिक प्रगतिका आधारमा उपलब्ध गराइनेछ।
आर्थिक सहयोगका अतिरिक्त छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूले गणित विषयका प्राध्यापक, अनुसन्धानकर्ता तथा अन्य विज्ञहरूसँग सम्पर्क र सहकार्य गर्ने अवसरसमेत प्राप्त गर्नेछन्। आवेदन दिने अन्तिम मिति २०८३ मंसिर १० गते (नोभेम्बर २६, २०२६) तोकिएको छ। इच्छुक विद्यार्थीहरुले https://anmaweb.org/ मा गएर आवेदन दिन सक्नेछन्
प्राप्त आवेदनहरूको मूल्याङ्कनपछि प्रारम्भिक छनोटमा परेका विद्यार्थीहरूलाई अनलाइन अन्तर्वार्तामा सहभागी गराउन सकिने संस्थाले जनाएको छ। छनोट प्रक्रियामा नेपाल गणित समाज (नेपाल म्याथम्याटिकल सोसाइटी) को समेत सहयोग लिन सकिनेछ। छात्रवृत्ति रकम तथा प्रमाणपत्र वितरण नेपाल गणित समाजसँगको समन्वयमा गरिनेछ।
अमेरिकामा रहेका नेपाली गणितज्ञ तथा तथ्याङ्कशास्त्रीहरूद्वारा स्थापित एन्मा गणित शिक्षाको विकास, अनुसन्धान प्रवर्द्धन तथा नेपाल र विदेशमा कार्यरत गणितज्ञहरूबीच शैक्षिक सहकार्य विस्तार गर्न सक्रिय संस्था हो। संस्थाले नेपालमा गणित अध्ययन गर्ने प्रतिभाशाली विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सन् २०२४ देखि स्नातक तहका विद्यार्थीहरूका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ।
सम्बन्धित समाचार
गृहमन्त्रीबाट नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई दर्ज्यानी चिह्न प्रदान
निर्णयका चाङैचाङ, विकास शून्य
सिड्नीको नेपाल फेस्टिभलमा ढाकाटोपी लगाएर पुगे अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिज
कोप–३१ मा नेपालको ‘असंगठित लर्को’
आइतबारदेखि पश्चिमी वायुको प्रभाव बढ्ने, तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना
कोप-३१ मा मन्त्री चौधरीले शेर्पा पहिरन लगाएको तरिकाप्रति आपत्ति
दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा
सहिदकी छोरीको जन्मदिनमा घरमै पुग्यो गोल्याण फाउण्डेशन






