अल्पज्ञानीको ‘उज्यालो पर्खिरहेको मानिस’

पोखरा । कवि अल्पज्ञानीद्वारा लिखित कवितासंग्रह ‘उज्यालो पर्खिरहेको मानिस’ लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित समारोहमा उक्त कृति लोकार्पण गरिएको हो ।

पोखरामा एकल शास्त्रीय छन्द कविता वाचन गरिसकेका अल्पज्ञानीको प्रस्तुत कृति मुक्त लयमा लेखिएको यो पहिलो कृति हो । मदन पुरस्कार विजेता साहित्यकार एवं सञ्चारकर्मी डा। नवराज लम्सालले उज्यालो पर्खिरहेको मानिस पूर्वीय दर्शन र समाजको गहिरो छाप रहेको र यसले कविलाई थप परिष्कृत गरेको बताए । उनले भने, ‘कवितामा रहस्य र प्रश्न छन् । अल्पज्ञानीका कवितामा वस्तुगत चेतनामाथि आत्मगत चेतनाको हावी भएको छ । उनले आफ्ना कवितामा प्रश्न छाडी उत्तरको खोजीका लागि पाठकलाई जिम्मेवारी दिएका छन् । वास्तवमा उज्यालो यात्रा व्यक्ति मात्र नभई सिंगो सृष्टिकै उज्यालो पर्खाइ हो ।’

कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै समालोचक त्रिविका उपप्राध्यापक डा। अशोक थापाले अल्पज्ञानीका कविताले जीवनको उज्यालो आशा देखाएको र मान्छेको वर्तमानका विसंगतिमाथि व्यङ्ग्य प्रहार गरेको बताए ।

अर्का समीक्षक उपप्राध्यापक डा। गीता त्रिपाठीले अल्पज्ञानीका कवितामा प्रकृति र समाजको सुन्दर अन्तर्घुलन रहेको बताइन् ।

साठीको दशकको उत्तरार्धबाट काव्य यात्रामा लागेको कवि अल्पज्ञानी समकालीन नेपाली कवितामा परिचित नाम हो । कास्कीको वेगनासमा जन्मिएका देवीरमण तिवारी नेपाली साहित्यमा ‘अल्पज्ञानी’ का नामले चिनिन्छन् । आफूलाई उज्यालो पर्खिरहेको मानिसका रूपमा चिनाउन चाहने उनी भन्छन्, ‘अरूलाई नदुखाउनु भनेर आफैँ दुखेको कविता लेख्न लगायो ।’

सो अवसरमा उक्त कवितासंग्रहबाट कवि डा। वसन्त गौतम, सञ्जीव पौडेल, अमृत क्षत्री र लक्ष्मीदेवी गौडेलले कविता वाचन गरेका थिए । डा। राजेन्द्र चापागाईँ आहातले स्रष्टा परिचय गराए ।

साहित्यकार भुवनहरि सिग्देलको अध्यक्षता तथा साहित्यकार डिडी अधिकारीद्वारा सञ्चालित कार्यक्रममा काठमाडौं मोडेल माविका प्राचार्य डा। नगेद्र अर्यालले शुभकामना दिए । पेज टर्नरद्वारा प्रकाशित प्रस्तुत कविता संग्रहमा ६ भागमा ४७ कविता संग्रहित छन् ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर