काठमाडौं । मलेसियाले अवैधानिक आप्रवासी कामदारमाथि व्यापक धरपकड गरिरहेका बेला तीन नेपालीको उद्धार गरिएको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासले अवैधानिक रूपमा बसेका अभिषेकप्रसाद यादव, शंकर बुढाथोकी र ब्रिजेशकुमार यादवलाई नेपाल फर्काएको हो ।
अवैधानिक रूपमा कार्यरत अभिषेक त्यहाँको सेलांगरको खुद्रा पसलमा ज्यालामा काम गर्दै आएका थिए । मालिकको खराब व्यवहार र अस्वस्थ वातावरणका कारण कार्यस्थलबाट भागे तापनि उनका मालिकले उनलाई अन्य ठाउँमा काम गर्नबाट वञ्चित गरेका थिए । दूतावासका अनुसार उनी याचना गर्दै दूतावास पुगेका थिए ।
दूतावासका अधिकारीहरूले तुरुन्तै क्वालालम्पुरको अध्यागमन विभागसँग कुराकानी गरी उनलाई चेक आउट मेमो दिलाउन सहयोग गरेका थिए ।
यस्तै, अवैधानिक रूपमा कार्यरत शंकरलाई भोजनालयमा काम गर्ने सिलसिलामा अर्का विदेशी कामदारले चक्कु प्रहार गर्दा गहिरो चोट लागेको थियो । उनलाई उपचारका लागि शाहलम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भए पनि उनी २३ जुलाईमा दूतावास पुगेका थिए । दूतावासले उनलाई निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरी अध्यागमन विभागसँग समय मिलाई चेक आउट मेमो प्राप्त गर्न सहयोग गरेको थियो ।
शाहलम अस्पतालले उनको उपचारमा लागेको शुल्क मिनाहा गरिदिएको थियो । त्यसपछि दाताको सहयोगमा हवाई टिकटको व्यवस्था गरी उनीहरू दुवै जनालाई नेपाल फर्काइएको दूतावासले जनाएको छ ।
यसैगरी, अवैधानिक रूपमै बसेका ब्रिजेशकुमार यादवलाई पनि दूतावासले नेपाल फर्काएको छ । सन् २०२३ मा मलेसियाको एक कम्पनीमा काम गर्न पुगेका यादव केही समयदेखि अवैधानिक रूपमा बस्दै आएका थिए । बिरामी परेपछि उनको स्वास्थ्य अवस्था नाजुक बनेको थियो ।
उनलाई पनि नेपाल एयरलाइन्सको उडानबाट घर पठाई परिवारका सदस्यहरूसँग सुखद पुनर्मिलन गराइएको दूतावासले जनाएको छ ।

खोटाङका हरिप्रसाद बेपत्ता
रोजगारीको सिलसिलामा विगत ३ वर्षदेखि मलेसियामा कार्यरत हरिप्रसाद राई सम्पर्कविहीन भएका छन् । दूतावासका अनुसार खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ स्थायी ठेगाना भएका राई सम्पर्कविहीन भएका हुन् । हरिप्रसादका दाजु केशरबहादुर राईले भाइलाई खोजतलास गरिदिन भन्दै दूतावासमा निवेदन दिएका छन् ।
परिवारका अनुसार साथीलाई भेट्न जान्छु भनेर हरिप्रसाद आफू कार्यरत कम्पनीबाट निस्किएका थिए । त्यसपछि सम्पर्कविहीन भएका उनी क्वालालम्पुरबाट एक जना साथीको सम्पर्कमा आएका थिए । त्यसपछि उनी सम्पर्कविहीन भएको जनाइएको छ ।
उनका ’boutमा कुनै जानकारी भएमा वा कसैले देखेमा उपलब्ध गराएको नम्बरमा तत्काल सम्पर्क गरिदिन दूतावासले अनुरोध गरेको छ ।
१ सय ७१ अवैधानिक कामदार पक्राउ
मलेसियाको अध्यागमन विभागले जालान मस्जिद भारत वरिपरि एक घण्टा लामो अप्रेसन अभियान सञ्चालन गरेर १ सय ७१ विदेशी नागरिकलाई पक्राउ गरेको छ । विभागका निर्देशक बसरी ओथमानका अनुसार यस अभियानमा १ सय ६० अधिकारीले २ सय ५४ स्थानीयसहित ७ सय ५८ जनालाई सोधपुछ गरेका थिए । उनीहरूले १४ वटा व्यावसायिक परिसरहरूको पनि निरीक्षण गरेका थिए ।

पक्राउ परेकाहरू २० देखि ५० वर्ष उमेर समूहका छन् । ‘पहिचानको अभाव, ओभरस्टे र भिसा सर्तहरू उल्लंघन गर्नेलगायत विभिन्न अध्यागमन उल्लंघन गर्नेहरूलाई हिरासतमा लिइएको छ,’ निर्देशक बसरी ओथमान भने, ‘उनीहरूविरुद्ध अध्यागमन ऐन, १९५९-६३ अन्तर्गत अनुसन्धान भइरहेको छ ।’
उनीहरूलाई धेरै समय बसेको, भिसा सर्तहरू उल्लंघन गरेको र पहिचान कागजातहरू नभएको जस्ता विभिन्न अध्यागमन उल्लंघनका लागि हिरासतमा राखिएको जनाइएको छ ।
अध्यागमनले स्थानीय रोजगारदातालाई अवैध आप्रवासीहरूलाई काममा नराख्न वा संरक्षण नगर्न सल्लाह दिँदै यदि उनीहरूले ऐन १५५, राहदानी ऐन, १९६६, अध्यागमन नियमावली १९६३ र व्यक्ति बेचबिखन तथा आप्रवासी तस्करी विरोधी ऐन, २००७ अन्तर्गत अपराध गरेमा कडा कारबाही गरिनेछ ।
मलेसियाले पछिल्लो समय अवैधानिक कामदारमाथि धरपकड अभियान तीव्र पारेसँगै सयौं नेपाली पक्राउ परेको भन्दै गैरकानुनी भएर नबस्न र यदि बसेको भए आवश्यक पर्ने जरिमाना तिरेर नेपाल फर्किन त्यहाँस्थित नेपाली दूतावासले अनुरोध गर्दै आएको छ ।
बिनाभिसा लुकिछिपी बसेका नेपालीसहित विदेशी कामदार बसेका ठाउँमा छापा मार्दै मलेसियाले दैनिक सयौं कामदारलाई पक्राउ गरिरहेको छ । अहिले मलेसियाको जेलमा १ सय ६४ नेपाली बन्दी जीवन बिताइरहेका छन् । मलेसियामा विभिन्न क्षेत्रमा गरी करिब ५ लाखभन्दा बढी नेपाली कार्यरत रहेको पाइन्छ ।






