खोटाङ । स्थानीय संसाधनको सदुपयोग र आर्थिक विकासका लागि नीतिगत निर्णयको मागसहित खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले काठमाण्डौको माइतीघर मण्डलामा ऐतिहासिक सत्याग्रह सुरु गरेका छन् । विभिन्न सात बुँदे मागसहित आइतबार बिहानबाट सुरु सत्याग्रह गरिएको हो ।
सत्याग्रहका लागि कपाल मुण्डन गरी सिंहदरबारको दक्षिण गेट अगाडि पुगेका मेयर भट्टराईलाई निषेधित क्षेत्र भन्दै प्रहरीले हटाएपछि माइतीघर मण्डलामा पुगेर सत्याग्रह सुरु गरेका हुन् । स्थानीय तहका जनप्रतिनिधिका रुपमा मेयर भट्टराई संघीय सरकारप्रति कानुन निर्माण गरी कार्यन्वयका लागि विरोध स्वरुप सत्याग्रह उत्रिएका हुन् ।
खेर गइरहेका बाँस तथा अन्य स्थानीय कच्चा पदार्थको प्रयोगलाई बढावा दिएर उद्योग स्थापना गर्दै आर्थिक आम्दानी वृद्धि गर्ने नीति निर्माणका लागि संघीय ऐन निर्माण र कार्यन्वयन गर्न दबाव दिन सत्याग्रह सुरु गरेको मेयर भट्टराईले बताएका छन् । नेपालका अधिकांस क्षेत्रमा प्रशस्त मात्रामा पाइने तर सदुपयोग नहुँदै खेर गइरहेका प्राकृतिक संसाधनहरूको व्यावसायिक उपयोगको आवश्यकतालाई नितिगत रुपमा समावेश गर्न मेयर भट्टराईको माग छ ।
बाँसजस्तो छिटो बढ्ने र बहुउपयोगी वनस्पतिको औद्योगिक उपयोगले राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याउन सक्ने भएकाले आवश्यक नीतिगत निर्णय तथा कानुनी व्यवस्थाका लागि पहल कदमी लिन मेयर भट्टराईको माग छ । बाँस तथा अन्य स्थानीय कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न, वन र उद्योग मन्त्रालय तथा मातहतका सबै निकायले फर्निचर खरीद गर्दा अनिवार्य रूपमा बाँस तथा काठको, राडीपाखी र वातावरणमुखी फर्निचर खरीद गर्नुपर्ने र भवन संरचना निर्माणमा स्थानिय कच्चा सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिगत निर्णयको माग गरिएको छ ।

यस्तै, खोटाङलाई बाँसको राजधानी घोषणा गर्नुपर्ने माग गरिएको छ । यस जिल्लाको भौगोलिक र प्राकृतिक विशेषता अनुसार विभिन्न प्रजातिका बाँसहरू पाईए पनि उपयोग विहिन बनिरहेको छ । खोटाङलाई बाँस उत्पादन र प्रशोधनको मुख्य केन्द्रको रूपमा विकास गर्न, पर्यटन प्रवर्धन, तालिम केन्द्र स्थापना, अनुसन्धान गतिविधि र बजारीकरणका क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्नका लागि खोटाङलाई बाँसको राजधानी घोषणा गर्न माग गरिएको छ । यसकासाथै उत्पादन र स्रोतको उपयोग, जलवायु संकटविरुद्धको आवाज र नीति निर्माणका लागि संघीय सरकारसँग राखिएको सात बुँदे माग सम्बोधन नभएपछि सत्याग्रहमा जान बाध्य भएको मेयर भट्टराईको भनाइ छ ।
गत साउन ४ गते बाँस, बाँसबाट निर्मित विभिन्न सामग्री, परालबाट निर्मित गुन्द्री, राडीलगायतका सामग्री लिएर मेयर भट्टराई काठमाडौँ गएका थिए । काठमाडौँमा उच्चपदस्थ व्यक्तिहरू, उपराष्ट्रपति, सभामुख र सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई बाँसका कुर्सी र टेबल उपहार दिइसकिएको छ । नीति निर्माताहरूको ध्यानाकर्षण गराउदै दवाब बढाउन र स्थानीय उत्पादनको महत्व सुझाउन बाँसका कुर्सी र टेबल उपहार प्रदान गरिएको जनाईएको छ ।
बाँसले कार्बन डाइअक्साइड शोषण गर्ने, माटोको कटान रोक्ने र जैविक विविधता संरक्षणमा योगदान पुर्याउने गुणहरू पाईन्छन् । यसका साथै बाँसबाट निर्मित उत्पादनहरूले प्लास्टिक र अन्य हानिकारक पदार्थहरूको विकल्प प्रदान गर्न सक्छन् । मेयर भट्टराईले कपाल मुण्डन गरी साउन ११ गते बिहान ८ः४७ बजे सिंहदरबारको दक्षिणी गेटमा पुगेर सत्याग्रह सुरु गर्ने पूर्व तयारी गरेका थिए । तर निषेधित स्थानमा प्रहरीको अवरोधपछि बाँसको घना बोकेर खाली खुट्टा माइतीघर मण्डला पुगेर सत्याग्रह सुरु गरेका छन् ।
तीन दिनसम्म दैनिक बिहान नौ बजेदेखि साँझ पाँच बजेसम्म भोक हड्तालमा बसेर आफूहरूको माग सुनुवाइ नभए साउन १४ गते बिहान नौ बजेदेखि अनिश्चितकालीन आमरण अनशन बस्ने नगर प्रमुख भट्टराईको भनाई छ । नगरपालिकाले ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने नारासहित फागुन १५ गतेबाट तीन दिने ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन २०८१’ आयोजना गरेको थियो ।






