गुल्मी । लाखे नेवार समुदायको प्रख्यात नाच हो । परम्परादेखि नै नाचिँदै आएको यो नाच पछिल्लो समय युवा पुस्ताले सिक्न नचाहेको गुनासोसमेत बढेको छ ।
यसै अवस्थालाई मध्यनजर गर्दै गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा रहेको जनबोध माध्यमिक विद्यालयले विद्यालयमै लाखे नाचको प्रतियोगिता गराएको छ ।
रुरुक्षेत्र गाउँपालिका बलेटक्सार, रिडी, टाहाटिम, बलिचौर, रानीबासलगायतका क्षेत्रमा ३ सयभन्दा बढी परिवार नेवार समुदायका छन् । लाखे उनीहरूको मुख्य नाच भएको र सो समुदायका विद्यार्थीहरू जनबोध माध्यमिक विद्यालयमा अध्ययन गर्ने भएकाले विद्यालयमै नाचको प्रतियोगिता गराइएको हो ।
विद्यार्थीहरूलाई लाखे, वाद्यवादन, खिजाउने, घाँडेलगायतका भूमिकामा विभाजित गरिएको थियो । ‘पहिले–पहिले चल्दै आएको संस्कृति जोगाउन पाउँदा खुसी लागेको छ,’ विद्यार्थी हरि श्रेष्ठले भने ।
विद्यालयमै लाखे नाच भएपछि स्थानीय पनि खुसी भएका छन् । युवा पुस्ताले लाखे नसिक्ने चिन्ता बढिरहेका बेला विद्यालयले नै प्रतियोगिता गराउँदा नाच संरक्षणमा सहयोग पुगेको छ । ‘असाध्यै राम्रो लागेको छ, नयाँ पुस्ताले सिक्ने भए,’ स्थानीय तिलकुमारी श्रेष्ठले भनिन्, ‘स्थानीय पाठ्यक्रममा समेत समेटिएको छ ।’
किंवदन्तीअनुसार काठमाडौं उपत्यकामा एक समय लक्षे नामको राक्षस बस्ने गथ्र्याे । सो राक्षस उग्र र मानिसहरूप्रति आक्रामक थियो । उसले बस्तीका मानिसहरूलाई सताउने, खेतीबाली नष्ट गर्ने र बालबालिकाहरूलाई डराउने गथ्र्यो । सहरका मानिसहरूले देवी–देवतासँग प्रार्थना गरेपछि देवीको शक्तिबाट लक्षेलाई बस्तीबाट भगाइयो । तर, उसले माफी माग्दै कसैलाई हानी नपु¥याउने सर्तमा वर्षको एकपटक नाच्ने अनुमति माग्यो । त्यसपछि लक्षे प्रत्येक वर्ष इन्द्रजात्रा र केही अन्य जात्रामा फर्केर नाच्ने परम्पराबाट लाखे नाचको सुरुवात भएको पाइन्छ ।
सोही विद्यालयका पूर्वप्रधानाध्यापक रामकुमार श्रेष्ठ विद्यार्थीहरूलाई आफ्नो संस्कृति सिकाउने उद्देश्यले लाखे नाचको प्रतियोगिता गराइएको बताउँछन् । ‘लाखे हाम्रो परम्परागत र मौलिक नाच हो, विद्यालयबाटै सिकाउँदा यो दिगो हुन्छ,’ उनले भने, ‘अब अन्य विद्यालयमा पनि नचाउने विषयमा छलफल गर्दै छौं ।’
रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले आफूहरू कला–संस्कृतिको संरक्षणमा लागेको भन्दै पालिकाभित्र रहेका सबै संस्कृतिलाई संरक्षण गर्ने बताए । साथै, विद्यालय वा अन्य कुनै संघसंस्थालाई सहयोग आवश्यक परेमा पालिकाका तर्फबाट सक्दो सहयोग गर्ने पनि उनले बताए ।






